स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने प्रस्ताव तयार


काठमाडौं । सहरी विकास मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्र सार्ने प्रस्ताव तयार पारेको छ ।

सिंहदरबार गुरुयोजना कार्यान्वयन समितिको निर्णय अनुसार सहरी विकास मन्त्रालयले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजाने प्रस्ताव तयार पारेको हो । उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै मन्त्रीपरिषद्को बैठकका पेश गर्ने तयारी छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजाने बाटो खुल्ने छ ।

सहरी विकास सचिव सुरेश आचार्यका अनुसार सिंहदरबार गुरुयोजना कार्यान्वयन गर्ने गरी प्रक्रिया अगाडि बढेको छ । उक्त गुरुयोजना चाँडै कार्यान्वयनमा आउने उनको विश्वास छ ।

मुख्यसचिव शंकरदास बैरागी खनाल नेतृत्वको सिंहदरबार गुरुयोजना कार्यान्वयन समितिको बैठकले उक्त गुरुयोजना कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

मुख्यसचिव, प्रधानमन्त्री कार्यालयका सचिव, सहरी विकाससचिव, गृहसचिवसहितको उक्त समितिले दुई दिन अगाडि नै स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजाने गुरुयोजना स्वीकृत गरेको हो । अब सहरी विकास मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पुगेपछि उक्त प्रस्तावले मूर्त रुप लिनेछ ।

सहरी विकास मन्त्रालयलका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालय हुँदै उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पुगेर स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने प्रक्रिया अघि बढ्ने छ । सम्भवतः चैत्रमसान्तभित्रै मन्त्रिपरिषद् बैठकबाट सिंहदरबार गुरुयोजना कार्यान्वयन निर्णय हुने ती अधिकारीले बताए । मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त हुन साथ स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

सिंहदरबारबाहिर रहेको एक मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्र सार्नुपर्छ भन्ने आवाज उठिरहेको छ । स्वास्थ्य मन्त्रालय सिंहदरबारबाहिर हुँदा समन्वयमा समेत समस्या पर्दै आएको छ । अब भने उक्त मन्त्रालय सिंहदरबारभित्र छिर्ने प्रक्रिया अगाडि बढेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #गृहसचिव, #प्रधानमन्त्री कार्यालयका सचिव, #मुख्यसचिव, #सहरी विकास मन्त्रालय, #सहरी विकाससचिव, #सिंहदरबार भित्र सार्ने, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com