भोजपुरका मेयर आलेद्वारा जेष्ठ नागरिक र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने घोषणा


काठमाडौं । भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाश आले मगरले जेष्ठ नागरिक र सुत्केरी महिलाहरूक लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।दोस्रो कार्याकालका लागि पदभार सम्हाल्दै नवनिर्वाचित मेयर आलेले पहिलो निर्णयमार्फत उक्त घोषणा गरेका हुन् ।

भोजपुर जिल्लामा वृहत्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कुशल व्यवस्थापकको भूमिका खेलिसकेका मेयर आलेले जेष्ठ नागरिक र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका हुन् । उनको पहिलो निर्णय नागरिकको स्वास्थ्यप्रति लक्षित छ । आले मेयरमा निर्वाचित भएलगत्तै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम थालेका छन् ।

भोजपुर नगरपालिकाभित्रका विपन्न वर्गको पहिचान गरी निःशुल्क खानेपानी र विद्युत उपलब्ध गराउने मेयर आलेको अर्को घोषणा छ । आफ्नो पहिलो कार्यकालमा विद्युत र खानेपानीको व्यवस्थापन गरेपनि विपन्न नागरिकले उपभोग गर्न नसकेको भन्दै त्यसको पहिचान गरेर नि:शुल्क रुपमा उपलब्ध गराउने मेयर आलेको उद्‌घोष छ । भोजपुर सदरमुकामको बीच बजारमा रहेको विद्युतका नाङ्गो तार हटाएर उचित व्यवस्थापन गरिने उनको अर्को निर्णय रहेको छ ।

यता भोजपुरकै षडानन्द नगरपालिकाका नवनिर्वाचित मेयर सुरेन्द्रकुमार उदासले पनि आलेको घोषणा पछ्‌याउँदै जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । पदभार सम्हाल्दै मेयर उदासले नयाँ एम्बुलेन्स खरिद गरेर उक्त सेवा उपलब्ध गराउने बताएका छन् । नवनिर्वाचित उदासले आफ्नो कार्यकालमा स्वास्थ्यलाई प्राथमिकता दिएको बताउँदै एम्बुलेन्स खरिद गरी जेष्ठ नागरिक, (क) वर्गका अपाङ्गहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, दुर्घटनामा परेर घाइते भएका र अन्य समस्यामा परेका नागरिकहरुलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहज पारिने स्पष्ट पारे ।

भोजपुरकै अरुण गाउँपालिकाका प्रमुख शालिकराम खत्रीले पनि आफ्नो कार्यकालमा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । उनले एम्बुलेन्स सेवा, स्वास्थ्य बिमादेेखि स्वास्थ्यसँग जोडिएका हरेक विषयमा गाउँपालिकाले सहजिकरण गर्ने स्पष्ट पारे । अरुणका प्रमुख खत्रीले निःशुल्क एम्बुलेन्स सेवासहित स्वास्थ्यमा एकमुष्ट कार्यक्रम ल्याएका छन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #अरुण गाउँपालिका भोजपुर, #निःशुल्क एम्बुलेन्स सेवा, #भोजपुर नगरपालिका मेयर कैलाश आले मगर, #भोजपुर नि:शुल्क स्वास्थ्य शिविर, #शालिकराम खत्री, #षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदास

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com