‘ओमिक्रोन’ जस्ता स्वास्थ्यका कर्मचारी, टिप्पणी लेख्न नजान्दै अवकाश पाउन थाले !


समाचार टिप्पणी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारी केही वर्षदेखि खासै पुराना अनुहार देखिदैनन् ।  स्वास्थ्यमा देखिने गरेका कर्मचारीहरु पनि विजुली चम्किए जस्ता छन् झट्ट देखिने  र विजुलीकै गतिमा हराउने ।

अझ पछिल्लो केही वर्ष यता स्वास्थ्यको नेतृत्व तहमा आएका स्वास्थ्यकर्मीहरु ओमिक्रोन जस्ता छन् । कोरोनाको नयाँ भेरिएन्ट ओमीक्रोन यति तीव्र रुपमा फैलियो की, एक महिनामा एक लाख बढी संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको रेकर्डमै देखियो । स्वास्थ्यको रेकर्डमा नभएका ओमिक्रोन संक्रमित कति कति यसको पूरा हिसाब नै आएन । तर, जसरी तीव्र गतिना ओमिक्रोन फैलियो त्यसैगरी तीव्र रुपमा बिलाएर गयो ।

ओमिक्रोनकै जस्तो हालत देखियो अहिले स्वास्थ्यका कर्मचारीमा पनि त्यस्तै अवस्था देखिएको छ । स्वास्थ्य सेवामा छोटो समयमा सहसचिव सरह ११ औं तहमा नाम निकाल्ने दुर्गमको नम्बर जोड्ने लगत्तै स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ हुने त्यसपछि अवकास पाउँने अवस्था देखा पर्न थालेको छ । कोभिड-१९ को ओमिक्रोन भेरिएन्ट जस्तै फुत्त आउने तीव्र फैलिने स्वास्थ्यमा ठूलो असर नपार्दै निस्प्रभावी भएर गइहाल्ने ।

स्वास्थ्य क्षेत्रको नेतृत्व गरेका धेरै चिकित्सकहरु पेन्सन समेत नपाक्दै सेवाबाट बाहिरिने अवस्था आएको छ । ती कर्मचारीहरू मन्त्रालयको नीतिगत तहमा बसेर टिप्पणी समेत राम्रासँग उठाउन नजान्दै स्वास्थ्य सेवाबाट विलय हुन थालेका छन् । 

कुनै समय डा. सुशीलनाथ प्याकुरेल, महेन्द्र प्रसाद श्रेष्ठ, भोगेन्द्र डोटेल, डा. विकास लामिछाने, डा. श्यामराज उप्रेती, डा राम पदारथ विच्छा डा. भिमसिंह तिंकरी, डा. राजेन्द्र पन्त, डा. भोलाराम श्रेष्ठ, डा. सुधा शर्मा लगायत थुप्रै स्वास्थ्यकर्मीको कब्जामा स्वास्थ्य क्षेत्र थियो । उनीहरुले सेवाकालको अधिकांश समय दुर्गम बसेर बिताए ।

मेडिकल अफिसरमा जागिर सुरु गरेको २० औं वर्षपछि ११ तहमा आएका थिए । तत्कालीन ७५ जिल्लामध्ये अपवादबाहेक सबैमा पुगेका थिए । स्वास्थ्यका अनुभवी महेन्द्र श्रेष्ठ भन्छन्, ‘धेरै संघर्ष गरेर सेवाबाट अवकाश पाइयो ।  त्यो बेला ११ तह हुन त्यति सजिलो थिएन । अहिले १०/२० वटा प्रश्न घोकेर कन्ठ बनाउने भाग्यवश त्यस्तै प्रश्न सोधिन्छ उनीहरु पास हुन्छन् । तर, नीति निमार्णमा त्यस्ता व्यक्तिको ज्ञान शून्य हुन्छ ।’

पढेका आधारमा मात्रै ११ तहमा आउने व्यवस्थामा बन्देज नलगाए बिस्तारै स्वास्थ्य सेवा थप कमजोर हुँदै जाने स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ श्रेष्ठको दाबी छ । अस्पतालमा काम गरिरहेको व्यक्तिले ‘पोलिसि’मा बसेर काम गर्न नसकेको अनुभव सुनाउँदै उनले शाखा, महाशाखाको नेतृत्व गर्नेहरुले पहिला ७७ जिल्ला, ७५३ पालिका र त्यहाँका नागरिकको भावना बुझेको हुनुपर्ने तर्क गरे । ‘हेर्नुहोस् त, एउटा व्यक्ति छात्रवृत्तिमा एमबीबीएस पढ्छ । पढी सकेर दुईवर्ष जागिर खान्छ । लोकसेवा दिन्छ, नाम निकालेपछि तीनवर्ष सेवा गर्नुपर्छ । तीनवर्ष सेवा गरेपछि विशेषज्ञ पढ्न पाउँछ । ४ वर्षको विशेषज्ञ पढाइ सकेपछि, अध्ययन बिदा भएकाले ७ वर्ष पुग्छ । ७ वर्ष जागिर खाएको कारण सिधै उक्त व्यक्ति सहसचिव सरह ११ तहमा लड्न पाउँछ र नाम निकाल्छ । यसरी आएका कर्मचारीले नीति निमार्णमा के योगदान पुर्याउछन् ?’, स्वास्थ्यकै एक पूर्व सचिवले उदाहरण दिँदै भने ।

हुन त दु:खले पढेर आएका चिकित्सकहरुलाई यो वाक्यले मनमा चसक्क दुख्दा तर, यथार्थमा फरक हुन्छ । किताब पढेका भरमा भएको ११ तहले राज्यलाई कुनै फाइदा पुर्‍याएको छैन ।  राज्यलाई उपलब्धिबिहीन व्यभार थप्ने काम मात्र भइरहेको देखिन्छ । आज स्वास्थ्य मन्त्रालय र विभागको शाखा, महाशाखामा बस्ने धेरै जसो अधिकारीको दुर्गम क्षेत्रमा गएर सेवा दिएको लामो अनुभव छैन । यो कुरा तितो सत्य हो । स्वास्थ्यको उच्च तहमा पुगेका कर्मचारी टिप्पणी लेख्ने व्यहोरा नजान्दै अवकाश पाउन थालेका छन् ।

स्वास्थ्यका एक पूर्व सचिवले टिप्पणी गरे जस्तै स्वास्थ्य सेवामा पछिल्लो समयमा पढेर फुत्त ११ तहमा प्रवेश गर्न बाह्रौं तह प्रमुख विशेषज्ञ हुने सचिव खाने घर जाने प्रवृत्ति देखा पर्न थालेको छ । विगतमा २०/२५ वर्षको अनुभव लिएर बल्ल ११ औं तहमा प्रवेश गर्ने गर्थे ।   स्वास्थ्य क्षेत्रको सबै ज्ञान र अनुभव भएका कर्मचारी ११ औं र १२ औं तहमा हुन्थे तर पछिल्लो समय स्वास्थ्यमा  बिना अनुभव पाेलिसिमा प्रवेश गर्ने कर्मचारीहरु बढ्दै जान थलेका हुन् ।

सामान्य टिप्पणी उठाउन नसक्नेहरु नीति निर्माण गर्ने ठाउँमा पुग्दा कुनै ‘भिजन’ दिन नसकेको स्वास्थ्य क्षेत्रमा चर्चा हुन थालेको छ ।  स्वास्थ्यका कार्यक्रमहरु प्रायजसो ‘कपि- पेस्ट’ गर्ने प्रवृत्ति देखा परेको छ । एक ठाउँमा बसेर २/३ महिना पनि अनुभव नबटल्दै मन्त्रीले भकुण्डो हानेर स्वास्थ्यका तिनै कर्मचारीलाई फेरि अर्को ठाउँ पुर्‍याउने गरेका छन् । यसले स्वास्थ्य क्षेत्र भद्रगोल बन्न थालेको गुनासो सुरु भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## स्वास्थ्य सेवा, #११ औं १२ औं तह, #ओमीक्रोन, #डा. भिमसिंह तिंकरी, #डा. भोलाराम श्रेष्ठ, #डा. राजेन्द्र पन्त, #डा. विकास लामिछाने, #डा. सुधा शर्मा, #डा. सुशीलनाथ प्याकुरेल, #नीतिगत तह नीति निर्माण, #भोगेन्द्र डोटेल, #महेन्द्र प्रसाद श्रेष्ठ, #महेन्द्र श्रेष्ठ, #श्यामराज उप्रेती, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com