कोशी प्रदेशको प्रमुख सिफारिस गर्ने तयारी, अन्य प्रदेशमा के होला?
काठमाडौं। सरकारले कोशी प्रदेशको प्रदेश प्रमुख सिफारिस गर्ने तयारी गरिरहेको छ। आगामी मन्त्रिपरिषद्को बैठकले रिक्त कोशी प्रदेशको प्रमुख सिफारिस गर्ने गृहकार्य गरिरहेको हो।
कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ ५ वर्षे कार्यकाल सकाएर घर गएसँगै कोशी प्रदेश प्रमुखविहीन अवस्थामा छ। बालेन्द्र शाह नेतृत्वको सरकारलाई प्रदेश प्रमुख सिफारिस गर्ने अवसर जुरेको हो। कोशी बालेनले निर्वाचन जितेको प्रदेश भएकाले प्रदेश प्रमुख सिफारिस चासोका साथ हेरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्ति गर्ने व्यवस्था छ। उक्त प्रावधानलाई टेकेर सरकारले प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरिरहेको हो।
सरकारले अन्य प्रदेशमा पनि प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गर्ने सम्भावना छ। प्रदेश प्रमुखमा कांग्रेस-एमालेका नेता व्यवस्थापन गरिएकाले सरकारले अन्य प्रदेशका प्रदेश प्रमुख पनि फेरिने सम्भावना देखिन्छ।
हाल मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण, बागमती प्रदेश प्रमुखमा दिपकप्रकाश देवकोटा, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँ रहेका छन्।
कर्णलाई एक वर्ष अगाडि सुशीला कार्की नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाएको हो। २०८० फागुनमा गण्डकीका प्रदेश प्रमुख डिल्लीरत्न भट्ट र सुदूरपश्चिम प्रदेशका नजिर मियाँ नियुक्त भएका थिए। उनीहरूसँगै मधेश प्रदेशको प्रमुखमा नियुक्त भएकी सुमित्रा भण्डारीले सरकार गठनमा अनुचित कार्य गरेपछि कार्की नेतृत्वको सरकारले पदमुक्त गरेर कर्णलाई प्रदेश प्रमुख बनाएको हो। भट्ट र मियाँ नेकपा एमालेका नेता हुन्।
बागमतीका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ती र कर्णालीका यज्ञराज जोशी २०८१ साउन १६ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए। कांग्रेस-एमाले संयुक्त सरकारले उनीहरुलाई प्रदेश प्रमुख नियुक्त गरेको हो। देवकोटा नेकपा एमालेका नेता तथा घर्ती र जोशी कांग्रेसका नेता हुन्। सरकारलाई पार्टीले प्रदेश प्रमुखमा नियुक्त गरेका यिनीहरूलाई हटाएर प्रतिष्ठित व्यक्तिहरूलाई प्रदेश प्रमुख बनाउने अवसर आएको छ। कोशीको प्रदेश प्रमुख सिफारिस गर्दा अन्य प्रदेशमा पनि पुराना दलले व्यवस्थापन गरेका नेतालाई हटाएर उपयुक्त व्यक्तिलाई प्रदेश प्रमुख बनाउदा उपयुक्त हुने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस