भूमिबाट गृहतिर छिरेका सचिवहरूको अपमानजनक बहिर्गमन


काठमाडौं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जमेर गृह मन्त्रालय पुगेका सचिवहरूको अपमान बहिर्गमन हुने नजिरले निरन्तरता पाएको छ। भूमिबाट गृह पुगेका टेकनारायण पाण्डेको मुख्यसचिव बन्ने बेलामा अपमानजनक बहिगर्मन भएको थियो। अहिले गोकर्णमणि दुवाडीको पनि त्यहिँ हालत भएको छ।

सचिवको वरिष्ठता क्रममा १ नम्बरमा रहेका दुवाडी ‘जेन-जी’ आन्दोलन दबाउन भूमिका खेलेपछि ‘जेन-जी’ सरकार आउनेबित्तिकै गृहबाट राष्ट्रिय योजना आयोगका पुऱ्याइएका थिए। उनी योजना आयोगबाट घर गएका छन्।

भिजिट भिसा काण्डमा समेत अख्तियारको तारोमा रहेका दुवाडी अन्तिम समयसम्म पनि मुख्यसचिव बन्ने प्रयासमा थिए। उनलाई भूमिबाट गृहमा लाने गिरोह नै मुख्यसचिव बनाउन सक्रिय भएर लागिपरेको थियो। दुवाडी निकटहरू अन्तिम घडीसम्म पनि १ नम्बर उनै भएकाले मुख्यसचिव हुने दाबी गरिरहेका थिए। तर, ‘जेन-जी’ सरकारले विवादित र आडम्बरी मुख्यसचिव एकनारायण अर्यालसँग दुवाडीलाई पनि घर जाने ‘साइत जुराइदिएर’ सुमनराज अर्याललाई मुख्यसचिव बनाइदिएपछि भूमिको गिरोह गिरीबन्धुतिरै पुगेको छ। अपमानजनक तरिकाले बहिर्गमन भएका दुवाडी जाँचबुझ आयोगदेखि अख्तियारसम्म बयान दिन जाने अवस्थामा पुगेका छन्। सचिव बढुवामा पाँच बल्ड्याङ खाएका दुवाडी मुख्यसचिवमा उछिट्टिएर घर पुगेका हुन्।

गृहमै बसेका टेकनारायण पाण्डे पनि मुख्यसचिव हुने बेलामा निलम्बनमा रहेका थिए। एकनारायण अर्यालभन्दा सिनियर सचिव पाण्डे भुटानी शरणार्थी काण्डमा जेलको बास भएपछि मुख्यसचिव हुनबाट बञ्चित भए। पाण्डेलाई भूमिबाट गृह लाने गिरोहले सहजै मुख्यसचिव बनाउन सक्ने अवस्था थियो। तर, जेलमा पुगेर जेलिएपछि पाण्डे पनि मुख्यसचिव नबनी सरकारी सेवाबाट बिदा भए। पाण्डेको सरकारी सेवाबाट अपमानजनक बहिर्गमन भयो। अहिले दुवाडीको हकमा पनि त्यहिँ नजिर लागू हुन पुग्यो।

 

क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णमणि दुवाडी, #टेकनारायण पाण्डे, #भूमिबाट गृह सचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ