रूद्रसिंह तामाङ: उपसचिवमा श्रीमान कृष्णहरिसँग सिफारिस, सचिवमा श्रीमती आभासँग सिफारिस


काठमाडौं। सचिव बढुवाका लागि सिफारिस भएका रूद्रसिंह तामाङलाई एउटा संयोग जुरेको छ। उनी उपसचिव र सचिव सिफारिसमा श्रीमान र श्रीमतीसँग परेका छन्। उपसचिव सिफारिसमा श्रीमान कृष्णहरि कर्णसँग परेका रूद्रसिंह, सचिव बढुवामा श्रीमती आभा श्रेष्ठ कर्णसँग परेका हुन्।

२०६६ सालमा आदिवासी/जनजाति कोटाबाट रूद्रसिंह नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव भएका थिए। रूद्रसिंह उपसचिवमा सिफारिस हुँदा मधेशी कोटाबाट सँगै कृष्णहरि पुष्कर कर्ण नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिवमै सिफारिस भएका थिए। त्यसको १७ वर्षपछि रूद्रसिंह सचिव बढुवाका लागि उनकी श्रीमती आभासँग सिफारिसमा परेका हुन्।

रूद्रसिंहसँगै उपसचिव भएका कृष्णहरि ५ वर्ष सचिव चलाएर घर गइसकेका छन्। कृष्णहरि घर गएपछि रूद्रसिंहको बल्ल सचिव बन्ने पालो आएको छ। सचिवमा सिफारिस हुँदा भने रूद्रसिंह कृष्णहरिको श्रीमती आभासँगै परेका हुन्। रुद्रसिंह सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस हुँदा आभा दोस्रो नम्बरमा उनलाई पछ्याइरहेकी छिन्।

२०७१ साल फागुनमा एकैदिन रूद्रसिंह तामाङ आन्तरिक प्रतिस्पर्धाबाट र आभा मधेशी कोटाबाट सहसचिव भएकी हुन्। पहाडी नेवार समुदायमा जन्मिएकी आभाले मधेशी समुदायका कृष्णहरिसँग बिबाह बन्धनमा बाँधिएपछि मधेशी कोटाको उपयोग गरेकी हुन्। श्रीमानले जस्तै मधेशी कोटाबाट सहसचिवमा लाभ लिएकी आभालाई बल्ल मधेश प्रदेशमा गएर उक्त समुदायको सेवा गर्ने मौका मिलेको छ। सचिव बढुवाको सिफारिसमा परेकी आभा अहिले मधेश प्रदेशमै सरूवा भएकी छिन्। उनलाई सचिव बनेपछि पनि उक्त प्रदेशमा सेवा गर्ने अवसर प्रदान गर्ने सके मधेशी समुदायको हित हुने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #आभा श्रेष्ठ कर्ण (महिला/मधेशी), #कृष्णहरि पुष्कर कर्ण, #रूद्रसिंह तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ