प्रधानमन्त्री कार्यालयको ‘कान्जी-हाउस’मा रहेका सचिवरूको कसरी हुन्छ व्यवस्थापन?
समाचार टिप्पणी
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडा (कान्जी-हाउस)मा पाँच (५) सचिव राखिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट हेर्दा पाँच जना सचिव अतिरिक्तमा रहेको उल्लेख छ। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त समूह) मा सचिवहरू कृष्णहरि पुष्कर कर्ण, हरिप्रसाद मैनाली, लोकनाथ पौड्याल गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्मा रहेका छन्। उनीहरू दैनिकजसो सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने र फर्किने गरी रहेका छन्। बालेन सरकारले उनीहरूलाई ‘कान्जी-हाउस’मा राखेको सिंहदरबारभित्र चर्चा चल्न थालेको छ।
के हो कर्मचारी वृत्तमा चर्चामा रहेको ‘कान्जी-हाउस’?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयमा एक लेवलका कर्मचारीका लागि ‘काजी-हाउस’ खडा गरिएको चर्चा चल्न थालेको छ। निजामती सेवामा बोलीचालीको भाषामा अर्थ लगाउँदा ‘कान्जी-हाउस’ भनेर परिचित उक्त ठाउँमा औसतभन्दा तल्लो तहका कर्मचारीलाई राखिन्छ।
अनुशासन समस्या भएका कर्मचारी, बारम्बार नियम उल्लंघन गर्ने र माथिको आदेश नमान्ने कर्मचारी, विवादित वा उजुरी परेका कर्मचारी र भ्रष्टाचार, दुरुपयोग वा अन्य गुनासो आएका अनुसन्धान चलिरहेकालाई कर्मचारीलाई ‘लो-प्रोफाइल’मा राख्ने ‘कान्जी-हाउस’ खडा गरिएको चर्चा सुरू भएको हो।
काममा कमजोर प्रदर्शन गर्ने, जिम्मेवारी सम्हाल्न नसक्ने, उत्पादकत्व कम भएका, नेतृत्वसँग द्वन्द्व भएका, नेतृत्वसँग टकराव भएका र समस्या मानिएका, राजनीतिक वा प्रशासनिक कारणले साइडलाइन गरिएका, शक्ति परिवर्तनपछि हटाइएका वा महत्त्वपूर्ण कामबाट हटाइएका कर्मचारीलाई हाजिर गराउने ठाउँलाई ‘कान्जी-हाउस’का रूपमा परिभाषित गर्न थालिएको छ। अहिले जगेडामा राखिएकामध्येमा यी विषय मिल्न जाने देखिन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘कान्जी-हाउस’मा रहेका सचिव कृष्णहरि पुष्कर कर्ण ४ दिन पछाडि घर जाँदैछन्। विवादित र मुख्यसचिव वा राजदूतमध्ये एउटा पदमा मरिहत्ते गर्दै आएका सचिव कर्ण ‘कान्जी-हाउस’बाटै घर जाने देखिन्छ।
‘कान्जी-हाउस’मा रहेका अर्का सचिव लोकनाथ पौड्याल पनि हप्ता दिनपछि अनिवार्य अवकाशमा जाँदैछन्। उनको व्यवस्थापनमा पनि कुनै समस्या देखिँदैन। ‘कान्जी-हाउस’मा रहेका सचिव हरिप्रसाद मैनाली पनि एक महिनाभित्रै घर जाने सूचीमा छन्। कार्यक्षमता अभावका कारण ‘कान्जी-हाउस’मा राखिएका सचिव मैनाली पनि त्यतैबाट घर जाने सम्भावना छ।
‘कान्जी-हाउस’मा रहेका सचिव डिल्लीराम शर्मालाई भने तत्काल निर्वाचन आयोग पठाएर व्यवस्थापन गर्न सकिन्छ। निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी अवकाशमा गइसकेका छन्।डेढ महिना जागिर भएका शर्मालाई कतै वा त्यतै राखेर अवकाशमा पठाइने खतरा छ।
‘कान्जी-हाउस’मा पुगेका सचिव गोविन्दप्रसाद शर्माको पनि जागिर एक महिना बाँकी छ। सरकारले ३०-५५ लागू गरे ‘कान्जी-हाउस’ तत्काल खाली हुने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्मचारीको 'कान्जी-हाउस'


तपाईको प्रतिक्रिया दिनुहोस