कान्ति बाल अस्पताललाई स्वास्थ्य उपकरण दिन व्यापारीले लगाए प्रतिबन्ध, १५ हजारको सामान नपाएपछि सेवा अवरुद्ध


काठमाडौं । कान्ति बाल अस्पताललाई स्वास्थ्य उपकरण दिन व्यापारीले प्रतिबन्ध लगाएका छन् । अस्पताल प्रशासनले विगत दुई वर्षदेखिको रकम भुक्तानी नगरेपछि नियमित उपकरण सप्लाई गर्दै आएका विभिन्न व्यापारीले कान्ति बाल अस्पतालमा सामान दिन प्रतिबन्ध लगाएका हुन् ।

व्यापारी र अस्पताल प्रशासनको व्यक्तिगत स्वार्थका कारण बालबालिकाको उपचारमा समस्या देखिएको छ । चार दि देखि कान्ति बाल अस्पतालमा नवजात शिशुको जण्डिस परीक्षण गर्ने मेसिनको लाइट बिग्रिएको छ । तर, प्रशासनले उक्त लाइट बनाउने कुनै तदारुकता देखाएको छैन ।

आफ्नो बिग्रेको सामान नबनाएर अस्पतालका निर्देशक डा. अजीत रायमाझी अरु अस्पतालमा किन नभएको भनेर मिडियाले प्रश्न गर्नुपर्ने बताउँछन् । लाइट बनाउँन १५ हजार रुपैयाँ लाग्छ । तर, हरेक सामानमा लेखा प्रमुख र अस्पताल निर्देशकले व्यापारीसँग कमिसन माग्न थालेपछि सामान दिनै प्रतिबन्ध लगाएको ०
व्यापारीहरुको भनाइ छ ।

तत्कालीन अस्पताल निर्देशक तथा हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कान्ति बाल अस्पतालमा हुँदा खरिद गरेका स्वास्थ्य उपकरणको भुक्तानी अहिलेसम्म नपाएको व्यापारीहरुले बताएका छन् ।

अस्पतालका निर्देशक डा. अजीत रायमाझीले सेवा सुचारु भएको बताएका छन् । तर, नमूना लिएर जाँदा परीक्षण भएको छैन । ल्याबका कर्मचारी भन्छन् आन्तरिक द्धन्द्धका कारण सेवा पूर्णरुपमा प्रभावित भएको छ । उनीहरुले बिल काटिसकेका बिरामीलाई मेसिनमा आएको खराबीले ‘टिएसबी’ जाँच नभएकाले रकम फिर्ता गर्न काउन्टरलाई निर्देशन दिएको छ ।                 

बच्चाको उपचार गर्ने एक मात्रै अस्पताल कान्तिमा असक्षम नेतृत्वको शिकार नवजात शिशु परेका छन् । सानो पाइपमा एक थोपा रगत तानेर गरिने ‘टिएसबी’ परीक्षण अहिले कान्ति बाल अस्पतालमा छैन ।

अस्पतालका निर्देशक डा. अजीत रायमाझीले अन्य अस्पतालबाट बिरामीहरु ‘टिएसबी’ परीक्षण गर्न कान्तिमा आएकाले परिक्षण नगरिएको बताए । ‘हाम्रो अस्पतालमा सीमित किट खरिद गरिएको हुन्छ । आफ्नालाई नगरेर अन्य अस्पतालबाट आएकालाई गर्ने भन्ने हुँदेन ‘, उनले भने ।                                         

‘लाइटको मूल्य ज्यादै कम पर्छ सोही अस्पतालमा उपकरण खरिद गरेका एक व्यापारीले भने, ‘अस्पतालले हाम्रो पैसा रोकेकाले हामीले उपकरण दिन प्रतिबन्ध लगाएका हौं ।’ कान्ति बाल अस्पतालमा यस वर्ष पनि १९ करोड रुपैयाँ रकम फ्रिज भएर गएको छ । तर, टेन्डर गरिएका स्वास्थ्य सामग्रीको भुक्तानी भएको छैन ।

आफ्नो नाम नबताउने सर्तमा ती व्यापारीले कान्ति अस्पतालमा स्वास्थ्य उपकरण खरिद गरेका आधा दर्जन व्यापारीको पैसा कमिसन मागेर रोकिएको जानकारी दिए । ‘हामी कमिसन दिन सक्दैनौं त्यसैले उनीहरुले पैसा नदिदासम्म उपकरणमा प्रतिबन्ध लगाउन बाध्य हुनु परेको हो ।’, ती व्यापारीले भने

२०७६ फागुन ८ गते डा. कृष्णप्रसाद पौडेल कान्ति बाल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । उनले टेन्डर गरेको उपकरण आए तर, भुक्तानी नहुँदै उनको सरुवा ०७७ पुस २६ मा भयो । त्यसबीचमा दुई करोड मात्रै भुक्तानी भएको थियो । डा. पौडेलको सरुवासँगै कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छा आएका थिए ।

निर्देशक डा. बिच्छाले पौडेलले खरिद गरेको उपकरणको ४ करोड भुक्तानी गरेका यिए । तर, २ करोड भुक्तानी बाँकी हुँदै उनको ०७८ भदौं ४ गते स्वास्थ्य सेवा विभागको महानिर्देशकमा सुरुवा भयो । उनको सरुवा पनि कान्ति अस्पतालको निर्देशकमा सोही अस्पतालमा कार्यारत डा. अजीत रायमाझी नियुक्त भए ।

रायमाझी निर्देशक भएसँगै लेखासँग मिलेर अघिल्ला निर्देशकहरुले गरेका खरिदको रकम रोक लगाएको छ । कान्ति बाल अस्पतालमा दुई वर्ष अगाडि गरेको टेन्डरको पैसा आफूहरुले नपाएको आपूर्तिकर्ताहरूको गुनासो छ । कान्ति बाल अस्पतालमा आइसियू, ल्याब, छपाई, सिटीका सामग्रीहरु खरिद गरेर ल्याइएको थियो ।

मनखुसी किनेको सामानको भुक्तानी गर्दैनौं
वीरसिंह राई
लेखा प्रमुख, कान्ति बाल अस्पताल

डा. कृष्ण पौडेल निर्देशक भएको बेलामा मनखुसी सामानहरु खरिद गरिएको छ । त्यस यताका निर्देशक डा. आरपी बिच्छाको पालामा पनि त्यस्तै भएको छ । उनीहरुले मानखुसी किनेका सामानको भुक्तानी हामीले रोकेका हौं र रोक्छौं ।
विगतका निर्देशकले बदमासी गर्ने, बिचरा अहिलेको निर्देशकले केही खरिद गरेको छैन । अहिलेका निर्देशक बल्ल अब स्वास्थ्य सामग्रीहरु खरिद गर्ने तयारीमा लागेका छन् ।

इमर्जेन्सी औषधिहरु तुरुन्त ल्याउने गरेका छौं । ५ लाख सम्मको आर्थिक अधिकार निर्देशकलाई हुन्छ । सरकारी रकम त्यसै दोहन हुन दिनु हुँदैन । हिजोका निर्देशकले भद्रगोल तरिकाले खरिद गरेका सामानको रकम रोक्नु पर्छ । रोकिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ