ओमिक्रोनको खानी अफ्रिकाबाट आएका ६ जना सरकारी अधिकारी विमानस्थलबाट भागे

उनीहरू बस्ने ठाउँ वरिपरि सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (एनआईआरटिटिपी)को कार्यक्रम सकेर अफ्रिकाकाे तान्जानियाबाट स्वदेश फर्केका ६ सरकारी अधिकारी विमानस्थलबाट भागेका छन् ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको कार्यक्रममा भाग लिन तान्जानिया पुगेका सहसचिवसहितका ६ सरकारी अधिकारीहरू विमानस्थलबाट पहुँच र प्रभाव देखाएर भागेका हुन् ।
हाल दक्षिण अफ्रिकामा देखिएकाे नयाँ प्राणघातक ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरिएन्टको उदयले फेरि एक पटक विश्वमा महामारी फैलिने सम्भावना उच्च छ । नयाँ भेरियन्ट फैलिएको ठाउँबाट आएका जिम्मेवार अधिकारी नै सरकारी प्रोटोकल मिचेर भागेका छन् ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टबारे खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, रसियालगायत देशले आवतजावतमा प्रतिबन्ध नै लगाएका छन् । विश्वस्वास्थ्य संगठनले प्रभावित देशहरुबाट आवतजावत गर्नेलाइ हाेटल क्वारेन्टाइन अनिवार्य गर्न सबै देशलाई आग्रहसमेत गरेकाे छ । अमेरिकाको न्यूयोर्कमा त संकटकाल नै घोषणा गरिएको छ । तर, नेपालमा भने जिम्मेवार सरकारी अधिकारीले विश्व स्वास्थ्य संगठनको पछिल्लो निर्देशनलाई ठाडाे उलंघन गरेका छन् ।

होटल क्वारेन्टाइन बस्न नमानेर शक्तिको आडमा भाग्नेहरुमा टोलीको नेतृत्व गरेर गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मी, अर्का सहसचिव प्रकाश दाहाल, उपसचिव श्रीधर गौतम, लेखा उपसचिव, पार्वती शर्मा, शाखा अधिकृत नवराज पराजुली रहेका छन् । टोलीमा रहेका
प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत उपसचिव यम तिवारीको सेटिङमा उनीहरु भागेको तथ्य खुलेको छ ।
सहसचिव रेग्मी भने आफूहरूको कोरोना टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर आएको बताए । होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर आएको उनको भनाइ छ ।

विमानस्थल अध्यागमन उच्च स्रोतका अनुसार दक्षिण अफ्रिकाबाट सरकारी अधिकारीकाे टाेली बिहान ८ बजे नेपाल झरेका थिए । उनीहरु नेपाल झरेकाे सूचना पाएसँगै स्वास्थ्य मन्त्रालयले विमानस्थलमा उच्च सतर्कता अपनाएकाे थियाे ।

इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डा. हेमन्त ओझाले विमानस्थल हेल्थ डेस्कका संयाेजक गाेपाल पाण्डेलाई क्वारेन्टाइन पठाउन निर्देशन दिएका थिए । तर, उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयका ती कर्मचारी हाेटल क्वारेन्टाइन बस्नु पर्ने भएपछि भागेका छन् । यस विषयमा विमानस्थल हेल्थ डेक्सले कुनै जवाफ दिएकाे छैन ।

मुख्य सचिव शंकरदास बैरागीले उनीहरुलाई हाेटल क्वारेन्टाइन नराख्न दबाब दिएकाे बुझिएकाे छ । स्वास्थ्य मन्त्रालयका अधिकारीकाअनुसार पावर हुनेहरुले नै देशमा महामारी भित्राईरहेका छन् । उनीहरु बसेकाे एरियामा सचेत हुन अन्य नागरिकलाई स्वास्थ्यले अनुराेध गरेकाे छ ।

विश्व बैंकको नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको प्रमुखमा सहसचिव रेग्मी रहेका छन् । उनको नेतृत्वमा ८ सदस्यीय टोली तान्जानिया गएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव  रेग्मी, सहसचिव दाहाल, उपसचिव गाैतम, लेखा उपसचिव शर्मा, शाखा अधिकृत नवराज पराजुली र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव तिवारी फर्किसकेका छन् ।
भन्सार विभागका निर्देशक सुरेश सेढाईं र अर्थ मन्त्रालयका उपसचिव खिम कुँवर भने भोलि फर्किने कार्यक्रम रहेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ