ललितपुरलाई डेंगु महामारीको क्षेत्र घोषणा गर्ने तयारी !

डेंगुबाट हजारौं नागरिक प्रभावित हुन सक्ने सरकारी अनुमान


काठमाडौं । ललितपुर जिल्लामा तीब्र रुपमा डेंगु संक्रमण फैलिएपछि सरकारले उक्त जिल्लालाई डेंगु महामारी क्षेत्रका रुपमा घोषणा गर्ने तयारी गरेको छ । विगत ५ वर्षको तथ्यांकका आधारमा सम्भावित जोखिमबारे जानकारी गराउन लागेको हो । स्वास्थ्य अधिकारीहरुले यस वर्ष डेंगुबाट हजारौं नागरिक प्रभावित हुन सक्ने अनुमान लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका फोकल पर्सन डा. गोकर्ण दाहालका अनुसार हालको डेंगु फैलावटलाई कसरी परिभाषित गर्ने भन्नेमा छलफल भइरहेको छ । ‘महामारी घोषणा गर्न विगत पाँच वर्षको तथ्यांक अध्ययन गरिएको हुन्छ । हाल देशका ७२ जिल्लामा डेंगु फैलिएको छ । सबैभन्दा धेरै ललितपुरमा देखिएको छ । उक्त जिल्लालाई महामारीका रुपमा भन्ने नभन्ने छलफल जारी छ ।’,

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताए अनुसार ललितपुरमा हालसम्म ८५८ जनामा संक्रमण पुष्टि भएको छ । उक्त संख्यालाई आधार मान्दा जिल्लालाई महामारी क्षेत्र घोषणा गर्न सकिन्छ । तर, विगत पाँच वर्षमा पनि निरन्तर उल्लेख्य मात्रामा केस देखिएकाले केही दिन पर्ख र हेरको रणनीतिमा अधिकारीहरु जुटेको बुझिएको छ । काठमाडौंमा न्यून ‘केस’ भएकाले पनि महामारी क्षेत्र घोषणा गर्न हतार गर्न नहुने राय पनि केहीले दिएका छन् ।

नेपालमा पहिलोपटक भारतबाट आएका एक व्यक्तिमा डेंगु पुष्टि भएको थियो । त्यस यता सन् २००६ मा ३२ जना, २००७ मा २७ जना, २००८ मा १० जना, २००९ मा ३० जना, २०१० मा ९१७ जना, २०११ मा ९७ जना, १०१२ मा १८३ जना, २०१३ मा ६८६ जना, २०१४ मा ३५६ जना, २०१५ मा १३५ जना, २०१६ मा १५२७ जना, २०१७ मा २१११ जना, २०१८ मा ८११ जना, २०१९ मा १७९९२ जना, २०२० मा ५३० जना, २०२१ मा ५४० जना र २०२२ मा २५३९ जना डेंगु संक्रमित पुष्टि भएका छन् । विभागले महामारी घोषणाका लागि २०१८ देखिको तथ्यांकलाई नियालिरहेको छ ।

सन् २०१९ मा धरानमा आउटब्रेक भएको डेंगु देशभर फैलिएको थियो । धरानलाई महामारीकै रुपमा घोषणा गरिएको थियो । त्यसको ठिक तीन वर्षपछि तीब्र रुपमा संक्रमण देखिएको छ । स्वास्थ्य अधिकारीहरुले यस वर्षपनि हजारौं नागरिक डेंगुबाट प्रभावित हुने अनुमान लगाएका छन् ।

पछिल्लो तथ्यांक के छ ?

पोथी लामखुट्टेको टोकाइबाट सर्ने प्राणघातक रोग डेंगु देशभर महामारीको रुप लिनेगरी फैलिएको छ । पछिल्लो सरकारी तथ्यांक अनुसार २५ सय ३९ जना संक्रमित पुष्टि भइसकेका छन् । प्रदेश १ मा १७९ जना, मधेश प्रदेशमा ५२ जना, बाग्मती प्रदेशमा १४७८ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ६४५ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा ७९ जनामा डेंगु पुष्टि भएको छ ।

गत जनवरीमा ११ जना, फेब्रुअरी ३ जना, मार्चमा १५, अप्रिलमा १८, मे मा २५ जना, जुन मा ९३ जना, जुलाइमा ५०४ जना, अगष्टमा १८७० जना गरी हालसम्म २५३९ जना पुगेको हो ।

उच्च जोखिममा रहेका १० जिल्ला

डेंगुको उच्च जोखिममा दश जिल्ला परेका छन् । स्वास्थ्य मन्त्रालयको रेडक अनुसार ललितपुरमा ८५८ जना, रुपन्देहीमा ३६३ जना, काठमाडौंमा ३३२ जना, धादिङ्मा ७३ जना, तेह्रथुममा ६५ जना, सिन्धुलीमा ६१ जना, भक्तपुरमा ५४ जना, संखुवासभामा ५१ जना, अर्घाखाँचीमा ५० जना र गुल्मीमा ४९ जना संक्रमित छन् । उक्त जिल्लालाई सरकारले उच्च जोखिममा राखेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डेंगु, #ललितपुर जिल्ला, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com