कार्की र अधिकारीको नजिर देखाएर मुख्यसचिव बन्ने ‘लबिइङ’मा थिए दुवाडी


काठमाडौं। ‘जेन-जी’ आन्दोलनको जगमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयबाट राष्ट्रिय योजना आयोगमा थन्क्याइएको थियो। ‘जेन-जी’ आन्दोलन दमनकारीको भूमिकामा रहेका दुवाडी गृहबाट योजना आयोग पुगेपछि अध्यागमनको कालोसूचीमा समेत परेका थिए। दुवाडीलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बयान लिने तयारी गरिरहेको छ।

मंगलबार मात्र ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर दुवाडी घर गएका छन्। १ नम्बर सचिव दुवाडी ‘जेन-जी’ आन्दोलन दमन गर्ने सूचीमा पर्दा मुख्यसचिव बन्नबाट बञ्चित भएका छन्। मंगलबारसम्मका मुख्यसचिव एकनारायण अर्यालसँगै घर जाने सूचीमा रहेका दुवाडीले निकै प्रयास गर्दा पनि मुख्यसचिव बन्न असफल भएपछि सरकारी सेवाबाट अवकाश पाएका हुन्।

सुमनराज अर्याल मुख्यसचिवमा बढुवा हुँदा दुवाडी सचिवमा बहाल नै थिए। सोमबार ३ बजेसम्म उनी निकट व्यक्तिहरू दुवाडी नै मुख्यसचिव बन्ने दाबी गरिरहेका थिए। तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गरेर दुवाडीको अवकाश स्वीकृत गरी हालसम्म पुऱ्याएको योगदानका लागि धन्यवाद दिने निर्णय गऱ्यो। उनको दौडधुपको कुनै अर्थ रहेन।

दुवाडीले ‘जेन-जी’ आन्दोलनको समयमा उपत्यकाको कमाण्ड सम्हालेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक बनाइएको र काठमाडौंको कमाण्ड सम्हालेका विश्वराज अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा गरेको नजिर प्रस्तुत गर्दै दुवाडीले मुख्यसचिवमा आफूलाई बढुवा गर्नुपर्ने ‘लबिइङ’ गरेका थिए। उनले आफू नै मुख्यसचिव बन्ने दाबी गर्दै सोमबार ३ बजेसम्म हिँडिरहेका थिए। किनकी दुवाडीलाई मुख्यसचिव बनाउन ठूलो गिरोह लागिपरेको थियो। तर, सरकारले सुमनलाई मुख्यसचिव बनाउने निर्णय गरेपछि दुवाडीको प्रयास ‘कवाडी’ भयो। दानबहादुर र विश्वको नजिरले काम नगरेपछि उनी हेरेको हेऱ्यै भए। मंगलबारबाट ‘मुटुमाथि ढुंगा’ राखेर दुवाडी घर गएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णमणि दुवाडी, #दानबहादुर कार्की, #विश्वराज अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ