सरकारी जग्गामा शिक्षामन्त्री राईद्वारा सञ्चालित निजी स्कुल एसभी एकेडेमीको रजाइँ

सार्वजनिक बाटो गायब, भवनको नक्सा र संरचना फरक


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको परिवारले चलाएको निजी स्कुलले सरकारी जग्गा हडपेर रजाइँ गरिरहेको तथ्य फेला परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरस्थित स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)ले सरकारी जग्गा हडपेर रजाइँ गरिरहेको पाइएको हो ।

चिकित्सा शिक्षा आयोगका पदेन सहअध्यक्ष शिक्षामन्त्री राईले सरकारी जग्गामा रजगज चलाउँदा सरकारी निकायहरू मौन र बेखबर छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आँखामा पट्टी बाँधेर बसेको छ । शैक्षिक बेथिति रोक्न भनेर खुलेका विद्यार्थी संगठनहरुको आवाज चुइँक्क सुनिन्न ।

शिक्षामन्त्री राई दम्पती

निजी स्कुलका मालिक जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका राईले शिक्षामन्त्री बनेर स्वार्थ बाझिने काम मात्र गरेका छैनन् । शिक्षामा व्यापार र सरकारी जग्गा कब्जा गर्न समेत सिकाएका छन् । उनको यो शैलीले शिक्षा क्षेत्र नै बदनाम हुने निश्चित छ ।

शिक्षामन्त्री राईकी श्रीमती शुशिला श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको एसभी एकेडेमीले सरकारी जग्गाका साथसाथै सार्वजनिक बाटो समेत गायब बनाएको फेला परेको छ । शिक्षमन्त्री पत्नी एसभी एकेडेमीकी सीईओ श्रेष्ठ जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद समेत रहेकी छिन् । उनीहरूले चलाएको उक्त स्कुलले सरकारी जग्गा र सार्वजनिक बाटोसहित आधा रोपनी बढी सरकारी/सार्वजनिक जग्गा खाएको फेला परेको हो ।

शिक्षामन्त्री राईको परिवारले बर्चस्व जमाएको एसभी एकेडेमीले साबिक बागमती नदीको झन्डै ३ आना जग्गा कब्जा गरेर संरचना बनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर १०२-११८६-०६, कित्ता नम्बर १८४ साबिक बागमती नदी घुसेको उक्त सरकारी जग्गा राई परिवारको निजी स्कुल एसभी एकेडेमीले संरचना बनाएर कर्लप्पै खाएको देखिन्छ ।

मालपोत, नापी र रावल आयोगको रेकर्ड हेर्दा १८४ कित्ता सँगैको शुशिला श्रेष्ठको नाममा दर्ता भएको १८५ नम्बर कित्ता जग्गामा पनि साबिक बागमतीको केही जग्गा घुसेको देखिन्छ । त्यो क्षेत्रमा १८४ को एसभी एकेडेमीसहित २०४ नम्बर कित्ताको १ रोपनी बढी सरकारी जग्गा विभिन्न व्यक्तिहरूले हडपेका छन् ।

त्यस्तै शिक्षामन्त्री राईको लगानी रहेको निजी स्कुल एसभी एकेडेमीले सार्वजनिक बाटो समेत कम्पाउण्डभित्र गायब बनाएको फेला परेको छ । नगर १० सिट नम्बर १०२-११८६-०६ र १०२-११८६-०१ उल्लेखित १८६ र ४८८ नम्बर कित्ताको सार्वजनिक बाटो समेत एसभी एकेडेमीले स्कुलको कम्पाउण्डभित्र हालेर मस्ती गरिरहेको पाइन्छ । ती सिट नम्बरमै रहेका सरकारी/सार्वजनिक प्रकृतिका कित्ताहरू १८७ र ४८८ पनि एसभी एकेडेमीकै कम्पाउण्डभित्र देखिन्छ ।

एसभी एकेडेमीसँग साँध सीमाना जोडिएको जग्गाधनी राधा कार्कीले स्कुलसँगको मिलेमतोमा १८७ नम्बरको सार्वजनिक जग्गा जोड्ने २०५ नम्बर कित्ताको बाटो बन्द गरेर गेट हालेकी छिन् । यसले गर्दा उक्त सार्वजनिक बाटो पूर्ण रुपमा एसभी एकेडेमीले कब्जा गर्न सफल भएको छ ।

एसभी एकेडेमीकी सीईओ सांसद श्रेष्ठको नाममा रहेको ५४१, ४०५ नम्बर कित्ता पनि शंकास्पद तरिकाले दर्ता भएको स्थानीयको दाबी छ । जग्गाको प्रकृति र दर्ता भएका जग्गासँगै बागमती करिडोरको सुकुम्बासी बस्ती रहेकाले उक्त जग्गा दुषित दर्ता भएको स्थानीयको दाबीमा दम देखिन्छ । यो विषयमा तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने स्थानीय समाजसेवीहरूको माग छ ।

एसभी एकेडेमीको जग्गाको विषयमा बुझ्न स्वास्थ्य लाइभले शिक्षामन्त्री राईलाई फोन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । यो विषयमा स्वास्थ्य लाइभले निरन्तर फलोअप गर्ने छ ।

त्यसो त एसभी एकेडेमीले नै चलाएको कलेजले सिट नम्बर  १०२-११८६-०१ को ५२८, ५२, ७५, ७१ र ५३१ नम्बर कित्तामा फैलिएको सार्वजनिक बाटो गायब बनाएर रजाइँ गररिहेको तथ्य समेत खुलेको छ । ती कित्तामा फैलिएको सार्वजनिक बाटोको क्षेत्रफल २ आना बढी छ । नापी नक्सामा ती कित्ताहरू प्रस्ट रुपमा बाटो कायम भएपनि फिल्डमा एसभी एकेडेमीले चलाएको कलेजले त्यो बाटो बन्द गराएको देखिन्छ । एसभी एकेडेमीको नाममा रहेको ५२७ नम्बर कित्ताको स्रोत समेत शंकास्पद रहेको पाइन्छ ।

एसभी एकेडेमीको फुटसल रहेको ५४५ नम्बर कित्ताको जग्गा पनि विवादित देखिन्छ । आधा रोपनी बढी क्षेत्रफलमा फैलिएको फुटसल सञ्चालनमा रहेको उक्त कित्ताको जग्गा पनि अख्तियारले छानबिनको दायरामा ल्याउनुपर्ने देखिन्छ ।

यता त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले सरकारी जग्गा हडपेर स्वप्न बाटिका स्कुलले बनाएको अवैध संरचना हटाउनु पर्ने धारणा राखेका छन् । स्वास्थ्य लाइभसँगको कुराकानीका उनले आफू सरकारी जग्गा संरक्षणमा निरन्तर लागिपरेकाले एसभी एकेडेमीले हडपेको सरकारी जग्गाका विषयमा ध्यानाकर्षण भएको बताए । भूमाफिया इन्द्र चाम्लिङ, दिपक मल्होत्रा, जेएन तण्डुकारले हडपेर संरचना बनाएको सरकारी जग्गामा डोजर चलाएका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले एसभी एकेडेमीले सरकारी जग्गा हडपेर बनाएको संरचनामा चासो देखाएका हुन् ।  सरकारी जग्गा हड्प्ने जोसुकै भएपनि छाड्न नहुने उनको भनाइ छ ।

नक्सा एउटा भवन अर्के

शिक्षामन्त्री राई परिवारको मुख्य लगानी रहेको निजी स्कुलले एसभी एकेडेमीले नक्साविपरीत गगनचुम्बी भवन निर्माण गरेको फेला परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा रहेको एसभी एकेडेमीको फायलमा साढे दुई तला नक्सा पेस गरेको देखिन्छ । ४ पिल्लरको साढे दुई तले संरचनाको नक्सा पेस गरेको एसभी एकेडेमीले ६ तले भवन बनाएको पाइन्छ ।

स्वास्थ्य लाइभलाई प्राप्त उक्त नक्सा पास भए/नभएको एकीन हुन सकेको छैन । स्वास्थ्य लाइभले सोधखोज गर्दा नक्सा पेस मात्र भएको हो कि पास पनि भएको हो खुल्न सकेको छैन । काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले शुशिला श्रेष्ठ वा एसभी एकेडेमीको नाममा कुनै नक्सापास स्वीकृत भएको प्रमाण महानगरको अनलाइन सिस्टममा नदेखिएको बताए । ‘अनलाइन सिस्टममा देखिँदैन, फायल खोज्दा भेटिदैन, यस विषयमा थप खोजबिन गरेर मात्र भन्न सकिन्छ ।’, स्वास्थ्य लाइभसँग विभागीय प्रमुख शाक्यले भने ।

एसभी एकेडेमीले नक्सा पेस गरेर मात्रै उक्त भवन बनाएको हो कि नक्सा पास पनि गरेको छ त्यो थप खोजीको विषय बनेको छ । यो विषयमा स्वास्थ्य लाइभले थप खोजबिन गर्नेछ ।स्वास्थ्य लाइभलाई प्राप्त नक्सा अनुसार भवनको ४ वटा मात्र पिल्लर देखिन्छ तर फिल्डमा एसभी एकेडेमीको भवन ६ वटा पिल्लर राखेर थप संरचना बनाइएको छ । उक्त जग्गा विवादित भएकाले पनि ती दुई पिल्लर र संरचना नदेखाइएको हुन सक्ने स्थानीयको बुझाइ छ ।

सरकारी जग्गा हडप्ने र नक्सा पासको समेत विवादमा परेको शिक्षामन्त्रीको निजी स्कुल एसभी एकडेमीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको नजर पर्छ कि पर्दैन हेर्न बाँकी छ । शिक्षा क्षेत्र सुधारको ठेक्का लिएका शिक्षामन्त्री राईले चलाएको निजी स्कुलले सरकारी जग्गा हडपेर बनाएको संरचना बालेनको डोजरको पर्खाइमा देखिन्छ । शिक्षामन्त्री राईको अवैध संरचना र धन्दामा मात्र होइन नैतिकतामाथि पनि बालेनको डोजर चलाउन जरुरी छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## नेपाल मेडिसीटी अस्पताल, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #जनता समाजवादी पार्टी( जसपा), #डोजर, #बुद्धनगरस्थित सरकारी जग्गा, #शिक्षामन्त्री अशोक राई, #सांसद शुशिला श्रेष्ठ, #स्वप्न बाटिका स्कुल (एसभी एकेडेमी)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com