कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नजिक


काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक गत ४ गते एक सुत्केरीको मृत्यु भएको थियो । त्यस यता हाल सम्म करिब १० हजारको मृत्यु भइसकेको सरकारी तथ्यांक छ । यो कुल संक्रमितको १.५ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार बिहिवार साँझ सम्म ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार होम आइसोलेसनमा बसेकाहरुको तथ्यांक धेरै छुटेकाले संख्या अझै बढ्ने अनुमान छ ।

कोरोना भाइरसबाट मर्नेहरुमा ६० वर्ष भन्दा माथिका ५ हजार ३ सय ७३ जना छन् । ५० वर्ष देखि ५९ वर्ष सम्मका १ हजार ९ सय ५५ जना रहेका छन् । त्यस्तै ४० देखि ४९ वर्षका १ हजार ४ सय ३६ जना र ३० देखि ३९ वर्षका ८ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै २० देखि २९ वर्षका ३ सय ४ जना १० देखि १९ वर्षका ५० जना र ९ वर्ष सम्मका ४५ जनाको मृत्यु भएको सरकारी तथ्यांकले जनाएको छ । ७ जनाको भने कुनै उमेर ठेगाना खुलेको छैन ।

नेपालमा कोरोनाको पहिलो केस चीनबाट आएका व्यक्तिमा २०७६ माघ ९ गते पुष्टि भएको थियो । तर, पहिलो वेभको प्रसारण र संक्रमण २०७७ बैशाख २६ गतेबाट सुरु भएको थियो । त्यस अगाडी नेपालमा आयातित केसहरु थिए । बैशाख २६ पछि संक्रमितको संख्या क्रमिक रुपमा बढ्न थालेको थियो । त्यसैले २६ बैशाख ०७७ को दिनबाट औपचारीक रुपमा पहिलो वेभ सुरु भएको मानिएको छ ।

कोरोनाको पहिलो वेभ ३ सय ९ दिन सम्म चलेको थियो । तथ्यांक अनुसार यस अवधिमा २२ लाख १० हजार ४३४ नमुना परिक्षण गरिएको थियो । उक्त परिक्षणबाट २ लाख ७५ हजार ११८ जना कोरोना संक्रमित भएका थिए । ३ सय ९ दिनमा ३ हजार १२ जनाको मृत्यु भएको थियो । जुन संक्रमितमा भएको मृत्युको करिब १ प्रतिशत हुन्छ ।

कोरोनाको दोस्रो छाल ०७७ फागुन २९ देखि सुरु भएको थियो । दोस्रो छालको बिहिवार सम्म १४ लाख ४५ हजार ९०८ नमुना परिक्षण गरिएको छ । उक्त परिक्षण गर्दा ४ लाख ३२ हजार ९६१ जनामा कोरोना पुष्टि भएको छ । दोस्रो छालको कुल परिक्षणको २९ प्रतिशत हो । दोस्रो छालमा ६ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ ।

पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या केही बढेको छ । अस्पतालहरुमा पनि बिरामी बढ्न थालेको चिकित्सकले बताएका छन् । शिक्षण अस्पतालका डा सन्तकुमार दास भन्छन् यो कोरोनाको तेस्रो छाल नभएर दोस्रो छालको निरन्तरता हो । आन्दोलन, खोपमा भएको भिड, मास्कको कम प्रयोग जस्ता कारणले केस बढाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४०८ जनाको नमुना परिक्षण गरिएको छ । उक्त परिक्षण गर्दा ३ हजार ९ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस बिचमा ३७ जनाको मृत्यु भएको छ । हाल देशमा ३४ हजार ४ सय २२ एक्टिभ संक्रमित छन् ।

२४ घण्टामा संक्रमित भएको उमेर समूह

०–२० : ३५३
२१–४०: १३९८
४१–६०: ८११
६१–८० : ३१०
८१ माथि : ५२
अज्ञात : २९

हाल भएको सेवा
आइसोलेसन बेड : १८२९९
आइसियु वेड : २७२७
भेन्टिलेटर संख्या :१०३३
एचडीयु बेड : ३८४६

तेस्रो छालको पूर्वतयारी

तेस्रो छालको तयारी स्वरुप स्वास्थ्य मन्त्रालयले आइसियु संख्या संघमा २ सय ९ र प्रदेशमा ३ सय ७९ गरी जम्मा ५ सय ८८ वेड थप गर्ने तयारी भएको छ । त्यस्तै भेन्टिलेटर संख्या संघमा २ सय ५४ र प्रदेशमा २ सय १८ गरी जम्मा ४ सय ७२ थप गर्ने तयारी भएको छ । एचडियु संख्या संघमा २ हजार ७५ र प्रदेशमा १ हजार ४ सय ९० गरी कुल ३ हजार ५ सय ६५ बेड थप गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बताए अनुसार अक्सिजन प्लान्ट÷ट्यांक संघमा ३५ र प्रदेशमा ३८ गरी ७३ वटा थप गर्न लागिएको हो । बच्चाको आइसियु÷भेन्टिलेटर संख्या संघमा २ सय १०, प्रदेशमा ६५ गरी जम्मा २ सय ७५ वटा तेस्रो छालका लागि थप गर्न लागिएको हो । सह प्रवक्ता डा समिर अधिकारीले तयारी तिब्र भएपनि कोरोनाले कस्तो रुप लिन्छ स्रोत साधनको अवस्था त्यसले निर्धारण गर्ने बताए । विगतमा जस्तो एकै ह्वात्तै केस बढे तत्काल व्यवस्थापन गर्न कठिन हुन्छ । तर, बिस्तारै बढ्दै गए स्रोत साधनको अभाव हुदैन उनले भने ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com