बागमतीमा संघबाट पठाएका सचिवलाई प्रदेशका एघारौं तहले गर्न थाले विस्थापित
काठमाडौं। बागमती प्रदेशमा संघबाट पठाएका सचिवलाई प्रदेशका एघारौं तहले विस्थापित गर्न थालेका छन्। बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा प्रदेशका एघारौं तह खुबिराम अधिकारीले संघबाट पठाएका डा. सुमित्रा गौतम र गीताकुमारी होमेगाईलाई सचिवबाट विस्थापित गरेका हुन्।
पहिला स्वास्थ्य र सामाजिक विकास अलगअलग मन्त्रालय हुँदा सुमित्रा स्वास्थ्य र गीता सामाजिक विकास मन्त्रालयको सचिवको भूमिकामा रहेका थिए। उक्त दुई मन्त्रालय ‘मर्ज’ भएर स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय बनेपछि एउटै मन्त्रालयमा सुमित्रा, गीता र खुबिराम ३ जना सचिव भए। फेरि गीतालाई उद्योग तथा वाणिज्य हेर्ने गरी जिम्मेवारी तोकियो। संघीय सरकारले सुमित्रालाई संघको स्वास्थ्य तथा खाद्य स्वच्छता र गीतालाई गृह मन्त्रालय अन्तर्गत सरूवा गरेपछि स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा प्रदेशको एघारौं तहका खुविराम अधिकारी एकल सचिव हुने अवस्थामा थिए। संघबाट अवधेश मिश्रलाई प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा पठाएपछि प्रदेशका कर्मचारीले अवरोध खडा गरेका छन्। स्वास्थ्यको एघारौँ तहमा झन्डै आधा दर्जन कर्मचारी बढुवा भएकाले यसमा पनि समस्या हुने देखिन्छ।
बागमतीको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा प्रदेशका एघारौं तह दीपेन्द्र सुवेदीले एकल सचिव हुने भएका हुन्। बागमतीको नीति आयोगमा प्रदेशका ११ औँ तहका पूर्णबहादुर दर्जी संघबाट पठाउने सचिवलाई विस्थापित गरिसकेका छन्। अन्यन्त्र पनि यस्तै अवस्था आउने अवस्था देखा परेको हो।
उद्योग, पर्यटन, श्रम तथा यातायत मन्त्रालय एउटै भएपछि सुरूमा उक्त मन्त्रालयमा जीवलाल भुसाल, अनिता निरौला र दिपेन्द्र सुवेदी ३ सचिव रहेका थिए। संघीय सरकारले भुसाललाई संघको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरूवा गऱ्यो। निरौला प्रदेश लोक सेवा आयोगमा पठाएर उक्त मन्त्रालयमा संघीय सरकारले पठाएका सचिवहरू निमिट्यान्न पारिएको छ। संघले जीवलाल र गीतालाई संघमा सरूवा गरेपनि प्रदेशले एघारौं तहमा लगातार बढुवा गरिरहेको छ।
बागमती प्रदेशमा संघबाट पठाएका प्रशासन सचिवमा रामबाबु पुरी, उमेशकुमार ढकाल, महेश भट्टराई, नारायणप्रसाद मैनाली र अनिता निरौला रहेका छन्। प्रदेशले प्रशासन सेवाको एघारौं तहमा हरिहर पोखरेल र नेत्रप्रसाद भट्टाईलाई बढुवा गर्ने प्रक्रिया अघि बढाएको छ। प्रदेशका निधिराज न्यौपानेले यसअघि नै बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी पाइसकेका हुन्।
बागमतीमा रहेका प्रशासनका सचिवहरूलाई प्रदेशका एघारौं तहले विस्थापित गर्न थालेका हुन्। स्वास्थ्य, वन, कृषि, इन्जिनियरिङलगायतमा एघारौं तह तयार भइसकेका छन्। यस्तै हो भने संघबाट प्रदेशमा सचिव पठाउने ठाउँ बन्द हुने देखिन्छ। बागमतीले विस्तारै संघका सचिवहरू विस्थापित गर्ने रणनीति तय गरेको पाइन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस