दर्जन बढी जिल्लाका सिडिओ फेर्ने गृहको तयारी
काठमाडौं। गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेर्ने तयारी गरिरहेको छ। गृह मन्त्रालयले नयाँ भित्रिएका सहसचिव र अवधि पुगेका सिडिओको व्यवस्थापन गर्ने तयारी गरिरहेको हो।
गृह मन्त्रालय भित्रिएका ५ सहसचिव व्यवस्थापन गर्न बाँकी छ। रामेछाप, सिन्धुली, महोत्तरी, दैलेख, प्युठान र कञ्चनपुरमा सहसचिव सिडिओ पठाउनु पर्ने देखिन्छ। गृहमा भित्रिएका सहसचिवहरू दिपक लामिछाने, गिताकुमारी होमोगाईं, वीरेन्द्रकुमार मिश्र, बिमलप्रसाद बराल र शिवप्रसाद रेग्मीलाई सिडिओ बनाएर पठाउने सम्भावना छ।
त्यस्तै अवधि पुगेका चितवन, काठमाडौं, मोरङ, पर्सा, काभ्रेपलाञ्चोक, धनुषा, मकवानपुर, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लाका सिडिओ गृहको सरूवाको प्राथमिकता छन्। सामान्यतयाः गृहले एक वर्ष अवधि पूरा भएका सिडिओलाई चलाउने गरेको छ। १३ महिना पूरा हुन लागेका यी जिल्लाका सिडिओहरू सरूवा हुने जोखिममा परेका हुन्।
चितवनका सिडिओ गणेश अर्याल १५ महिना हुन लागेका छन्। जेन-जी’ आन्दोलन अगाडि नै अर्याल चितवनको सिडिओ भएर गएका हुन्। चितवनमा गृह कै कुनै महाशाखा प्रमुख सिडिओ भएर जाने उच्च सम्भावना छ। काठमाडौंका सिडिओ ईश्वरराज पौडेलको पनि १४ महिना पूरा भएको छ। अवधिका हिसाबले उनको पनि सरूवा हुन सक्छ।
मोरङका सिडिओ युवराज कट्टेल, पर्साका सिडिओ भोला दाहाल, धनुषाका सिडिओ प्रेमप्रसाद लुईंटेल, मकवानपुरका सिडिओ बसन्त अधिकारी, काभ्रेपलाञ्चोकका सिडिओ गोपालकुमार अधिकारी, बाँकेका सिडिओ दिलकुमार तामाङ, बर्दियाका सिडिओ गोगनबहादुर हमाल र कैलालीका सिडिओ हिरालाल रेग्मीको एक वर्ष अवधि पूरा भइसकेको छ। उनीहरू २०८३ कार्तिक ९ गते ति जिल्लाको सिडिओमा सरूवा भएका हुन्। अवस्था हेर्दा गृहले यो लटमा ठूलो संख्यामा सिडिओ चलाउने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस