पाइलटले लागूऔषध प्रयोग गर्दैनन् भनेर दाबी गर्न सकिँदैन : डा. कार्की
काठमाडौं । पाइलट पनि यही समाजका भएकाले उनीहरूले लागूऔषध प्रयोग गर्दैनन् भनेर दाबी गर्न सकिने अवस्था नरहेको एभिएसन मेडिसिन चिकित्सक प्राध्यापक डा. लोचन कार्कीले बताएका छन्।
उनका अनुसार समाजमा लागूऔषधको प्रयोग हुने भएकाले उड्डयन क्षेत्रमा संलग्न व्यक्तिको स्वास्थ्य परीक्षणमा पनि यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ। केही वर्षअघि पोखरामा प्याराग्लाइडिङ उडाउने एक पाइलटको लागूऔषध प्रयोग पुष्टि भएको घटना स्मरण गर्दै उनले त्यसपछि फ्लाइङ क्षेत्रमा लागूऔषध परीक्षणमा कडाइ गरिएको बताए।
पाइलटको स्वास्थ्यमा लागूऔषध मात्र नभई पर्याप्त आराम, निद्रा, तनाव र मानसिक स्वास्थ्यसमेत महत्वपूर्ण हुने कार्कीको भनाइ छ। लामो समयसम्म उडानमा खटिनुपर्ने, पर्याप्त आराम नपाउने र परिवारबाट टाढा रहनुपर्ने अवस्थाले पाइलट तथा एयर होस्टेसको स्वास्थ्यमा असर पार्न सक्ने उनले बताए।
उडानअघि पाइलटको स्वास्थ्य अवस्था जाँच गर्ने व्यवस्था भए पनि सम्भावित जोखिम देखिएमा थप परीक्षण गरी उडानबाट ग्राउन्डेड गर्नुपर्ने कार्की बताउँछन्। कुनै औषधि सेवन गरेको अवस्थामा त्यसले उडान क्षमतामा पार्ने असरसमेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ।
दुबईको फ्लाईदुबई विमानमा उडानकै क्रममा सह–पाइलटले पाइलटमाथि चक्कु प्रहार गरेको घटनापछि ककपिट सुरक्षा र पाइलटको मानसिक तथा शारीरिक स्वास्थ्यबारे बहस भइरहेको छ।
यही सन्दर्भमा Swasthya Live ले एभिएसन मेडिसिन चिकित्सक प्राध्यापक डा. लोचन कार्कीसँग पाइलटको स्वास्थ्य, लागूऔषध परीक्षण, थकान, निद्रा र उडानका क्रममा हुन सक्ने स्वास्थ्य जोखिमबारे कुराकानी गरेको छ।
डा. कार्कीसँग गरिएको पूरा कुराकानी Swasthya Live को YouTube मा हेर्न र सुन्न सकिन्छ।
क्याटेगोरी : भिडियो, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस