सम्पत्ति शुद्धीकरणसहित ३ विभागका महानिर्देशक भए सरूवा
काठमाडौं। मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरणसहित ३ विभागका महानिर्देशकको सरूवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हुलाक सेवा विभाग र वातावरण विभागका महानिर्देशकको सरूवा गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक निर्मल ढकाल वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका छन्। त्यस्तै हुलाक सेवा विभागको महानिर्देशक मनमाया भट्टराई पंगेनी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी राष्ट्रिय योजना आयोगको सचिवालयमा सरूवा भएका हुन्।
पंगेनी र सुवेदी विभागको महानिर्देशक भएको दुई वर्ष पूरा भइसकेको थियो। ढकाल महानिर्देशक भएको साढे सात महिनामै सरूवा भएका छन्। सुवेदी सरूवा भएसँगै वातावरण विभागमा नेपाल प्रशासन सेवाको सहसचिव पठाउन बन्द भएको छ। किनकी वातावरण विभागमा नेपाल प्रशासन सेवाको सहसचिव (महानिर्देशक)को दरबन्दी कटौती भइसकेको छ। अब उक्त विभागमा नियमित रूपमा प्राविधिक सहसचिव महानिर्देशक बन्नेछन्।


तपाईको प्रतिक्रिया दिनुहोस