सामान्यले उल्ट्याउन थाल्यो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरूवा


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका पठाएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरूवा उल्ट्याउन थालेको छ। ३ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरूवा सूची सार्वजनिक भएको हो।

पछिल्लो सरूवा सूची अनुसार बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदर्शनी कुमारी, बैतडीको पुर्चौडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मोहनराज जोशी र उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ईश्वरी दत्त पनेरुको सरूवा उल्टिएको छ। छोटो समयमै उनीहरू सरूवा भएका हुन्।

भदौंको पहिलो हप्ता बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएकी प्रदर्शनी कुमारी ढिला गरेर हाजिर हुन गएकी थिइन्। सरूवा भएको ३ महिना र हाजिर भएको छोटो समयमै उनको जिल्ला समन्वय समितिको कार्यालय सरूवा गरिएको छ। मधेशी कोटाबाट उपसचिव भएकी र एक/डेढ महिनामै सहसचिव हुने सूचीमा रहेकी प्रदर्शनीलाई तत्काल सरूवा नगरे ‘आकाश खस्ने’ अवस्था थिएन। सहसचिव भएपछि स्वत: पचरौताको प्रमुख प्रशासकीय अधिकृतबाट हट्ने प्रदर्शनीलाई हतारमा नुवाकोट पठाउदा सरूवा बेथिति घुसेको हो। पचरौताको प्रमुख प्रशासकीय अधिकृतमा भने पर्यटन मन्त्रालयबाट शोभाखर रेग्मीलाई पठाइएको छ।

दसैँ अगाडि मात्र बैतडीको पुर्चौडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा मोहनराज जोशी सरूवा उल्ट्याएर दाङको लमही नगरपालिका पुगेका छन्। पुर्चौडीमा श्रम मन्त्रालयबाट गुरूदत्त सुवेदीलाई पठाइएको छ। उनी श्रमका भएकाले प्रशासकीय अदालतबाट ‘स्टे-अर्डर’ ल्याएर यतै स्टे गर्ने सम्भावना उच्च छ। किनकी श्रम मन्त्रालय छिरेका कर्मचारी ‘अर्कै ग्रहमा’ पुगेको हुनाले सरकारलाई सरूवा कार्यान्वयन गर्न त्यति सहज देखिंदैन। पुर्चौडीमा जोशीभन्दा अगाडि गएका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेलले पनि ‘हाटा’ गएर केही समय काठमाडौंबाटै काम चलाएर रक्षा मन्त्रालयमा सरूवा गराउन सफल भएका थिए। उक्त नगरपालिकामा दुई महिनाको बीचमा ३ प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ईश्वर दत्त पनेरूको पनि २ महिना नपुग्दै भएको छ। असोज १२ गते त्रियुगामा हाजिर भएका पनेरू ९ दिन बसेर निमित्त दिएर काठमाडौं हिँडेका थिए। त्यसपछि फर्किएर नगएका पनेरूको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएको छ। त्रियुगाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा उद्योग मन्त्रालयबाट तारानाथ लुईंटेललाई पठाइएको हो।

रोचक पक्ष त सप्तरीको हनुमाननगर कङ्कालिनी रविन्द्रप्रसाद आचार्य कहाँ पुगे भन्ने छ। हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट उपसचिव प्रमोख सिंखडालाई पठाइएको हो। उक्त नगरपालिकामा रहेका आचार्यलाई भने कहाँ पठाइयो भन्ने कुरा गुपचुप छ। आचार्यको सरूवा रहस्यमय ढंगले भएको हो। सिंखडाको सरूवापछि मात्र उनको सरूवाको पर्दा खुलेको हो। सामान्यले ‘हाटा’ गर्नेलाई प्राथामिक दिएर सरूवा गरेको पाइन्छ।

रामेछापको मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नमिता रेग्मीलाई एक महिनामै सरूवा गरेपछि सामान्यमा छिट्टै सरूवा उल्टिने ‘रोग’ लागेको हो। उक्त रोगले अहिले गाँज्न थालेको पाइन्छ। यसले अझ विकराल रूप लिएर सुशासनलाई थला पार्ने देखिन्छ।

सामान्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी उपसचिव चन्द्रकला चौलागाईं ओलीलाई मोरङको रतुवामाइ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ। उनी स्वास्थ्यमा बसेको लामो समय भइसकेको छ। उक्त सरूवा कति टिक्छ हेर्न बाँकी छ।

सहकारी विभागका रामबहादुर शाही पुनर्वास नगरपालिका, इलामका सहायक सिडिओ राजुप्रसाद पौडेल पर्वतको फलेबास नगरपालिका, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी डोटीको दिपायल सिलगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको छ। धनुषाको नगराइन नगरपालिकामा भने श्रमबाट दिपेन्द्र पौडेललाई पठाइएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ