एक वर्ष पूरा भएका प्रमुख जिल्ला अधिकारी


काठमाडौं। काठमाडौं, चितवन, पर्सा, मोरङ, मकवानपुर, कैलाली जस्ता जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को एक वर्ष अवधि पूरा भइसकेको छ। चितवन र काठमाडौंका सिडिओले एक वर्ष बढी समय बिताइसकेका छन्।

चितवनका सिडिओ गणेश अर्याल १४ महिना पूरा गर्ने क्रममा छन्। काठमाडौंका सिडिओ ईश्वरराज पौडेलको १३ महिना पूरा भइसकेको छ।

गृह मन्त्रालयले २०८३ कार्तिक ९ गते सरूवा गरेका झन्डै एक दर्जन रहेका छन्। सरूवा मिति हेर्दा उनीहरूले एक वर्ष अवधि पूरा गरेको देखिन्छ। हाजिर मितिले पनि एक वर्ष पूरा हुन लागेका छन्। मोरङका सिडिओ युवराज कट्टेल, पर्साका सिडिओ भोला दाहाल, धनुषाका सिडिओ प्रेमप्रसाद लुईटेल, महोत्तरीका सिडिओ इन्द्रदेव यादव, मकवानपुरका सिडिओ बसन्त अधिकारी, सिन्धुलीको सिडिओ स्किम श्रेष्ठ, काभ्रेपलाञ्चोकका सिडिओ गोपालकुमार अधिकारी, बाँकेका सिडिओ दिलकुमार तामाङ, बर्दियाका सिडिओ गोगनबहादुर हमाल र कैलालीका सिडिओ हिरालाल रेग्मी एक वर्ष पूरा हुने सिडिओमा पर्छन्। उनीहरू गत वर्ष कार्तिक ९ गते एकैदिन ति जिल्लाको सिडिओमा सरूवा भएर गएका हुन्।

उक्त लटमा लमजुङको सिडिओ भएका टोकराज पाण्डे र नवलपरासी पश्चिमका सिडिओ बनेका कृष्णप्रसाद लम्साल गण्डकी प्रदेश पुगिसकेका छन्। गोरखाको सिडिओमा पठाइएका नारायणप्रसाद रिसाल कोशी प्रदेश हुँदै भन्सार विभाग पुगेका हुन्। अर्घाखाँचीको सिडिओमा खटाइएका तोयनारायण सुवेदी कपिलवस्तुको सिडिओ र रूपन्देहीको सिडिओ भएका माधवप्रसाद पोखरेल अध्यागमन विभागको महानिर्देशक बनेका छन्। उदयपुरको सिडिओ भएका धर्मराज जोशी सुर्खेतको सिडिओ हुँदै सुदूरपश्चिम प्रदेश, सिराहाको सिडिओमा पठाइएका सुरेन्द्र पौडेल राष्ट्रिय समावेशी आयोग पुगेका हुन्।

झापाको सिडिओ शिवराम गेलाल र कपिलवस्तुका सिडिओ जनार्दन गौतम राजीनामा दिएर हिँडिसकेका छन्। धनकुटामा खटाइका विनोदकुमार खड्का भक्तपुरको सिडिओ, बाराको सिडिओ धर्मेन्द्रकुमार मिश्र गोरखाको सिडिओ र गोरखाको सिडिओ तुलसीबहादुर सिडिओ डोटीको सिडिओ भएर गएका हुन्। सोही मितिमा सुनसरीको सिडिओ भएका बासुदेव घिमिरे र रौतहटको सिडिओ भएका दिनेश सागर भुसाल गृह मन्त्रालय फर्किएर महाशाखा प्रमुख बनेका छन्।

गुल्मीको सिडिओ भएका आनन्द सारू दैलेख हुँदै अख्तियार, अछामको सिडिओ भएका विष्णुप्रसाद कोइराला डडेलधुराको सिडिओ, कोशी प्रदेश हुँदै सञ्चार मन्त्रालय, भक्तपुरका सिडिओ उमेशकुमार ढकाल बागमती प्रदेश पुगेका छन्। जुम्लाको सिडिओ पठाएका खिमबहादुर रायामाझी लुम्बिनी प्रदेशमा राजीनामा दिएका हुन्। ललितपुरको सिडिओ भएका प्रेमप्रसाद भट्टराई र सर्लाहीको सिडिओ बनेका रामुराज कडरिया ५० वर्ष पूरा भएर अवकाशमा गएका हुन्। गृह मन्त्रालय ले एक वर्ष अगाडि एकैदिन सरूवा गरेका ३६ सहसचिवमा अधिकांश तितरवितर भइसकेका छन्। उक्त मितिमा खटाइएका ३० सहसचिवमध्ये १० जिल्लामा खटाइएका सिडिओहरू भने साबिककै जिम्मेवारीमा देखिन्छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ