सामान्यको जगेडामा रहेका सहसचिव अधिकारी दिए राजीनामा, धरान पठाइएका शाही अझै गएनन्
काठमाडौं। भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडा खाली जस्तै भएको छ। मन्त्रालयको जगेडामा रहेका सहसचिव गोविन्दप्रसाद अधिकारीले राजीनामा दिएका छन्। एक वर्ष बढी जागिर बाँकी रहेका अधिकारीले राजीनामा दिएका हुन्। १५ महिनापछि ५८ वर्ष पूरा हुन लागेका सहसचिव अधिकारी राजीनामा दिएसँगै सामान्यको जगेडा खाली हुने अवस्था आएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा रहेको सहसचिवको अनावश्यक दरबन्दी खारेज भएपछि अधिकारी फाजिलमा परेका थिए। लामो समय सामान्य कै जगेडामा बसेर वीर अस्पताल गएका अधिकारी फाजिलमा परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भएका थिए। डिल्लीबजारका मालपोत प्रमुख हुँदा घुस रकमसहित पक्राउ परेका अधिकारीलाई अख्तियारले लिन मानेन। त्यसपछि उनलाई सामान्यको जगेडामा तानिएको थियो। सामान्यको जगेडामा रहेका काम र जिम्मेवारी लिन नमान्ने अधिकारी अन्ततः राजीनामा दिएर मार्ग प्रशस्त गरेका हुन्।
अर्का विवादित सहसचिव पुष्पराज शाही सामान्य कै जगेडामा डेरा जमाएर बसेका छन्। दसैँ अगाडि नै धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका शाही त्यता नगइ प्रशासकीय अदालततिर गए। अदालतले अन्तरकालीन आदेश दिएपछि दसैँ यतै मनाए। दसैँ बिदा सकिए अदालत खुलेपछि सहसचिव शाहीको पक्षमा दिएको आदेशले निरन्तरता पाएन। तिहार अगाडि नै धरान उपमहानगरपालिका पुग्नु पर्ने शाही अहिलेसम्म गएको पाइँदैन। सरकारलाई चुनौती दिँदै अदालत गएका शाहीलाई अदालतले सरूवा कार्यान्वयन गर्दा पनि सरकारले खटाएको ठाउँमा पठाउन सकेको छैन। जान नमानेका अटेरी शाहीलाई विभागीय कारबाही समेत गर्न सकेको देखिँदैन। सरकारले शाहीलाई कि त रमाना दिएर तत्काल धरान उपमहानगरपालिका पठाउनु पऱ्यो कि त विभागीय कारबाही गर्नुपऱ्यो। सरकारले दुईमध्ये एक कदम तत्काल चाल्नु पर्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #गोविन्दप्रसाद अधिकारी


तपाईको प्रतिक्रिया दिनुहोस