‘एक्सिडेन्टल’ मुख्यसचिव एकनारायण अर्याल सिआईबीको हिरासतमा
समाचार टिप्पणी
काठमाडौं। ‘एक्सिडेन्टल’ मुख्यसचिव एकनारायण अर्याल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा पुगेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुँदा बिचौलिया कैलाश खड्कासँग मिलेर मलेसिया काण्ड घटाएका अर्याल सिआईबीको हिरासतमा पुगेका हुन्। उनले गृहसचिवदेखि सिआईबीको हिरासतसम्मको अनुभव लिन पाएका छन्।
२०८१ भदौं १३ गते मुख्यसचिव बनेका अर्याल १५ महिना चलाएर अनिवार्य अवकाशमा गएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भूषण राणाको सेटिङबाट मुख्यसचिव बनेका अर्याल निजामती प्रशासनलाई नै बद्नाम गराएर घर गएका हुन्।
बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा नलागेको भए एकनारायण मुख्यसचिव नभई २०८१ फागुनमै घर जाने थिए। बैकुण्ठलाई भ्रष्टाचार मुद्दा लागेपछि लिलादेवी गड्तौलासँग साँठगाँठ गरेर ‘एक्सिडेन्टल’ मुख्यसचिव बनेका एकनारायणले निजामती प्रशासनलाई ‘एक्सिडेन्ट’ गराएर सेवानिवृत्त भएका थिए। अहिले मलेसिया काण्डमा उनी अर्को ‘एक्सिडेन्ट’मा परेका छन्।
२०२४ साल मंसिर १० गते स्याङजामा जन्मिएका अर्याल मुख्यसचिव भएपछि गृह जिल्ला पुग्दा निकै विवादित बने। बाढीका कारण ललितपुरको नख्खु खोलामा नागरिकले जीवनको भिख मागिरहेको बेला अर्याल स्याङ्जाको आँधिखोलामा पञ्जेबाजा र अविरजात्रामा रमाइरहेका थिए। उनी बेप्रवाह, गैरजिम्मेवार र निर्लज्ज मुख्यसचिव बनेर देखापरे।
अवकाशपछि संवैधानिक नियुक्ति खान ‘कुलिङ अफ पिरियड’को विरोध गर्न उनी सचिवहरूको जुलुस लिएर हिँडेका थिए। कृष्णहरि पुष्कर कर्ण र शोभाकान्त पौडेललाई दायाँबायाँ लगाएर ‘कुलिङ अफ पिरियड’को विरोधमा भिभिआईपीको ढोका चाहार्दै हिँडेका मुख्यसचिव अर्यालको स्वार्थका कारण संघीय निजामती सेवा कानुन ‘कोमा’मा पुग्यो। ट्रेड युनियनको नेताजस्तै गरी मैदानमा उत्रिएका अर्याललाई संसदीय छानबिन विशेष समितिले समेत दोषी ठहर गऱ्यो। तर, उनी आफै मुख्यसचिव भएकाले उक्त प्रतिवेदन ‘जेन-जी’ सरकारले समेत फेला नपार्ने गुपचुप अवस्थामा पुऱ्याइदिए।
‘कुलिङ अफ पिरियड’मा परेड खेल्दा पार नलागेपछि आफ्नो जागिर १ वर्ष लम्ब्याउन मुख्यसचिव अर्यालले निकै चलखेल गरे। ‘जेन-जी’ पुस्ताको आन्दोलनले संसद् नै उडाइदिएपछि उनको योजना चकनाचुर भयो। संघीय निजामती सेवा कानुन नआउनुमा अर्यालको स्वार्थले ठूलो भूमिका खेलेको छ। हरेक चलखेलका बाबजुद अर्याल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान बाध्य भए।
ओली निकट बनेर काम गरेका अर्याल ‘जेन-जी’ सरकारमा पनि उत्तिकै चलखेलमा लागे। जेनजी आन्दोलनपछि बनेको सरकारको प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठसँग सेटिङ मिलाएर जागिर जोगाए। मुख्यसचिव अर्यालले युवराज अधिकारीसँग सेटिङ गरेर छोरी डा. अस्मितालाई नेपाल वायु सेवा निगममा करारमा जागिर लगाएको कुरा सार्वजनिक भयो। उनले आदर्शकी श्रीमतीलाई पनि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा जागिर खुवाए ‘तै चुप मै चुप’को अवस्थामा पुऱ्याइदिए। आदर्शसँग मिलेर वायु सेवा निगममा युवराजलाई पुनर्नियुक्ति गराउन सेटिङ मिलाएपनि चौतर्फी दबाबले गर्दा उनीहरूको डिजाइनले फेल खायो।
कैलाश खड्काको अदृश्य ‘पार्टनर’ भनिएका अर्यालले कृष्णहरि पुष्कर कर्णलाई श्रम सचिव बनाएर वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गराउन सफल भएका थिए। उक्त विषय अझै पनि सेलाएको छैन। २०७८ मंसिरदेखि २०८० जेठसम्म साढे १७ महिना श्रम सचिव बनेका अर्याल त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, गृहसचिव हुँदै मुख्य सचिव बनेका थिए। उनको मुख्यसचिवसम्मको यात्रामा कैलाश खड्काको ठूलो सहयोग रहेको बताइन्छ। एकनारायण मुख्य सचिव हुँदा पुष्करलाई श्रममा पठाएर आफू उक्त मन्त्रालयको सचिव हुँदा संलग्न रहेका महत्त्वपूर्ण कागजात समेत गायब बनाएको आरोप उनीमाथि लाग्दै आएको छ। उक्त विषयलाई पनि गम्भीरतापूर्वक लिएको पाइन्छ। एकनारायण सिआईबीको हिरासतमा पुग्दा पुष्कर भने ‘सिनमा’ देखिँदैनन्।
मंसिरमा जन्मिएका एकनारायण मंसिरमै श्रम सचिव भएका थिए। मंसिरमै मुख्यसचिवबाट अवकाशमा गएका उनले एक वर्षपछि मंसिरमै पक्राउ खाएका छन्।
मलेसिया काण्डमा पर्ने भएपछि रातारात लापत्ता भएका एकनारायण अन्ततः प्रहरीको फन्दामा परेका छन्। तुलनात्मक रूपमा ‘सोझा’ ठानिएका तत्कालीन श्रम मन्त्री शेरबहादुर कुँवरलाई दुरूपयोग गरेर अहिलेको हालतमा पुऱ्याउन पनि तत्कालीन सचिव एकनारायणले नै भूमिका खेलेको चर्चा छ। काठमाडौंको सिडिओ हुँदै कोलकाताका महावाणिज्यदूत बनेका एकनारायणलाई केही समय उतै लुक्न सजिलो भएको थियो। तर, उनले पक्राउ खाइसकेका छन्। बालेन सरकारको सुशासनको अभियानलाई छल्न खोजेका एकनारायण अन्ततः फेला परेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #एकनारायण अर्याल


तपाईको प्रतिक्रिया दिनुहोस