कसले उठाउँछ सिंहदरबारको फोहोर ?


काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार फोहोर झन्डै एक हप्ता उठेन । सिंहदरबारको फोहोर नउठ्दा त्यहिँबाट संक्रामक रोग फैलिएला भन्ने आम त्रास थियो । तर, सर्वोच्च अदालतले फोहोर उठाउन अन्तरिम आदेश दिएपछि सिंहदरबारको फोहोर उठ्यो र त्रास हट्यो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले सिंहदरबारले असहयोग गरेपछि फोहोर नउठाउन निर्देशन दिएका थिए । खासगरी नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाउन गृहमन्त्रीले असहयोग गरेपछि बालेन चिढिएका हुन् । अदालतको आदेशलाई सम्मान गर्दै बालेनले सिंहदरबारको फोहोर उठाए र भने, ‘गृहमन्त्रीज्यू नदी किनारमा रहेका सुकुम्बासीलाई कुन कानुनले कहिलेसम्म संरक्षण गर्नुहुन्छ ।’,
बागदरबार (काठमाडौं महानगरपालिका)ले सर्वोच्चको आदेश अनुसार सिंहदरबारको फोहोर उठाउँदै गर्दा नदीमा स्वच्छता कायम गर्ने सर्वोच्च कै फैसला बागदरबारले सिंहदरबारलाई स्मरण गराएको छ ।
बालेनले सर्वोच्चको आदेश मानेर सिंहदबारको फोहोर उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्चको आदेश मानेर नदी किनारमा रहेका फोहोर हटाउन सहयोग गर्छन् की गर्दैनन् यो महत्त्वपूर्ण कुरा हो ।
पुराना राजनीतिक दलहरुले सुकुम्बासीलाई भोट बैंकको रूपमा संरक्षण गर्दा यो समस्या निम्तिएको देखिन्छ ।

सिंहदरबारको फोहोर उठाउने विषयमा बागदरबार र सिंहदरबारबीच टसल पर्दा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ वाण प्रहार गरेका छन् । उनले सिंहदरबारको फोहोर महानगरपालिकाले नभई सहरी विकास मन्त्रालयले उठाउने हो भनेका छन् ।
फोहोर उठाउनका लागि सहरी विकास मन्त्रालयले निजी कम्पनीसँग सम्झौता गरिसकेको समेत पूर्व प्रधानमन्त्री ओलीले खुलाएका छन् ।
ओलीको अभिव्यक्तिपछि यो विषयमा स्वास्थ्य लाइभले शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारसँग जिज्ञासा राख्यो । उनले यो विषयमा बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

सिंहदरबारको फोहोर उठाउने जिम्मा लिने उक्त निजी कम्पनी कुन हो तत्काल सार्वजनिक हुनुपर्छ । सिंहदरबारले आफैंले सम्झौता गरेको कम्पनीलाई फोहोर उठाउन निर्देशन नदिएर किन बालेनलाई सचेत गराउने भन्यो यो खोजीको विषय हो । सहरी विकास मन्त्रालयले फोहोर उठाउने विषयमा भएको के हो यथार्थ जानकारी गराएर उक्त कम्पनीसँग स्पष्टीकरण लिनैपर्छ । पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले पक्कै हचुवाको भरमा बोलेनन् होला । ओलीको जन्मथलो तेह्रथुमकी सिता गुरुङ सहरी विकासमन्त्री रहेकी छिन् । उनले यो विषयमा गम्भीर चासो लिनुपर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #गृहमन्त्री नारायणकाजी श्रेष्ठ, #सहरी विकासमन्त्री सिता गुरुङ, #सहरी विकाससचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com