बालेनले असहयोग गर्ने ४ वटा समितिका संयोजक हटाए, प्रवक्ता पनि फेरिए

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र आन्तरिक विवाद बढिरहेका बेला प्रमुख बालेन्द्र शाह (बालेन)ले समितिको संयोजक फेरेका छन्। बालेनले कार्यपालिकाअन्तर्गतका ४ वटा समितिका संयोजकको जिम्मेवारी हेरफेर गरेका हुन्।
काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ बमोजिम जिम्मेवारी हेरफेर गरेको महानगरपालिकाकाले जनाएको छ। काठमाडौं महानगरपालिकाकाले दिएको जानकारी अनुसार मेयर बालेनले काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकेका हुन्।
बालेनले १७ का अध्यक्ष नविन मानन्धरबाट सूचना प्रविधि समितिको संयोजकको जिम्मेवारी खोसेर वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतीलाई दिएका छन्। सूचना प्रविधि समितिको संयोजक भएसँगै महानगरको प्रवक्ताको जिम्मेवारी पनि प्रजापतीले पाउने भएका छन्। बालेनविरुद्ध मोर्चाबन्दी सुरू भएपछि उनले पनि कदम चालेका हुन्।
सुशासन समितिको संयोजकबाट वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई दिइएको छ। त्यस्तै सम्पदा तथा पर्यटन समितिको संयोजकबाट वडा नम्बर ८ का अध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई दिइएको हो। विधायन समितिको संयोजकबाट वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन हटाएर वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठलाई संयोजक तोकिएको छ। महानगरभित्र बालेनले काम गर्ने वातावरण तयार गर्न समितिका संयोजक हेरफेर गरेको चर्चा छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस