‘सेटिङ मास्टर’ यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल पक्राउ

दुई पूर्वमन्त्री, एक पूर्वसचिव र एक निलम्बितसहित दुई बहालवाला सहसचिव पक्राउ


काठमाडौं। ‘सेटिङ मास्टर’ यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बुधबार उनलाई पक्राउ गरेको हो।

मलेसिया जाने नेपाली श्रमिकको रकम हिनामिना तथा ठगी गरेको आरोपमा पोखरेलसहित पूर्वश्रम मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय पक्राउ परेका छन्। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, श्रम व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुंगाना र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ समेत पक्राउ परेकी हुन्। ढुंगाना भने भ्रष्टाचार मुद्दा लागेर निलम्बित अवस्थामा छन्।

सिआईबीले काठमाडौं जिल्ला अदालत पक्राउ पूर्जी लिएर उनीहरूलाई पक्राउ गरेको हो। मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाइएको तथा श्रमिकको हितविपरीत कार्य भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त प्रकरणका मुख्य नाइके कैलाश खड्का सिआईबीको हिरासतमा रहेका छन्। डा. मनोजकुमार केसी नेपाल प्रहरीको महानिरीक्षक बनेपछि ठूलो संख्यामा तत्कालीन मन्त्री, सचिव, सहसचिव लगायतका कर्मचारी पक्राउ परेका हुन्।
सिआईबीले उक्त प्रकरणमा अमेरिकी डलर ६३ लाख ५० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख ६७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको सिआईबीले ‘ठूला माछा’ समातेको हो।

नक्कली लाइसेन्स काण्ड डिसमिस पार्न दुई वर्ष अगाडि यातायातको डिजी बनेका पोखरेल

सिआईबीको प्रक्राउ खाएका पोखरेल नक्कली लाइसेन्स काण्ड डिसमिस पार्न यातायात व्यवस्था विभाग पुगेका थिए। उद्धवप्रसाद रिजाललाई हटाएर पूर्वमहानिर्देशक र बिचौलियाको सेटिङमा उनी यातायात व्यवस्था विभाग पुगेका थिए। असोजको पहिलो हप्ता यातायातको डिजी भएको दुई वर्ष पुरा भएका पोखरेल अझैसम्म टिकिरहेका थिए। पोखरेलले यातायात व्यवस्था विभागको वेबसाइटबाट आफ्नो र पूर्वमहानिर्देशक फोटो समेत हटाइदिएका छन्। नक्कली लाइसेन्स प्रकरणमा अख्तियार अनुसन्धान थालेपछि पोखरेलले अनुसन्धान प्रभावित र ‘केस’ कमजोर बनाउन हरसम्भव प्रयास गरेको विभागका कर्मचारीहरू बताउँछन्। दुई वर्ष बढी यातायातको डिजी टिकिरहनुले उनी सेटिङमा पोख्त छन् भन्ने अनुमान लगाउन सकिन्छ। उनै ‘सेटिङ मास्टर’ यातायातका डिजी पोखरेल मलेसिया काण्डमा सिआईबीको हिरासतमा पुगेका छन्। यातायात कै काण्डमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा रहेका अर्का सहसचिव उमेश ढुंगाना पनि पोखरेलसँगै सिआईबीको हिरासतमा पुगेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ