“सचिवको आँट मन्त्रीको साथ”

पूर्वाञ्चलमा स्वास्थ्य जीवित भएको जनतामा अनुभूति दिलाएकी सचिव 


विराटनगर । सह सचिव डा सुधा देवकोटा कोशी प्रदेशको स्वास्थ्य सचिव भएको ९ महिना पुगेको छ । चट्टाननै चट्टानलाई पार लगाउँदै चिकित्सक महिलाबाट पहिलो सचिव बनेकी सुधा बिस्तारै परिपक्व बन्न थालेकी छन् । उनमा अहिले सचिव हाक्ने आँटमा व्यापक वृद्धि भएको देखिन्छ ।

महिला त्यसमा पनि प्राविधिक तर्फको व्यक्ति सचिव भएर चलाउन सक्छ ? भन्ने प्रश्नहरूको चङ्गुलमा सचिव बनेकी डा सुधाले बिस्तारै त्यस्ता प्रश्नहरूलाई दबाउँदै लगेकी छन् । ९ महिनाको बिचमा उनले नियमित कयौं कामहरू गरेकी छन् । त्यसमा हामीलाई चर्चा गर्न आवश्यक पनि छैन । तर, यस्ता कामहरू उनले गरेकी छन् जुन निकै महत्वपूर्ण र संघीय सरकारले समेत सिक्नुपर्ने खालका छन् । 

स्वास्थ्य क्षेत्रको सुशासन खोज्ने पहिलो अनलाइन हो, स्वास्थ्य लाइभ । हामीले कयौं यस्ता विषयहरूको उठान गयौं, जुन विषयले अहिले पनि देशमा एक प्रकारको तरङ्ग ल्याइरहेको छ । यस बिचमा हामीले उदाहरणीय काम गरेका कर्मचारीहरू सम्पर्कमा आउँदा उहाँहरूलाई पनि स्थान दिन थालेका छौं । 

डा सुधा सचिव भएको केही समयमै मेची प्रादेशिक अस्पतालमा सहरी तथा भवन विभागले निमार्ण सम्पन्न गरेको नयाँ भवन हस्तान्तरणको कार्यक्रम थियो । उक्त कार्यक्रमबारे प्रदेशलाई कुनै जानकारी थिएन । भवन हस्तान्तरण गर्दै गर्दा नयाँ भवनमा पानी चुहिने कुरा जानकारी पाएपछि सचिव सुधाले ठाडो हस्तक्षेप गरिन् । सायद अरु कर्मचारी भएको भए अर्को सरकारी निकायले हस्तान्तरण गरेको भवन अस्वीकृत हुने थिएन । सचिव सुधा भन्छिन्, जनताले तिरेको करबाट निमार्ण भएको सरकारी संरचना प्रयोग नै नगरी चुहिन्छ भने त्यो लिनु सरासर नीतिगत भ्रष्ट्राचार गर्नु हो । अहिले पुन निर्माणको काम अगाडि बढेको छ । 

सचिव सुधाले अवसर पाउदा महिला त्यसमा पनि प्राविधिकले कसरी प्रशासन चलाउँछन् भनेर देखाई दिएकी छन् । यो क्षमता संघीय स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाँईले पनि सिक्नुपर्ने छ । कुखुरा “ओथारा” बसेको भए चल्ला कयौं पटक काड्ने बेला भएको छ । तर,  सचिव गुरागाँईले स्वास्थ्यमा बसेर फायलमा कलम समेत चोब्न जानेकी छैनन् ।

देशभर नसर्ने रोगको अवस्था बढ्दो क्रममा छ । यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर मेरै पहलमा मोबाइल भ्यान सञ्चालनमा ल्याउने निर्णय गरेकी हुँ सचिव देवकोटा भन्छिन् । उक्त भ्यान गाउँ गाउँ सम्म पुगेर सेवा दिने छ । 

त्यस्तै कोशी प्रदेशको सङ्क्रामक रोग अस्पताललाई मुटु रोगको उपचारमा परिणत गरिएको छ । त्यस्तै देवकोटा भन्छिन्, १० वर्ष सम्मका बालबालिकाको स्वास्थ्य उपचार निशुल्क गर्नु ठुलो चुनौती थियो । हामीले उक्त चुनौतीलाई अवसरका रुपमा लिएर काम सम्पन्न गरेका छौं । कोशी सरकारले त्यहाँका ठूला अस्पतालसँग सम्झौता गरेर दश वर्ष सम्मका बालबालिकाको स्वास्थ्य उपचारलाई निशुल्क बनाएको छ । यो निर्णयले गरिब तथा विपन्न नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको छ । 

देशको चासोका रुपमा परेको “जलन” उपचारका लागि पनि किर्तिपुर अस्पतालसँगको सहयोगमा विराटनगरमा सेवा विस्तारको थालनी भएको छ । यसका लागि कोशी प्रदेशले पनि अनुदान दिएको छ । हेर्दा सामान्य लाग्ने तर महत्वपूर्ण निर्णयले उनको योग्यता र क्षमताको कोशीमा मल्याङ्कन भएको छ । काम भन्दा पनि नेता र मन्त्रीको “धुपौरे” बनेर नेतृत्वमा पुग्न चाहनेहरूले डा सुधाबाट एक दुई कुरा भएपनि सिक्न जरुरी भएको अधिकारीहरू बताउँछन् । कतिपयले डा सुधाको निर्णय र कमान्ड देखेर प्रदेशको भन्दा पनि संघको नेतृत्व गर्न सल्लाह दिने गरेका छन् । 

सचिव सुधाको एउटा निर्णय भने संघीय स्वास्थ्य मन्त्रालयले पनि तत्काल स्वीकार गरेर जानुपर्ने देखिन्छ । उनले कोशीका सबै सरकारी अस्पतालमा दोभाषेको व्यवस्था गरेकी छन् । विशेषगरी बोल्न नसक्ने र नसुन्नेहरुका लागि सांकेतिक आवश्यक पर्छ । उनीहरूको स्वास्थ्य उपचारमा चरम समस्या हुने भएकाले सचिव देवकोटाले १५ वटा अस्पतालमा दोभाषे राख्ने निर्णय गरेकी छन् । 

चुनौतीका बारेमा के भन्छिन् सुधा

प्रदेशका कर्मचारीमा सङ्घबाट आएका मान्छेले काम नगरी एक दुई दिनमा फर्किन्छन् भन्ने सोच राखेको देखियो । तर, मैले उनीहरूको सोचमा परिवर्तन ल्याउनु पर्छ भन्ने ध्येयका साथ काम गरे । 

हामी चिकित्सकले बिरामी उपचार गर्दा नाता, रूप, रङ्ग कहिल्यै हेरिँदैन । मान्छे कसरी बचाउँने भन्ने बाहेक अरु केही मनमा हुदैन । त्यसैले हामी जहाँ गएर काम गरेपनि सचिव हो, काम गर्नु पर्छ भन्ने सोच हुन्छ । यसमा प्रदेश, संघ भन्ने सोच आउँदैन । यत्र, तत्र सर्वत्र महिलाले काम गर्न सक्दैनन् भन्ने सोचको विकास भएको छ । आफूले जहाँ पनि प्रमाणीत गर्दै हिड्न निकै कठिन रहेछ । बिस्तारै प्रमाणित गर्दै अगाडि बढिरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## Koshi Province, ##Dr Sudha Devkota, ##mohp nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com