प्रशासन तर्फका ३३ सचिवमा शिक्षाबाट आएका मात्र पाँच जना
काठमाडौं। प्रशासन सेवा तर्फ रहेका ३३ सचिव (विशिष्ट श्रेणी)मा नेपाल शिक्षा सेवाबाट आएका मात्र पाँच जना सचिव छन्। प्रशासनमा शिक्षा मिसाइदिँदा शिक्षातिरका सहसचिवहरूको प्रशासन सेवाको सचिवमा उल्लेख्य संख्यामा उपस्थिति देखिएको हो।
सरकारले सचिव बढुवालाई निरन्तरता दिएको भए शिक्षातिर कै इमानारायण श्रेष्ठ केही दिनका लागि सचिव भएर घर जाने थिए। तर, सरकारले सचिवको अनावश्यक दरबन्दी ‘रिभ्यू’ गर्न थालेपछि श्रेष्ठ ५८ वर्ष लागेर चैत २४ गते नै घर गइसकेका छन्।
प्रशासन तर्फ कार्यरत रहेका ३३ सचिवमा शिक्षातिरका मात्रै डा. खगेन्द्रप्रसाद नेपाल, चूडामणि पौडेल, डा. कमलप्रसाद पोखरेल, कृष्णप्रसाद काप्री र वैकुण्ठप्रसाद अर्याल सचिवको भूमिकामा छन्। इमानारायण श्रेष्ठ आउट भएकाले प्रशासनमा नेपाल शिक्षा सेवाबाट आएका सचिवहरूको भलिबल टिम बन्न पाएन। डा. हरिप्रसाद लम्साल ५८ वर्ष पूरा भएर फागुन २४ गते नै अनिवार्य अवकाश गएपछि टिम नपुग्ने अवस्था आएको थियो। इमानारायण उक्त टिम पुऱ्याउन असफल भए।
शिक्षातिरबाटै आएका सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं, टेकनारायण पाण्डे र खगेन्द्रप्रसाद सुवेदी प्रशासनको सचिव चलाएर बाहिरिसकेका छन्। त्यसमध्ये गृह सचिव बनेका पाण्डे त नक्कली भुटानी शरणार्थी काण्डमा कारावासमा पुगेका हुन्। टेकनारायण पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गृह सचिव बन्दा हाल शिक्षा मन्त्रालयको सचिव रहेका चूडामणि पौडेलले ठूलो पर्खाल नाघेको टिप्पणी गरेका थिए। तर, पाण्डेले पर्खाल नाघ्न नजान्दा गर्ल्यामगुर्लुम ढले।
नेपाल शिक्षा सेवाको सहसचिव हुँदै प्रशासन सेवाको सचिव बनेका खगेन्द्रप्रसाद नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका छन्। असारको अन्तिम साता ५ वर्ष पूरा भएर सचिव नेपाल अनिवार्य अवकाशमा जाँदैछन्। राज्यले चाह्यो भने सचिव नेपाललाई अहिले नै ससम्मान बिदा गर्न सक्छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा हेर्ने सचिव चूडामणि पौडेल शिक्षातिरबाटै प्रशासनको सचिव बनेका हुन्। पूर्वमुख्यसचिव एकनारायण अर्याल र केपी शर्मा ओलीप्रति ‘लोयल’ रहेको आरोप लाग्दै आएका सचिव पौडेलको भूमिकामाथि प्रश्न उठ्दै आएको छ। पौडेल ठाउँमा राष्ट्रिय तथ्याङ्क कार्यालय प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई ल्याउँदा शिक्षामन्त्रीलाई काम गर्न सहज हुने चर्चा हुन थालेको छ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल पनि शिक्षाबाटै प्रशासनको सचिवमा बढुवा भएका हुन्। शिक्षातिरका सचिव शिक्षाबाहेक अन्य मन्त्रालय चलाउने मामिलालाई कमजोर देखिएकाले उनीहरूलाई एक/डेढ वर्ष प्रदेशतिरै प्रमुख सचिव चलाउन दिएर प्रशासन बुझ्ने र चलाउन सिक्ने अवसर दिनुपर्ने आवश्यकता रहेको पाइन्छ।
अहिले प्रशासन सेवाको सचिवमा निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी; उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष दरबन्दीमा रहेका खगेन्द्रप्रसाद नेपाल; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा; सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव हरिप्रसाद मैनाली; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन हेर्ने सचिव डिल्लीराम शर्मा र गृह सचिव राजकुमार श्रेष्ठ रहेका छन्।
राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत; लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दिपक काफ्ले; अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी र अर्थ मन्त्रालयका सचिव घनश्यात उपाध्याय प्रशासन सेवाका सचिव हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत; राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरे; महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव राधिका अर्याल; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल; रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा; युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेल प्रशासन सेवाका सचिव हुन्।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्की; राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ ; राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव डा. कमलप्रसाद पोखरेल; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल; महालेखा नियन्त्रक शोभाकान्त पौडेल र अर्थ मन्त्रालयको राजस्व सचिव भूपाल बराल प्रशासन सेवाका सचिव हुन्।
त्यस्तैगरी बागमती प्रदेशका प्रमख सचिव बाबुराम अधिकारी; कर्णाली प्रदेशको प्रमुख सचिव वीरेन्द्रकुमार यादव; गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे; लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री; सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल र कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेल प्रशासन सेवाका सचिव हुन्।
यिनीहरूमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका खगेन्द्रप्रसाद नेपाल; शिक्षा मन्त्रालयका चूडामणि पौडेल; राष्ट्रिय तथ्याङ्क कार्यालयका डा. कमलप्रसाद पोखरेल; लुम्बिनी प्रदेशका कृष्णप्रसाद काप्री र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल शिक्षाबाट प्रशासनतिर बढुवा भएका सचिव हुन्। शिक्षाको काँध खोल्दा प्रशासनमा शिक्षातिरबाट आएका सचिवहरूको हालिमुहाली देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #कृष्णप्रसाद काप्री, #चूडामणि पौडेल, #डा. कमलप्रसाद पोखरेल, #डा. खगेन्द्रप्रसाद नेपाल, #वैकुण्ठप्रसाद अर्याल


तपाईको प्रतिक्रिया दिनुहोस