भेष भुर्तेल भ्रष्टाचारमा डामिदा सहसचिवमा दामोदरको ‘भाग्य’ चम्कियो!
काठमाडौं। लेखा उपसचिव भेषप्रसाद भुर्तेल भ्रष्टाचारमा डामिदा सहसचिवमा दामोदर खत्रीको ‘भाग्य’ चम्किने देखिएको छ। खत्रीभन्दा दुईदिन अगाडि उपसचिव भएका भुर्तेल इ-पासपोर्ट घोटालामा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि उनको ठाउँमा खत्रीले ‘इन्ट्री’ मार्ने देखिएको हो।
लोक सेवा आयोगले नेपाल प्रशासन सेवाको सहसचिवमा १० ‘सिट’मा विज्ञापन खुलाएको छ। जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा ५ सिट र कार्यक्षमताका आधारमा गरिने बढुवामा ५ सिट मागिएको हो। सहसचिवमा बढुवाका लागि लेखा उपसचिव दामोदर खत्रीले लास्टमा इन्ट्री मार्ने देखिन्छ। कार्यक्षमताका आधारमा हुने बढुवामा खत्रीले अन्तिम सिटमा आफूलाई सुरक्षित बनाउने सतप्रतिशत सम्भावना छ।
उपसचिवहरूको विवरण हेर्दा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा हुने बढुवाका लागि मोहनशरण भण्डारी, तीर्थप्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल अग्रपङ्क्तिमा छन्। त्यस्तै कार्यक्षमताको मूल्याङ्कनद्वारा सहसचिवमा हुने बढुवाका लागि राजेन्द्रप्रसाद आचार्य, आत्माराम सत्याल, प्रदर्शनी कुमारी, गोमादेवी चेम्जोङ र दामोदर खत्री प्रतिस्पर्धी देखिएका हुन्। उपसचिव भुर्तेल निलम्बनमा नपरेको भए खत्री कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने सहसचिव बढुवाको प्रतिस्पर्धाबाट आउट हुने थिए। तर, भुर्तेल निलम्बनमा परेकाले खत्रीको ‘भाग्य’ चम्किने अवस्था आएको हो।
निलम्बित उपसचिव भुर्तेल आन्तरिक प्रतिस्पर्धाबाट २०६९ साल वैशाख ११ गते सहसचिव भएका थिए। भुर्तेलसँगै लेखा उपसचिव भएका लक्ष्मीप्रसाद निरौल र केशवराज सुवेदी लेखर सहसचिव भइसकेका छन्। निरौला ल्हासाको महावाणिज्यदूत र सुवेदी राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत छन्। उक्त ‘ब्याच’का लेखा उपसचिवमा भुर्तेल मात्र सहसचिव बन्न बाँकी देखिन्छन्। तर भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि भुर्तेलले मुखैमा आएको सहसचिव पद गुमाउने भएका हुन्। उनीभन्दा दुईदिनपछि २०६९ बैशाख १३ गते खुला प्रतिस्पर्धाबाट लेखा उपसचिव भएका दामोदर खत्रीले सहसचिवका लागि भुर्तेलको स्थानमा आफूलाई सुरक्षित राख्ने निश्चित जस्तै भएको छ।
ई-पासपोर्टको मुद्दा कुनै हालतमा पनि एक महिनाभित्र टुंगो लाग्ने देखिँदैन। धेरै प्रतिवादी र गम्भीर प्रकृतिको मुद्दा भएकाले अदालतले मुद्दा फैसला गर्न ३/४ महिनै समय लगाउँछ। हप्तामा दुई बिदा भएकाले पनि उक्त मुद्दा टुंग्याउन त्यति सहज छैन। सहसचिव बढुवाका लागि एक महिनाभित्र असोजभित्रै दरखास्त फाराम भरिसक्नु पर्ने हुन्छ। भुर्तेलले उक्त ‘चान्स’ नपाउने देखिन्छ। भुर्तेल रोकिएसँगै सहसचिव खत्रीका लागि ‘लोटरी’ पर्ने अवस्था आएको हो। ‘घिउ कहाँ पोखियो भातको थालमा’ भनेजस्तै सहसचिवमा भोजपुरे भुर्तेलको ठाउँ भोजपुर कै खत्रीले लिने भएका हुन्।
ट्याग : #दामोदर खत्री, #भेषप्रसाद भुर्तेल


तपाईको प्रतिक्रिया दिनुहोस