थाहा नगरपालिकाले सेटिङमा अक्सिजन प्लान्ट खरिद गरेको पुष्टि, १३ लाख घोटाला !


काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि सेटिङमा अक्सिजन प्लान्ट खरिद गरेको तथ्य फेला परेको छ ।  उक्त अक्सिजन प्लान्ट खरिदमा १३ लाख घोटाला भएको आशंका गर्ने आधार देखिन्छ ।

थाहा नगरपालिकाले भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्ने मुनरक इन्टरनेसनल प्रालिसँग अक्सिजन प्लान्ट खरिद नगरी १ करोड १० लाख बढी कबोल्नेसँग सुभारम्भसँग ठेक्का सम्झौता गरेको स्वास्थ्य लाइभले खुलासा गरेको थियो । त्यसलाई थाहा नगरपालिकाले पुष्टि गरेको छ ।

स्वास्थ्य लाइभले गत असार ३० गते ‘थाहा नगरपालिकाले सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किन्यो’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । थाहाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य लाइभसँग मुनरकलाई जानकारी गराएरै सुभारम्भसँग अक्सिजन प्लान्ट खरिदको सम्झौता गरेको दाबी गरेका थिए । तर स्वास्थ्य लाइभमा समाचार प्रकाशित भएको भोलिपल्ट मात्र यो विषयमा मुनरकलाई जानकारी गराईएको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको छ ।

थाहाले समाचार प्रकाशित भएपछि ब्याक डेटमा पठाएको पत्र

युरोपियन सिई सर्टिफिकेट नपुगेको कारण देखाउँदै थाहा नगरपालिकाले १३ लाख बढी कबोल्ने शुभारम्भलाई अक्सिजन प्लान्ट आपूर्तिको ठेक्का दिएको हो । तर मुनरकले उक्त सिई सर्टिफिकेट पेश गरेको देखिन्छ ।

प्राविधिक कारण देखाउँदै थाहाले सबैभन्दा बढी कबोल्ने शुभारम्भलाई ठेक्का दिएको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोभित प्रसाईको मिलेमतोमा १३ लाख बढी मूल्यको अक्सिजन प्लान्ट खरिदको ठेक्का सम्झौता भएको हो ।

थाहा नगरपालिकाले ७९ लाख १८ हजार कबोल्ने मुनरक, १ करोड ७ लाख ८४ हजार कबोल्ने हेल्थ केयरलाई सामान्य प्राविधिक कारण देखाउँदै फेल गराएर सबैभन्दा बढी १ करोड १० लाख सुभारम्भसँग ठेक्का सम्झौता गरेको हो । उक्त विषयमा थाहा नगरपालिका आफैले खुलाएको छ ।

सामान्यतयाः नगरपालिका, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको दुई वर्षमा सरुवा हुन्छ । तर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरी ४ वर्षसम्म उक्त नगरपलिकामा सेटिङ मिलाएर बसेको खुल्न आएको छ ।

थाहा नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सेटिङमा कति पोख्न रहेछन् भन्ने कुरा ‘ब्याक डेट’मा पत्र तयार पारेर हतार हतार पठाउनु र प्रेस विज्ञप्ति निकालेर ढाकछोप गर्नुबाटै छर्लङ्ग हुन्छ ।

थाहा नगरपालिकाका एक स्थानीयका अनुसार आफूहरूले १३ लाख बढी कबोल्नेसँग अक्सिजन प्लान्ट खरिद गरेर कालोमोसो दल्ने तयारी गरेको सुईको पाएपछि त्यसबाट बच्न ढाकछोप पत्र तयार पारेको  हो । ‘नगरपालिकाका सेटिङमा काम हुने गरेको पहिला देखिनै हल्ला थियो । यो घटनाले त्यसलाई पुष्टि गरेको छ ‘, ती स्थानीयले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो ठेक्कामा मात्र होइन प्रमुख प्रशासकीय अधिकृत पुरीका पालामा भएका ठेक्काका विषयमा गम्भीर छानबिन गर्न आवश्यक देखिन्छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अक्सिजन प्लान्ट ठेक्का सेटिङ, #थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, #नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोभित प्रसाई, #मुनरक इन्टननेसनल, #शुभारम्भ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com