नक्कली शैक्षिक प्रमाणपत्रधारीविरूद्ध आक्रामक अख्तियार, अनुसन्धानका दुई डिएसपी भ्रष्टाचारमा डामिए


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोग नक्कली शैक्षिक प्रमाणपत्रधारीविरूद्ध आक्रामक बनेको छ। पछिल्लो एक महिनामा मात्र अख्तियार नक्कली शैक्षिक प्रमाणपत्रधारी ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। मंगलबार (आज) संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सव-इन्जिनियर पद (करार) मा कार्यरत भोज बाबु सोमै मगर उपर झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको छ। योसहित अख्तियारले एक महिनाभित्र नक्कली शैक्षिक प्रमाणपत्रधारी ८ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

कार्तिक १८ गते राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) हिराबाबु भट्टराई भन्ने हिरा वावु भट्टराई उपर नक्कली/झुट्टा शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको थियो। त्यस्तै मंसिर ३ गते अख्तियार राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) रामवावू प्रसाद चौधरी उपर झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको हो। अख्तियारले १५ दिनभित्र अनुसन्धानका दुई डिएसपीविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रमा भ्रष्टाचार मुद्दा हालेको हो।

मंसिर ४ गते अख्तियारले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मझरिया, बारामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादव उपर झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको थियो। त्यस्तै मंसिर १ गते फेटा गाउँपालिका, बारामा नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत सरहको रोजगार संयोजक पदमा कार्यरत ओम प्रकाश गिरी उपर झुट्टा शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको थियो। मंसिर लागेपछि मात्र अख्तियारले ३ वटा यस्ता प्रकृतिको भ्रष्टाचार मुद्दा दायर गरेको हो।

त्यस्तै अख्तियारले कार्तिक २७ गते जिल्ला मोरङ, श्री आदर्श निकेतन आधारभूत विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र कुमार विश्वास थारु उपर झुट्टा/नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गऱ्यो। अख्तियारले कार्तिक १९ गते ज्योति माध्यमिक विद्यालय, जुम्लामा कार्यरत शिक्षक महेन्द्र राज शाही उपर नक्कली/झुट्टा स्थायी अध्यापन अनुमतिपत्र सम्बन्धी आरोपपत्र दायर गरेको थियो। कार्तिक ९ गते जिल्ला कैलाली, जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौरा थारूउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको थियो। एक महिनाभित्र अख्तियारले आधा दर्जन बढी नक्कली शैक्षिक प्रमाणपत्रधारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पहिला अख्तियारले हदम्याद गुजारेर नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गर्दा प्राविधिक कारणले हारेको थियो। जित्ने मुद्दा अनुसन्धान गरिसक्नु पर्ने समयभित्र नगरी म्याद कटाएर दायर गर्दा अख्तियार हारेको देखिन्छ। अख्तियारले उक्त प्रकरणबाट पाठ सिकेर हुनसक्छ अहिले नक्कली शैक्षिक प्रमाणपत्रधारीविरूद्ध समयभित्रै भटाभट भ्रष्टाचार मुद्दा दायर गरिरहेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ