‘तान्जानिया काण्ड’मा मुछिएका कुँवर अकुतमा पनि 


काठमाडौं । अफ्रिकाको तान्जानिया काण्डमा मुछिएका खिमबहादुर कुँवर अकुत काण्डमा पनि परेको पाइएको छ । तर, उनको अकुत सम्पत्ति आर्जनको मुद्दा भने अख्तियारले अनुसन्धान नटुंग्याई तामेलीमा राखेको पाइएको हो ।

राजस्व अनुसन्धान विभागको निर्देशकमा कार्यरत रहँदा कुँवरमाथि स्रोत नखुलेको (अकुत) सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहितका अधिकारीहरुको अकुत सम्पत्ति आर्जनको फाइल तामेलीमा राखेको खुलेको हो ।अख्तियारले तामेलीमा राखिएको फाइल कुनै पनि बेला  उल्टाएर मुद्दा चलाउन सक्छ ।

अख्तियारद्वारा कुँवरसँगै तामेलीमा फाइल पर्नेहरूमा सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक कोषराज वन्त, कर फछर्यौट आयोगका लुम्वध्वज महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई दीपक केसी, सुई दीपककुमार भट्टराईको अकुत सम्पति आर्जनको फाइल पनि तामेलीमा राखिएको छ ।

उपसचिव कालीप्रसाद सुवेदी, भन्सार अधिकृत केशवप्रसाद भट्टराई, काठमाडौं महानगरपालिकाका उपनिर्देशक साधुराम भट्टराई, इन्जिनियर निश्चल काफ्ले, इन्जिनियर रामशरण आचार्य, शाखा अधिकृत लोकराज बोहरा, वन अधिकृत धनिचन्द ठकुरीलगायतको अकुत सम्पत्ति आर्जन गरेको फाइल पनि अख्तियारको तामेलीमा  पुगेको हो ।

अख्तियारका तत्कालीन कावा प्रमुख आयुक्त गणेश जोशीको पालामा यस्ता अकुतमा धेरै फाइलहरू तामेलीमा राखेको देखिन्छ । आर्थिक चलखेलका आधारमा यस्ता फाइलहरू तामेलीमा राख्ने गरेको अख्तियारमाथि आरोप लाग्दै आएको छ ।

सुब्बा र खरदार, सिपाही र हवल्दारले ५ सय रुपैयाँ घुस खादा चम्किने अख्तियार लाख र करोड अकुत सम्पत्ति आर्जन गर्ने हाकिममाथि नरम बन्ने गरेको पाइन्छ । यसले अख्तियारको भूमिका, काम र औचित्यमाथि नै प्रश्न उठेको छ । अख्तियारको  फोकस अकुतमा हुनुपर्नेमा अकुत कै फाइल तामेलीमा राख्न थालेपछि  अख्तियारको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो । तामेलीमा रहेका फाइल उल्ट्याएर अनुसन्धान प्रक्रियालाई नयाँ शिराबाट अगाडि बढाउन अहिलेको अख्तियार नेतृत्वले विशेष ध्यान दिनुपर्छ ।

के हो ‘तान्जानिया काण्ड’ ? 

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (एनआईआरटिटिपी)को कार्यक्रममा भाग लिन कुँवरसहित ८ सरकारी अधिकारी अफ्रिकाको तान्जानिया गएका थिए । कार्यक्रम सकेर स्वदेश फर्किएका उक्त टोलीम रहेका  ६ सरकारी अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटल क्वारेन्टाइनमा नबसी पहुँच र प्रभावको भरमा घर गएका थिए ।यसले अहिले तान्जानिया काण्डका रुपमा स्वास्थ्य क्षेत्रमा चर्चा पाएको छ ।

दक्षिण अफ्रिकामा देखिएकाे नयाँ प्राणघातक नयाँ ‘ओमिक्रोन’ भेरियन्ट फैलिएको ठाउँबाट आएका जिम्मेवार सरकारी अधिकारी नै सरकारी प्रोटोकल मिचेर हिँडेपछि त्यो विषय स्वास्थ्य लाइभले सार्वजनिक गरेको हो ।

टोलीको नेतृत्व सहसचिव नारायण रेग्मी, अर्का सहसचिव प्रकाश दाहाल, उपसचिव श्रीधर गौतम, उपसचिव यम तिवारी, लेखा उपसचिव, पार्वती शर्मा, शाखा अधिकृत नवराज पराजुली विमानस्थल हेल्थ डेस्क संयाेजक गाेपाल पाण्डेले होटल क्वारेन्टाइन पठाउने तयारी गर्दा मुख्य सचिवलाई प्रयोग गरेर घर गएपछि यो विषयले चर्चा पाएको हो ।

टोलीमा गएका भन्सार विभागका निर्देशक सुरेश सेढाईं र अर्थ मन्त्रालयका उपसचिव (अकुतवाला) खिमबहादुर कुँवर भने भोलिपल्ट फर्किएकाले उनीहरूलाई चाहिँ होटल क्वारेन्टाइनमै पठाइयो । यो तान्जानिया काण्डमा मुछिएका कुँवरलाई अख्तियारले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उनको फाइल तामेलीमा राखेको पाइएपछि यो काण्डले फेरि चर्चा पाएको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ