५५ वर्षे अवकाश प्रस्तावमा स्वास्थ्य क्षेत्रलाई छुट! केही पक्षबाट समेट्न दबाब जारी


काठमाडौं । सरकारले संघीय निजामती सेवामा रहेका पुराना कर्मचारीको व्यवस्थापन गर्न ५५ वर्ष उमेर पुगेका तथा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिनेगरी संघीय निजामती विधेयकमा व्यवस्था प्रस्ताव गरेको छ। उक्त व्यवस्था लागू गर्न साँझबिहान भाछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रायका लागि कानुन मन्त्रालय पठाएको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था पारित भएर कार्यान्वयन भए ५५ वर्ष उमेर पुगेका र ३० वर्ष सेवा अवधि पूरा गरेका ठूलो संख्याका कर्मचारी अवकाशमा जानेछन्।

तर, स्वास्थ्य सेवामा भने हाल यस्तो व्यवस्था लागू नगर्ने तयारी रहेको अधिकारीहरू बताउँछन्। स्वास्थ्य क्षेत्रमा लामो अनुभव हासिल गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको विशेषज्ञता र जनशक्ति अभावलाई ध्यानमा राख्दै तत्कालका लागि स्वास्थ्य सेवालाई यस व्यवस्थाबाट अलग राख्ने विषयमा छलफल भइरहेको उनीहरूको भनाइ छ।

यद्यपि, स्वास्थ्य सेवामा समेत ५५ वर्षे उमेर वा ३० वर्षे सेवा अवधिको प्रावधान लागू गर्नुपर्ने भन्दै केही व्यक्तिले जोड गरिरहेको अधिकारीहरूको भनाइ छ। अहिलेको गृहकार्यअनुसार स्वास्थ्यलाई नसमेट्ने देखिए पनि विधेयक पारित हुने क्रममा व्यवस्था परिवर्तन हुन सक्ने भएकाले अन्तिम निर्णय भने बाँकी छ।

स्वास्थ्य क्षेत्रमा समेत यस्तो व्यवस्था लागू भए लामो समयदेखि सेवा दिइरहेका विज्ञ चिकित्सक र अनुभवी स्वास्थ्यकर्मी ठूलो संख्यामा एकैपटक सेवाबाट बाहिरिने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

विशेषगरी विशेषज्ञ चिकित्सक तयार हुन लामो समय लाग्ने भएकाले अनुभवका आधारमा जिम्मेवारी सम्हालिरहेका जनशक्तिलाई एकैपटक हटाउँदा स्वास्थ्य सेवामा त्यसको प्रत्यक्ष असर पर्न सक्ने सरोकारवालाको भनाइ छ।

त्यसैले निजामती सेवामा अवकाशको समान व्यवस्था लागू गर्ने विषयमा स्वास्थ्य सेवाको प्रकृति, विशेषज्ञ जनशक्तिको उपलब्धता र सेवाग्राहीमा पर्ने प्रभावलाई छुट्टै आधारमा मूल्यांकन गर्नुपर्ने देखिन्छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ