अवकाशमा जान लागेका परराष्ट्रका सहसचिव
काठमाडौं। चालू आर्थिक वर्षमै परराष्ट्रका ३ सहसचिव अवकाशमा जाने सूचीमा छन्। गणेशप्रसाद ढकाल, भरतकुमार रेग्मी र तीर्थराज अर्याल चालू आर्थिक वर्षमै घर जान लागेका हुन्। ढकाल हाल परराष्ट्र मन्त्रालय, रेग्मी भियनाबाट फर्किने तयारीमा र अर्याल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा रहेका छन्। तीनैजना सहसचिव ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल पनि ५८ वर्ष पूरा भएर पुस ६ गते घर जान लागेका हुन्। थाइल्याण्डको राजदूत पूरा कार्यालय चलाएर परराष्ट्र मन्त्रालय फर्किएका ढकाल युरोप महाशाखा हेरिरहेका छन्। एउटा देशको राजदूत खाएर फेरि परराष्ट्र मन्त्रालय ‘ट्रान्जिट’ बनाएर फेरि अर्को देशमा राजदूत बन्न उनलाई उमेरले साथ नदिने देखिन्छ। उनको जागिर डेढ महिना जति बाँकी छ। ३०-५५ लागू भए ढकाल तत्काल घर जानेछन्।
अष्ट्रिया भियनास्थित नियोगको कमाण्ड सम्हालिरहेका भरतकुमार रेग्मी २०८४ साल बैशाख १५ गते ५८ वर्ष पूरा हुँदैछन्। रेग्मीको राजदूतको कार्यकाल पूरा गरेर फर्किने समय कुरिरहेका छन्। उनी ६ महिनाभित्रै ५८ वर्ष पूरा भएर सरकारी सेवाबाट घर जाने देखिन्छ।
भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका तीर्थराज अर्याल २०८४ असार ११ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी निलम्बनमै रहेकाले अदालतको निर्णयमा भर पर्छ। भ्रष्टाचारमा डामिएर निलम्बनमा परेका सहसचिव अर्याल एक वर्षभित्रै घर जाने सूचीमा छन्। ३०-५५ लागू भएकै दिन नै अर्याल अवकाशमा जाने तयारीमा देखिन्छन्।
ल्हासाको महावाणिज्यदूत खाली हुँदै
ल्हासाको महावाणिज्यदूत पनि खाली हुँदैछ। ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला ५८ वर्ष पूरा भएर माघ २ गते अनिवार्य अवकाशमा जाँदैछन्। महावाणिज्यदूत ४ वर्षका लागि नियुक्त हुन्छन्। निरौला २०८१ भदौमा ल्हासाको महावाणिज्यदूतमा नियुक्त भएका हुन्। तर, ५८ वर्ष पूरा भएपछि महावाणिज्यदूतबाट फिर्ता हुनुपर्ने भएकाले साढे दुई वर्ष जति मात्र निरौला उक्त जिम्मेवारीमा रहन्छन्। ३०-५५ लागू भए साढे दुई महिना पहिला नै उनी नेपाल फर्किनु पर्ने हुनसक्छ। साढे दुई महिना अघि कि पछि ल्हासाको महावाणिज्यदूत खाली हुन्छ त्यो भने अध्यादेशमा भर पर्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #गणेशप्रसाद ढकाल, #तीर्थराज अर्याल, #भरतकुमार रेग्मी


तपाईको प्रतिक्रिया दिनुहोस