अन्ततः धरान उपमहानगरपालिकामा हाजिर भए सहसचिव पुष्पराज शाही
काठमाडौं। धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका सहसचिव पुष्पराज शाही अन्ततः हाजिर भएका छन्। धरान उपमहानगरपालिका कार्यवाहक मेयर अइन्द्र बिक्रम बेघालाई हाजिर हुन पुगेका उनलाई स्वागत गरेका हुन्।
सरकारले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समूह)बाट सहसचिव शाहीलाई दसैँ अगाडि धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। उक्त सरूवा निर्णयविरुद्ध अनी प्रशासकीय अदालतमा गएका थिए। अदालतले अन्तरकालीन आदेश दिएपछि उनी दसैँ काठमाडौंमै मनाउन सफल भए। दसैँलगत्तै अदालतले अन्तरकालीन आदेशलाई निरन्तरता नदिने निर्णय गरेको थियो। त्यसपछि पनि शाही धरान उपमहानगरपालिकामा जान मानिरहेका थिएनन्। तर, सरकारले उनीमाथि विभागीय कारबाही गर्ने तयारी थालेपछि हतारहतार धरान उपमहानगरपालिकामा गएर हाजिर गरेका हुन्।
शाही सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा सम्पत्ति विवरण नबुझाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका थिए। ५ हजार रुपैयाँ जरिवाना तिरेका विवादित सहसचिव शाही सरूवाविरूद्ध अदालतमा गएपछि चर्चामा आएका थिए। धरान नजान अनेक उपाय लगाएपनि असफल भएपछि अन्ततः शाही धरान उपमहानगरपालिकामा हाजिर हुन गएका हुन्। उनी कारबाहीबाट बालबाल बचेका छन्।
ट्याग : #पुष्पराज शाही


तपाईको प्रतिक्रिया दिनुहोस