शुल्क पुनरावलोकन नगरी भर्ना प्रक्रिया अघि नबढाउन मेडिकल कलेजहरूको चेतावनी


काठमाडौं। निजी मेडिकल कलेजहरुले चिकित्सा शिक्षा अध्ययनका लागि सिट निर्धारण र शिक्षण शुल्क पुनरावलोकन नगरी विद्यार्थी भर्ना प्रक्रिया अघि नबढाउने बताएका छन् । निजी मेडिकल तथा डेन्टल कलेजहरूले यश विषयमा चिकित्सा शिक्षा आयोगलाई दबाब दिएका छन्।

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सिट निर्धारण प्रक्रिया पारदर्शी बनाउन र बढ्दो सञ्चालन खर्चअनुसार शिक्षण शुल्क पुनरावलोकन गर्न माग गर्दै भर्ना प्रक्रिया तत्काल अघि नबढाउन आग्रह गरेको हो।

पाँच आर्थिक वर्षको अवधिमा नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुद्रास्फीतिका आधारमा कुल मूल्यवृद्धि २६.६४ प्रतिशत पुगेको छ। तर, शिक्षण शुल्क पुनरावलोकन नहुँदा मेडिकल कलेजहरू आर्थिक दबाबमा परेका छन् ।

शिक्षक तथा कर्मचारीको पारिश्रमिक, न्यूनतम ज्याला, विद्युत् तथा इन्धन, परीक्षा सञ्चालन, विद्यार्थी कल्याण, अस्पताल सञ्चालन र पूर्वाधार व्यवस्थापनलगायतका खर्च निरन्तर बढिरहेको भन्दै कलेजहरूले शुल्क पुनरावलोकनलाई अपरिहार्य ठानेका छन्।

चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गर्दा अपनाउने मापदण्ड, मूल्यांकनका सूचक, प्रत्येक सूचकको भार, गणना विधि तथा Individual College Score Card सार्वजनिक गर्नुपर्ने माग पनि एसोसिएसनले अघि सारेको छ।

कलेजहरूले चिकित्सा शिक्षा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ अनुसार वास्तविक लागत, मुद्रास्फीति र सञ्चालन खर्चलाई आधार बनाएर वैज्ञानिक तथा न्यायोचित शुल्क निर्धारण गर्नुपर्ने बताएका छन्।

शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म स्नातक तथा स्नातकोत्तर तहको भर्ना प्रक्रिया अघि बढाउन व्यावहारिक तथा आर्थिक कठिनाइ रहेको भन्दै एसोसिएसनले आयोगलाई तत्काल भर्ना प्रक्रिया अघि नबढाउन अनुरोध गरेको छ।

त्यस्तै, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वविद्यालय र निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधि सम्मिलित संयुक्त बैठक आयोजना गरी समस्या समाधान गर्न पनि माग गरिएको छ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ