वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. गिरी अख्तियारको विस्तृत छानबिनमा


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन सुरु गरेको छ । नक्कली प्राध्यापक लेखेको आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका गिरीमाथि अख्तियारले अर्को उजुरीमा विस्तृत छानबिन सुरु गरेको हो ।

अख्तियार उच्च स्रोतका अनुसार वीपीका निलम्बित उपकुलपति गिरीमाथि भ्रष्टाचारमा छानबिन गर्न गम्भीर प्रकृतिको उजुरी परेपछि विस्तृतमा राखेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. गिरीको प्रत्यक्ष संलग्नमा म्याटर्नल एन्ड चाइल्ड हेल्थ (एमसिएच) भवनका लागि भन्दै उक्त भवन नबन्दै ९ करोड ८६ लाख ४९ हजार रुपैयाँमा २० वटा भेन्टिलेटर खरिद गरेकाे विषयमा अख्तियारले अनुसन्धान सुरु गरेको छ । ती भेन्टिलेटरहरु १ वर्षदेखि थन्किएर बसेका छन् । कमिसनको चक्करमा अनावश्यक उपकरण खरिद गरी थन्क्याएर राख्नु पनि भ्रष्टाचार हो । ती भेन्टिलेटरहरु १ वर्षदेखि थन्किएर बसेकाले यसलाई अख्तियारले गम्भीर रुपमा लिएको बुझिन्छ ।

निलम्बित उपकुलपति डा. गिरीको मिलेमतोमा १५ करोड १ लाख ९९ हजारका कमसल उपकरण तया मेसिनरी खरिद गरेको विषय पनि अख्तियारमा पुगेको छ । डा. गिरीको संलग्नतामा खरिद गरिएको ४ करोड बढीको एमआरआई मेसिन (०.३) टेस्ला, ५ करोड बढीको सिटी स्क्यान, एक्से मेसिन, मोबाइल सि र्‍याम एक्से मेसिन एक/एक थान गुणस्तरहीन भएकाले प्रयोगमा आउन सकेको छैन । वीपी प्रतिष्ठानले पोर्टबल एक्स रे मेसिन २ थान, ८०० एमए एक्स रे मेसिन १ थान, कलर डप्पलर सिमेन १ थान, अल्ट्रा साउण्ड मेसिन १ थान र आईसीयू भेन्टिलेटर ६ थान प्रयोग गर्न नमिल्ने कमसल खरिद गरेको विषय समेत अख्तियारमा प्रवेश भएको हो ।

अख्तियार स्रोतका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०५५ मा प्रतिष्ठानले बजेट तथा कार्यक्रमको अधिनमा रही खर्च गर्नु पर्ने व्यवस्था गरेको छ । तर, वीपीका पदाधिकारीले बजेट र कार्यक्रमबाहिर गएर ठेकेदारलाई ४ करोड ८० लाख ३५ हजार रुपैयाँ बढी भुक्तानी गरेको विषय पनि उजुरीमा उल्लेख छ ।  वीपी प्रतिष्ठानको बजेट तथा कार्यक्रममा बिरामीका लागि निःशुल्क राशन व्यवस्था भनेर ५० लाख बजेट विनियोजन गरिएको थियो । तर, उक्त शीर्षकमा १ करोड १ लाख ६३ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । मिलेमतोमा उक्त शीर्षकमा ५१ लाख ६३ हजार बजेट बाहिरबाट भुक्तानी गरेको आरोप छ । त्यस्तै सामाजिक सेवा इकाई एकद्वार संकट व्यवस्थापन केन्द्र, जेरियाट्रिक वार्ड कार्यक्रम (औषधि उपचार खर्च)का लागि बजेट ३ करोड विनियोजन गरिएको थियो । तर, वीपी प्रतिष्ठानले उक्त शीर्षकमा ३ करोड २४ लाख १ हजार खर्च गरेको उजुरीमा दाबी गरिएको । निलम्बित उपकुलपति डा. गिरीमाथि प्रतिष्ठानले निमयविपरीत २४ लाख औषधि उपचार खर्चका लागि बढी भुक्तानी गरेर बजेट अपचलन तथा भ्रष्टाचार गरेको हो अर्को आरोप लगाइएको छ ।

अख्तियार स्रोतका अनुसार गिरी कै डिजाइनमा वीपी प्रतिष्ठानको मातृशिशु अस्पताल भवन निर्माणका लागि बजेटविपरीत ४ करोड बढी भुक्तानी गरेको उजुरीमा खुलाइएको छ । प्रतिष्ठानले बजेट विनियोजन गर्दा उक्त भवनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, ३७ करोड ४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । वीपीका पदाधिकारीहरुको मिलेमतोमा मातृशिशु भवन निर्माणका लागि ४ करोड ४ लाख ७१ हजार रुपैयाँ बढी भुक्तानी गरिएको उजुरी आएको हो ।

निलम्बित उपकुलपति गिरीले कार्यकारीणी समितिबाट अनुमोदन गराउने गरि आफ्नो अधिकार क्षेत्र नाघेर करिब २ अर्व ५० करोडको मातृशिशु भवनको २ वर्ष म्याद थप गर्नुका साथै एकल निर्णयबाट करिब ६८ करोड भुक्तानी गरेको समेत उजुरी परेको छ । गिरीले निर्देशनमा वीपी प्रतिष्ठानले सरसफाइमा सम्झौताविपरीत अपुश्री इन्टरप्राइजेजलाई १ करोड ४८ लाख ९६ हजार ७२० रुपैयाँ बढी भुक्तानी गरेको उल्लेख छ ।

वीपी प्रतिष्ठान र अपुश्री इन्टरप्राइजेजबीच सरसफाइसम्बन्धी भएको सम्झौताको बुँदा नम्बर ८ (ग)मा हाल प्रतिष्ठानभित्र रहेको भौतिक संरचना ( आवास, अस्पताल, छात्रवास, कार्यालय भवन आदि)बाहेक भविष्यमा कुनै थप संरचना निर्माण भएमा थप भएको संरचनाको सरसफाइ समेत आवश्यक परेका थप जनशक्ति तथा सामग्रीको प्रयोग गरि गर्नुपर्ने छ भन्ने उल्लेख छ । उक्त थप जनशक्ति तथा सरसफाइ सामग्रीको लागि अतिरिक्त रकम उपलब्ध हुने छैन भन्ने प्रस्ट लेखिएको छ । तर, वीपी प्रतिष्ठानले अस्पताल परिसरमा रहेको भवन तथा दन्त चिकित्सा महाविद्यालयको ट्वाइलेट तथा कोर्डिनेटर सरफाइ गर्न १ करोड २ लाख ५० हजार ५४४ रुपैयाँ अतिरिक्त भुक्तानी गरेको पाइन्छ । यो विषय समेत अख्तियारमा प्रवेश गरेको हो ।

वीपी प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा विभिन्न १२ वटा फर्मलाई १८ लाख ३२ हजार ९९५ रुपैयाँ हर्जना छुट दिएको आरोप छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ तथा सम्झौताको शर्त बमोजिम आपूर्तकले सम्झौता अवधिमा सम्झौता अनुसारको सामान आपूर्ति नगरेमा सम्झौता रकमको प्रतिदिन ०.०५ प्रतिशतका दरले बढीमा १० प्रतिशतमा नबढ्ने गरी पूर्वनिर्धारित क्षतिपूर्ति असूल गर्न पर्ने व्यवस्था छ । तर, वीपी प्रतिष्ठानले सम्झौता अवधिमा सम्झौता अनुसारको सामान आपूर्ति नगर्ने १२ वटा फर्मसँग झन्डै १८ लाख बढी हर्जना नलिएको उजुरीमा दाबी गरिएको छ ।  वीपी प्रतिष्ठानले गर्ग इन्पेक्स, नेसनल मानसरोवर प्रिन्टिङ प्रेस, जय श्री श्याम ट्रेडिङ कन्सर्न, द मेडिकल सोलुसन प्रालि, सिद्धिविनायक धरान सप्लायर्स प्रालि, एभरेष्ट ट्रेड लिङ्क, सुदीप इन्टरनेसनल प्रालि, श्याम सर्जिकल सप्लायर्स, डाइग्नोटेक सपोर्ट प्रालि, जी एच मेडिटेक कन्सर्नसँग र हेल्थ लिङ्क नेपाल प्रालिसँग उक्त हर्जना नलिएर भ्रष्टाचार गरेको आरोप लागेको हो ।

प्रतिष्ठानले बलापत्र रद्द गरे पश्चात दोस्रोपटक बोलपत्र प्रकाशित गर्दा एक मात्र बोलपत्रदाता सहभागी भएको र विगतमा भन्दा सो बोलपत्रदाताले रू ५०.९५.१२५|० बढी कबोल गरेको र सोही बोलपत्रदातासंग मिति २०७८/१२/२९ मा खरिद सम्झौता गरि मेटेरियल खरिद गरी भ्रष्टाचार गरेको उजुरी समेत अख्तियारमा पुगेको छ । यीलगायत वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. गिरीको संलग्नता ठूल्ठूला अनियमितता तथा भ्रष्टाचार भएकाले उजुरी अख्तियारमा पुगेकाले त्यसलाई विस्तृत रुपमा अनुसन्धान गर्ने तयारी भइरहेको अख्तियार स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ## निलम्बित उपकुलपति ज्ञानेन्द्र गिरी, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com