स्वास्थ्य मन्त्रालयलाई संसद सचिवालय भवनमा सारिने


काठमाडौं । सिंहदरबारबाहिर रहेकाे एकमात्र मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संघीय संसद सचिवालयको भवनमा सार्ने गुरुयोजना तयार भएको छ । सिंहदरबार पुनर्संरचना गर्ने गुरुयोजनामा स्वास्थ्य मन्त्रालयलाई संसद सचिवालयमा सार्ने प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार संसदको नयाँ भवन तयार भएलगत्तै संसद सचिवालयलाई नयाँ भवनमा सारेर स्वास्थ्य मन्त्रालयलाई उक्त ठाउँमा व्यवस्था गर्ने प्रस्ताव छ । करिब १० अर्ब खर्च गरेर सिंहदरबार पुनर्संरचना गर्न लागिएको हो ।

पोखरी, ताल, फुलबारीसहित सिंहदरबारलाई नयाँ तरिकाले व्यवस्थित गर्न सरकार लागिपरेको छ । सिंहदरबारभित्र रहेका परराष्ट्र र गृह मन्त्रालयका नयाँ भवन बन्नेछन् भने अन्य मन्त्रालयको संगठन संरचना अनुसार व्यवस्थापन गर्ने तयारी छ ।

स्वास्थ्य मन्त्रालयका लागि भने संसद सचिवालयको भवन प्रयाप्त हुने गुरुयोजना तयार गर्न संलग्न अधिकारीहरुको ठम्याई छ । सिंहदरबार बाहिर रहेको एक मात्र मन्त्रालय स्वास्थ्यलाई जतिसक्दो चाँडो सिंहदरबारभित्र सार्ने गृहकार्य सुरु भएको छ । निर्माणाधीन संसद भवन चाँडै सम्पन्न गरेर स्वास्थ्य मन्त्रालयलाई भित्र ल्याउने तयारी भइरहेको देखिन्छ ।

लामो समयदेखि स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने चर्चा भएपनि उक्त कुरा चर्चामै सीमित छ । अब भने उक्त गुरुयोजना लागू हुने र स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सर्ने प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू बताउँछन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #सिंहदरबार भित्र सार्ने, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com