काठमाडौंमा पोर्तुगलको महावाणिज्यदूतावास स्थापना गर्ने निर्णय राजपत्रमा प्रकाशित


काठमाडौं। नेपालमा पोर्तुगलको कूटनीतिक तथा कन्सुलर उपस्थिति विस्तारको माग उठिरहेका बेला काठमाडौंमा पोर्तुगलको महावाणिज्य दूतावास स्थापना गर्ने निर्णयले औपचारिकता पाएको छ। पोर्तुगलको सरकारी राजपत्र ‘Diário da República’मा २२ अक्टोबरमा प्रकाशित आदेशले काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्ने व्यवस्था गरेको हो। नेपाल सरकारले पोर्चुगलको महावाणिज्यदूतावास स्थापना गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ। उक्त निर्णयसँगै पोर्चुगलले राजपत्रम सूचना प्रकाशित गरेर काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो।

राजपत्रको दोस्रो शृङ्खला, अङ्क २०५/२०२६ मा प्रकाशित आदेश नम्बर १२८८३/२०२६ अनुसार नयाँ महावाणिज्य दूतावासको कार्यक्षेत्र नेपालको सम्पूर्ण भूभाग रहनेछ। नेपाल र पोर्तुगलबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यो महत्त्वपूर्ण कदम हुने विश्वास लिइएको छ।

नेपालमा पोर्तुगलको राजदूतावास तथा कन्सुलर कार्यालय स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेका अभियन्ताहरूले यस निर्णयलाई आफ्नो अभियानले सार्थकता पाउने दिशाको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

नेपालमै पोर्तुगलको कूटनीतिक तथा कन्सुलर सेवा उपलब्ध हुनुपर्ने माग उठाउँदै आएका अभियन्ताहरूका लागि यो निर्णय उत्साहजनक बनेको छ। हस्ताक्षर गर्ने, अभियानमा साथ दिने तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने सबैको साझा प्रयासलाई उनीहरूले यस अवसरमा स्मरण गरेका छन्।

राजपत्रमा महावाणिज्यदूतावास स्थापनाको उद्देश्य दक्षिण एसियामा पोर्तुगलको उपस्थिति र पहिचान सुदृढ गर्नुका साथै नेपालसँगको द्विपक्षीय सम्बन्ध विस्तार गर्नु रहेको उल्लेख छ। आप्रवासन प्रवाहको व्यवस्थापन र गन्तव्य मुलुकका समुदायमा आप्रवासीहरूको समायोजनको विषयलाई समेत निर्णयको पृष्ठभूमिमा समेटिएको छ।

दुई देशबीच व्यापारिक आदानप्रदान, आर्थिक सहकार्य र लगानीका अवसर विस्तार गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। नयाँ कार्यालयमा नियुक्त हुने कर्मचारीको तलब निर्धारणका लागि अस्थायी रूपमा भारतमा लागू तलबमान प्रयोग गरिने व्यवस्था आदेशमा छ।

नेपालमै पोर्तुगलको प्रत्यक्ष कन्सुलर उपस्थिति विस्तार हुँदा भविष्यमा सेवा पहुँच सहज हुने अपेक्षा गर्न सकिन्छ। पोर्तुगलसँग पारिवारिक, व्यावसायिक तथा अन्य सम्बन्ध भएका नेपालीका लागि यसले नयाँ आशा जगाएको छ।

राजपत्रमा प्रकाशित निर्णय महावाणिज्यदूतावास स्थापनासम्बन्धी हो। कार्यालयको ठेगाना, सेवा सञ्चालन हुने मिति तथा नेपालबाटै भिसा आवेदन लिने व्यवस्थाबारे उक्त आदेशमा उल्लेख छैन। यी विषय सम्बन्धित निकायको आगामी घोषणाबाट स्पष्ट हुनेछन्।

राजदूतावास तथा कन्सुलर कार्यालयको मागसहित अघि बढाइएको हस्ताक्षर अभियानका अभियन्ताहरूले महावाणिज्यदूतावास स्थापना गर्ने निर्णयलाई माग सम्बोधनको महत्त्वपूर्ण चरणका रूपमा हेरेका छन्। अब निर्णयको कार्यान्वयनसँगै सर्वसाधारणले नेपालबाटै सेवा प्राप्त गर्ने दिनको प्रतीक्षा गरिरहेका हुन्।

पोर्तुगलको राजपत्रमा प्रकाशित आधिकारिक निर्णय हेर्नुहोस्⁠

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ