थाहा नगरपालिकाले सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किन्यो


काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको खुल्न आएको छ । भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्नेसँग अक्सिजन प्लान्ट खरिद नगरी १ करोड १० लाख बढी कबोल्नेसँग ठेक्का सम्झौता गरेको स्वास्थ्य लाइभले फेला पारेको छ ।

अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिभन्दा मुनरक इन्टरनेशल प्रालिले झन्डै १३ लाख कममा अक्सिजन प्लान्ट आपूर्ति गर्ने प्रस्ताव गरेको छ । तर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोभित प्रसाईको मिलेमतोमा १३ लाख बढी मूल्यको अक्सिजन प्लान्ट खरिदको ठेक्का सेटिङ भएको खुल्न आएको छ ।

 

नगरपालिकाले आफूहरूलाई थाहै नदिई आशयपत्रको सूचना पत्रिकामार्फत निकालेको भन्दै मुनरकले उजुरी समेत दिएको छ । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी भने मुनरकलाई जानकारी गराएरै सुभारम्भलाई ठेक्का दिएको दाबी गर्छन् । भदौसम्ममा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिसँग १ करोड १० लाख ११ हजार ९९ रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनको भनाइ छ ।

१३ लाख बढी कबोल्नेसँग अक्सिजन प्लान्ट खरिद गर्न लागेको विषयमा स्वास्थ्य लाइभले प्रश्न गर्दा पुरीले बागमती प्रदेश सरकारको गाइडलाइन्स अनुसार सम्झौता भएको बताए । यो विषयमा मुनरक प्रालिलाई पनि जानकारी गराइएको उनको प्रतिक्रिया छ । स्वास्थ्य लाइभले परीसँग ति सबै कागजात माग गर्दा दिन भने इन्कार गरेका छन् ।

मुनरकले भने नगरपालिकाले कुनै जानकारी नगराएको भन्दै उजुरी हालेको छ । ‘अक्सिजन प्लान्ट स्थापनाका लागि नगरपालिकाले लिएको यस कसिमको प्रक्रियागत छनौट स्वतन्त्र, निश्पक्ष र पारदर्शी नहुँदा आगामी दिनमा हुने अन्य टेण्डर प्रक्रियामाथि पनि प्रश्न उठ्ने निश्चितप्रायः छ’, मुनरकको उजुरीमा उल्लेख छ, ‘ के- कति कारणले सबै प्रक्रिया पूरा गर्दा र न्यूनतम दररेट कायम गरी बोलपत्रमा भाग लिँदापनि हाम्रो कम्पनी छनौट हुन सकेन ? यसबारेमा यहाँको तर्फबाट तत्काल निर्णय सच्याई पूनःमूल्यांकन गर्न माग गर्दछौं ।’,

‘यो टेण्डर प्रक्रियामा हामी भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) मा सहभागी भएका थियौं । तर, हामीभन्दा करिब १३ लाख बढि रुपैयाँ मूल्यमा टेण्डर हालेको कम्पनी छनौट गरिनुले यो प्रक्रियामा बदनियत र खोट देखिएको प्रष्ट हुन्छ ।’, मुनरकले भनेको छ ।

मिलेमतोमा बदनियतपूर्ण तवरले गैरकानूनी रुपमा अख्तियारको दुरुपयोग गरी गरिएको टेण्डर छनौट सच्याउन उजुरी परेको हो । टेण्डर प्रक्रियामा निर्णय गर्ने अख्तियारप्राप्त व्यक्तिहरुबाट कानून र अख्तियारको दुरुपयोग गरी निर्णय लिईएकोले यस निर्णय प्रक्रियामा संलग्नहरुउपर अख्तियार दुरुपयोग अनुसनन आयोगमा समेत छानबिन गरि दोषीउपर कारबाही गर्न माग गरिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com