डा. प्रमोद जोशीको अनुसन्धानमा नैतिक स्वीकृतिदेखि अनुसन्धान विधिसम्म प्रश्न, सरकारको सुशासनको प्रतिबद्धतामाथि चुनौती: छानबिनको माग


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्य–सचिव पदका आकांक्षीहरूमध्ये डा. प्रमोद जोशी नेपाली कांग्रेसको कोटामा परेको चर्चा छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सेटिङमा अनुसन्धान दुराचारको आरोप लागेका जोशीलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य–सचिव तथा नेपाल मेडिकल काउन्सिलमा नेकपा (एमाले) का तर्फबाट डा. कृष्ण अधिकारीलाई नियुक्त गराउने खेल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

“भागबण्डा गर्ने उद्देश्यले विवादास्पद र अर्का  गरि यी दुई जनाको नाम अगाडि आएको सुनिएको छ। हामी यस विषयमा स्वास्थ्यमन्त्रीसँग पनि जवाफ माग्नेछौँ,” एक अधिकारीले भने।

“यद्यपि यो विषय अझै पुष्टि भइसकेको छैन। त्यसैले हामी पनि विभिन्न निकायसँग यसबारे गहन रूपमा बुझ्ने काम गरिरहेका छौँ,” ती अधिकारीले बताए।

नेपाली कांग्रेसनिकट चिकित्सकहरूको संगठनका पदाधिकारीसमेत रहेका डा. जोशी यतिबेला विवादमा तानिएका छन्। उनका विभिन्न अनुसन्धानमूलक लेखहरूमा अनुसन्धान दुराचारसम्बन्धी आरोप लागेका छन्।

उनले एकल लेखकका रूपमा प्रकाशित गरेको एउटा अनुसन्धान लेखलाई लिएर अनुसन्धानको विश्वसनीयता र अनुसन्धान नैतिकतासम्बन्धी विषयमा अनुसन्धान विज्ञहरूले यतिबेला  विभिन्न प्रश्न उठाएका छन्।

वैज्ञानिक समुदायका अनुसन्धानकर्ताले डा. जोशीको सन् २०२१ मा जर्नल अफ नेपाल मेडिकल एसोसिएसनमा प्रकाशित ‘Hospital Stay of Orthopedic Cases in a Tertiary Care Hospital: A Descriptive Cross–sectional Study’ शीर्षकको लेखमा नैतिक स्वीकृति, अनुसन्धान विधि, लेखकत्व र प्रतिवेदनको प्रस्तुतीकरणसँग सम्बन्धित असंगति रहेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन् ।

अनुसन्धान दुराचार (Research Misconduct) लाई सामान्यतः अनुसन्धानका क्रममा तथ्य तोडमोड गर्ने (Falsification) वा साहित्यिक चोरी (Plagiarism) का रूपमा परिभाषित गरिन्छ । तर अनुसन्धान विज्ञहरूका अनुसार अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठाउने अन्य गम्भीर विषयहरु पनि अनुसन्धान इमानदारीसँग जोडिएका विषय हुन् ।

नैतिक स्वीकृतिमै फरक–फरक विवरण
सम्बन्धित लेखको Abstract मा जोशीले अध्ययनका लागि सेती प्रादेशिक अस्पतालको Institutional Review Committee (IRC) बाट नैतिक स्वीकृति प्राप्त गरिएको उल्लेख गरिएको छ । तर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आधिकारिक वेबसाइटमा रहेको स्वीकृतिप्राप्त संस्थागत समीक्षा समितिहरू (IRC) को सूचीमा सेती प्रादेशिक अस्पतालको त्यस्तो समिति छैन ।

अधिकारीहरुले यसबाहेक अस्पतालका सम्बन्धित अधिकारीसँग गरिएको टेलिफोन संवादमा पनि त्यस्तो समिति नरहेको जानकारी प्राप्त भएको उल्लेख गरेका छन् । यस कारण लेखमा उल्लेख गरिएको नैतिक स्वीकृतिको विवरणको सत्यतामाथि प्रश्न उठेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

उही लेखमा दुई फरक नैतिक स्वीकृति
यसै लेखको Methods भागमा भने अध्ययनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को Ethical Review Board बाट Reference No: १६०४ अन्तर्गत स्वीकृति लिएको उल्लेख गरिएको छ ।

 

एउटै अनुसन्धानको सारांश र मुख्य विधि भागमा फरक–फरक नैतिक स्वीकृतिको विवरण हुनु असामान्य हो । यसलाई पनि अनुसन्धान विज्ञहरूले वास्तविक स्वीकृति कुन हो भन्ने विषय अस्पष्ट भएको भन्दै प्रश्न उठाएका मात्र छैनन् स्पष्ट हुनुपर्ने बताएका छन् । यस्ता गम्भिर विषयमा स्वीकृतिपत्रको मिति, विवरण तथा अभिलेखको स्वतन्त्र परीक्षण गर्नुपर्ने उनीहरूको धारणा छ ।

एकल लेखक, तर लेखभरि ‘हामी’
लेख एकल लेखकका रूपमा प्रकाशित भए पनि विभिन्न स्थानमा ‘ our study’ र ‘ we studied ’ जस्ता शब्द प्रयोग गरिएको छ । कतिपय विज्ञले एक व्यक्तिले पनि ‘our study’ र ‘we studied’ जस्ता शब्द प्रयोग गर्न सक्ने बताएका छन् तर, यस्तो अवस्थामा अनुसन्धानमा अन्य व्यक्तिको महत्वपूर्ण योगदान थियो वा थिएन भन्ने विषय स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् । अनुसन्धान क्षेत्रका विज्ञ भन्छन् यदि अन्य व्यक्तिको उल्लेखनीय योगदान थियो भने लेखकत्वसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिएको थियो कि थिएन भन्ने प्रश्न उठ्न सक्छ ।

Census अध्ययनमा किन Sample Size Calculation?
अर्को शंकास्पद गतिविधि भनेको लेखमा एक वर्ष अवधिभर भर्ना भएका सबै योग्य बिरामीलाई अध्ययनमा समेटिएको अर्थात् Whole Sampling  (Census) अपनाइएको उल्लेख गरिएको छ । तर त्यससँगै Sample Size Calculation  पनि प्रस्तुत गरिएको छ ।
अनुसन्धान विज्ञहरू भन्छन् सम्पूर्ण जनसंख्या समेटिएको  Census अध्ययनमा सामान्यतया छुट्टै Sample Size Calculation  आवश्यक पर्दैन। त्यसैले यो विवरण किन समावेश गरियो भन्ने गम्भिर छ ।

सम्पादकीय प्रक्रियामाथि पनि प्रश्न
JNMA नेपालकै प्रतिष्ठित, Peer–reviewed तथा Indexed चिकित्सा जर्नलका रूपमा परिचित छ । यद्यपि एउटै लेखभित्र देखिएका यी असंगतिहरूले समीक्षा (Peer Review) प्रक्रिया पर्याप्त रूपमा सम्पन्न भएको थियो वा थिएन भन्ने प्रश्न उठाएको छ ।
हुनत डा. जोशी नेपाल मेडिकल एसोसिएसनसँग आबद्ध भएकाले त्यसले सम्पादकीय प्रक्रियामा प्रत्यक्ष प्रभाव परेको हुनुपर्छ । त्यसैले जोशीका लेखमा अनुसन्धानकर्ताले कुनै प्रभाव पारेको थियो कि थिएन भन्ने प्रश्न पनि उठाएका हुन् ।

अनुसन्धानकर्ताहरूले डा. जोशीका अन्य पहिलो लेखकका लेखहरू पनि JNMA मै प्रकाशित भएको उल्लेख गर्दै त्यसबारे पनि पारदर्शी समीक्षा आवश्यक रहेको बताएका छन् । यद्यपि एउटै जर्नलमा धेरै लेख प्रकाशित हुनु मात्रै अनियमितताको प्रमाण भने होइन ।

निष्पक्ष छानबिनको माग
अनुसन्धान विज्ञहरूका अनुसार राष्ट्रिय अनुसन्धान नियामक निकायको नेतृत्व गर्ने पदमा पुग्ने व्यक्तिबाट उच्चतम अनुसन्धान नैतिकता, पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरिन्छ ।

त्यसैले डा. जोशीको उक्त अनुसन्धान लेखसँग सम्बन्धित उठाइएका प्रश्नहरूको स्वतन्त्र, निष्पक्ष र प्रमाणमा आधारित छानबिन आवश्यक रहेको उनीहरूको भनाइ छ । शुसासनको जगमा बनेको बालेन सरकारेल स्वास्थ्यमन्त्रीको सेटिङ भत्काउने मात्र हैन नेपाल स्वास्थ्य अनुसन्धान परिषद् जस्तो निकायमा निस्कलंक व्यक्तिको प्रवेशमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ