स्वास्थ्यमा बेथिति

विशाल पण्डितसँगको सेटिङमा आर्थिक वर्षकाे अन्त्यमा ८ करोडको अल्ट्रासाउण्ड खरिद हुँदै, एक करोड बढी घोटाला !


काठमाडौं । मेडिकल क्षेत्रमा माफियाका रुपमा परिचित विशाल पण्डितको सेटिङमा फेरि ५० वटा अल्ट्रासाउण्ड खरिद हुन लागेको खुलासा भएको छ । आगामी ३० गतेबाट यो आर्थिक वर्ष २०७८/७९ को बजेट फ्रिज हुँदैछ । स्वास्थ्य लाइभले पाएको सूचना अनुसार अल्ट्रासाउण्डको टेन्डर २७ गते खुल्दैछ । असार मसान्तमा भएपनि स्वास्थ्य मन्त्रालयले माफिया पण्डितलाई कति माया गर्छ भन्ने कुरा स्पष्ट भएको छ ।

मन्त्रालय र विभागका कर्मचारी असार अन्तिममा किन ज्यान फालेर पण्डितको पछाडि दौडिएका छन् । त्यसको सहज जवाफ छ, कतै टेन्डर पाएबापत पण्डीतले घर खर्च हेर्छन् की !

स्वास्थ्य सेवा विभागले केही दिन अगाडि मात्रै १७८ वटा अल्ट्रासाउण्ड प्रदेश नम्बर ६ र प्रदेश नम्बर २ मा एउटै प्रयोजनका लागि खरिद गरेको थियो । उक्त मेसिनको प्रतिपिस १३ लाख ८४ हजार ४१ रुपैयाँ परेको थियो । तर, अहिले पण्डितसँग सूदूरपश्चिम प्रदेशका लागि सोही प्रकृतिको ५० वटा अल्ट्रासाउण्ड सिंगलप्रोब प्रति पिस १६ लाखका दरले खरिद गर्न लागिएको छ । यसरी हिसाब गर्दा प्रतिपिस अघिल्लोमाभन्दा २ लाख १५ हजार ९५९ रुपैयाँ बढी हालेको देखिन्छ । यसलाई आधार मान्दा दुई महिनाको बिचमा १ करोड भन्दा बढी खान खोजिएको छ । यसमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहको चलाखीपूर्ण सेटिङ रहेको अधिकारीहरुले बताएका छन् ।

पण्डितले स्वास्थ्यमन्त्री, सचिवलगायत उच्च अधिकारीलाई पटकपटक आफूलाई कुनै काम नदिएको भन्दै शक्तिकेन्द्रमा गएर दबाब दिने काम गरिरहेको अधिकारीहरु बताउँछन् । ‘माथिको’ दबाब थेग्न नसकेरै मन्त्रालय र विभागका कर्मचारीले आर्थिक वर्षको अन्त्यमा आवश्यकताबिनै ५० वटा अल्ट्रासाउण्ड खरिदका लागि टेन्डर आह्वान गरेको खुल्न आएको छ । यति छोटो अवधिमा एकै प्रकृतिका सामान फरकफरक रकम राखेर टेन्डर गरिनु बदनियत देखिन्छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गरेर ठुलो रकमको चलखेल रोक्नुपर्ने स्वास्थ्य मन्त्रालय कै अधिकारीहरुको माग रहेको छ ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाले मिति ०७९ जेठ २८ गते ३० दिनको म्याद राखी सुदूरपश्चिम प्रदेशका लागि भन्दै ५० वटा अल्ट्रासाउण्ड मेसिन खरिदको टेन्डर आह्वान गरेको थियो । विभिन्न दबाबमा विभागले विगतमै विवादित बनेर मुद्दामा रहेको पोर्टेबल अल्ट्रासाउण्ड ५० थान खरिद गर्न प्रक्रिया अगाडि बढाएको हो । यो खरिद जनताको हितमा थिएन र छैन । विशुद्ध मेडिकल माफिया पण्डितलाई खुसी बनाउने कडीका रुपमा यो टेन्डरलाई लिइएको छ । विगतमा ८८ वटा अल्ट्रासाउण्ड मेसिन पनि पण्डितले सुदूरपश्चिममा खरिद गरेर ल्याएका थिए । विवाद हुँदाहुँदै पनि चार वर्ष अगाडि महँगोमा खरिद गरेर ल्याएको अल्ट्रासाउण्डको मुद्दा अझै टुगिंएको छैन । स्वास्थ्यका अधिकारीहरुले भनेका छन्, ‘अन्य प्रदेशमा अल्ट्रासाउण्ड दिन छाडेर फेरि किन त्यही सुदूरपश्चिममा दिन खोजियो यो रहश्यमय छ ।’,

फिलिप्स कम्पनीको लुमफाइ मोडलको अल्ट्रासाउण्ड खरिदका लागि नेपालको आधिकारिक डिलर विशाल पण्डितको हस्पिटेक प्राली हो । ५० वटा अल्ट्रासाउण्ड खरिदमा सोही कम्पनीलाई मात्रै मिल्नेगरी ६ वटा लक स्पेक राखिएको छ ।

माधव नेपालका अति प्रिय मानिएका पण्डितकै लागि जेठ २८ मा खरिद प्रक्रिया अगाडि बढाइएको हो । यो अल्ट्रासाउण्ड उपकरण खरिद सेवाका लागि हैन अनियमितताकै लागि हो भन्ने बलियो आधार छ । किनभने असार २७ गते यसको बिडिङ डेट र बिड ओपनिङ रहेको छ । सोही दिन प्राविधिक मूल्याङ्कन भएमा पनि ७ दिनको आशयको सूचना दिनुपर्ने हुन्छ । उक्त सात दिन हिसाब गर्दा साउन ३ गते पुग्छ । त्यसैले यो टेन्डर खोल्नुको मक्सत जानाजान अनियमितता हो । मेडिकल माफिया विशाल पण्डितसँगको सेटिङमा स्वास्थ्य सेवा विभागले ८ करोड बढी मूल्य पर्ने ५० वटा अल्ट्रासाउण्ड उपकरण किन्न लागेको हो । पहिला किनेका अल्ट्रासाउण्ड उपकरणभन्दा प्रति पिस २ लाख १५ हजार बढी हाल्दा १ करोड ७ लाख बढी पर्ने देखिन्छ । यो कमसल भएकाले १ करोड ७ लाख त सीधै घोटाला भएको अनुमान लगाउने आधार छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com