वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृत ६ महिनामै सरूवा, ललितपुरमा साढे दुई वर्षदेखि निरन्तर
काठमाडौं। सरकारले वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरालाई ६ महिना पनि नपुगी सरूवा गरेको छ। बोहरा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएका हुन्।
वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृत बोहरालाई ६ महिनामै सरूवा गरेको सामान्यले साढे दुई वर्ष बढीदेखि ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठलाई भने चलाएको छैन्। दास २५ महिना बढीदेखि ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छिन्। २०८१ बैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले रेखालाई ललितपुरको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। रेखा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेको ३१ महिना पूरा भइसकेको छ।
ललितपुर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीलाई भरतपुर महानगरपालिका पठाएर रेखालाई ललितपुर पठाइएको थियो। भारती भ्रष्टाचार मुद्दा लागेर निलम्बन हुँदै सफाइ पाएर विभिन्न कार्यालय चाहर्दै फेरि भरतपुर महानगरपालिका पुगेका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं अवकाश भएर गएपछि मुक्तिराम अर्याल आइसकेका छन्। रेखा सरोजभन्दा अघि ललितपुर पुगेकी हुन्। रेखाले ललितपुरमा साढे दुई वर्ष बढी प्रमुख प्रशासकीय अधिकृत चलाएकी छिन्। प्रशासन सेवाको सहसचिव साढे दुई वर्ष बढीदेखि एउटै कार्यालयमा बसिरहनु पनि बेथिति कै एउटा रूप हो। दुई वर्ष कटेपछि सरकारले उनलाई अन्यन्त्र व्यवस्थापन गर्नु पर्ने थियो। तर साढे दुई वर्ष पूरा भएर थप एक महिना बित्दा पनि रेखालाई ललितपुरबाट चलाएको पाइँदैन। यसले प्रशासनिक बेथिति निम्त्याएको देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस