भारतीय दूतावासको पैसामा छोरी डा. मिनाक्षीलाई राजनीतिक उत्तराधिकारी बनाउँदै महन्थ ठाकुर


समाचार टिप्पणी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भारतीय दूतावासबाट करोडौं रुपैयाँ लिएर आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न थालेका छन् । दिगंवत श्रीमती सुशीला ठाकुरको नाममा खोलेको सुशीला ठाकुर स्मृति स्वास्थ्य प्रतिष्ठान (फाउन्डेसन)मार्फत छोरी डा. मिनाक्षी ठाकुर (झा)लाई अगाडि सारेर महन्थले राजनीतिक उत्तराधिकारी तयार पारिरहेको बुझ्न सकिन्छ ।

डा. मिनाक्षी निर्देशक रहेको सुशीला ठाकुर स्मृति स्वास्थ्य प्रतिष्ठानले महोत्तरीको मटिहानी नगरपालिकाको एउटा विद्यालयमा कार्यक्रम राखेर २ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई एलपीजी ग्याँस सिलिण्डर र चुल्हो बाँड्यो । महन्थको क्षेत्र (महोत्तरी क्षेत्र नम्बर ३)मा पर्ने मटिहानी नगरपालिका पुगेर एलपीजी ग्याँस सिलिण्डर र चुल्हो बाँडिएको हो ।

भारतीय दूतावासबाट ५ करोड लिएर छोरी डा. मिनाक्षीलाई अगाडि सारेर महन्थले आफ्नो क्षेत्रका मतदातालाई एलपीजी ग्याँस सिलिण्डर र चुल्हो बाँडेका छन् । भारतीय दूतावास कै पैसाबाट हजारौंको संख्यामा साइकल वितरण गरेपछि फेरि महन्थ-मिनाक्षी मिलेर एलपीजी ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेका हुन् । महन्थले छोरी डा. मिनाक्षीलाई भारतीय नेताहरूसँग नियमित भेटघाट गराइरहेका छन् ।

स्वर्गीय श्रीमतीको नाममा स्वास्थ्य प्रतिष्ठान खोलेर महन्थले छोरी डा. मिनाक्षीलाई सामाजिक र राजनीतिक रूपमा छोरीलाई सक्रिय बनाउन थालेका छन् । उमेरले पाको बन्दै गएका महन्थले २०८४ मा हुने आम निर्वाचनमा छोरी डा. मिनाक्षीलाई महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उठाउँने चर्चा हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत सरकारले नेपालमा भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत २० करोडसम्म खर्च गर्न पाउने भनेर सम्झौता गरिदिएपछि भारतीय दूतावासले कसैलाई सांसद (एमपी) बनाउन करोडौं खर्च गरिरहेको देख्न सकिन्छ ।

सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसन मार्फत महोत्तरीमा भारतीय दूतावासले लगानी गर्नु भनेको मिनाक्षीलाई राजनीतिक रुपमा ‘प्रोमोट’ गर्नु भएको टिप्पणी हुन थालेको छ । भारतीय दूतावासले नेपालमा २० करोड खर्च सीधै खर्च गर्न पाउने भएपछि उक्त पैसा यसरी नै दुरुपयोग गर्दै आएको देखिन्छ । यसले नेपालको राजनीतिक, धार्मिक र सांस्कृतिक तथा सामाजिक परिवेशलाई नै ‘म्यानुपुलेट’ गर्न सक्ने सम्भावना बढेको छ । नेपाल सरकार संयन्त्र मार्फत भारतीय सहयोग परिचालन नहुन स्वार्थ समूहले लाभ लिइरहेको पाइन्छ ।

महन्थले छोरी डा. मिनाक्षीलाई राजनीतिक रुपमा अगाडि बढाउन लोसपाको केन्द्रीय सदस्यमा समेत मनोनित गरेका छन् । अहिले आफ्नो निर्वाचन क्षेत्रमा भारतीय दूतावासको पैसामा वितरणमुखी कार्यक्रम लिएर छोरीलाई सक्रिय बनाउन थालेका छन् । यसले उनी आफ्नो छोरीलाई राजनीतिक उत्तराधिकारी बनाउन तल्लिन छन् भन्ने कुरा प्रस्ट हुन्छ ।

लोसपाका अध्यक्ष महन्थले छोरी डा. मिनाक्षीलाई मात्र केन्द्रीय सदस्य बनाएका छैनन् सम्धि उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष, सम्धिनी इन्द्रा झालाई उपाध्यक्ष र उमाकान्तका भतिज अजयकुमार झालाई सचिव बनाउन सफल भएका छन् । तत्कालीन खिलराज रेग्मी अध्यक्ष रहेको मन्त्रिपरिषद्मा महन्थ सम्धि उमाकान्तलाई ऊर्जा तथा सिचाईं मन्त्री बनाएका थिए । त्यसपछि लुम्बिनी प्रदेशको प्रदेश प्रमुख बनाए । सम्धिनी इन्द्रालाई पनि महन्थले सांसद नै बनाएका थिए ।महन्थले एकलौटी परिवारवादमा पार्टी लान थालेपछि राजेन्द्र महतो पार्टी छाडेर हिँडेका छन् । उनले आफ्ना मान्छे पार्टीमा घुसाउन नपाएपछि छाडेर हिँडेको चर्चा छ ।

भारतीय दूतावासको पैसामा छोरी डा. मिनाक्षीलाई राजनीतिक रूपमा स्थापित गराउन महन्थ निरन्तर लागिपरेका छन् । यसले भारत सरकार र भारतीय दूतावासको सहयोग र त्यसको औचित्यमाथि समेत प्रश्न उठ्न थालेको छ । कुनै व्यक्तिको राजनीतिक स्वार्थपूर्तिका लागि विदेशी नियोग खुलेर लाग्नु स्वाभाविक मान्न सकिन्न । डा. मिनाक्षीलाई राजनीतिक रूपमा स्थापित गर्न महन्थ मात्र होइन भारतीय नेता र भारतीय राजदूत समेत लागिपरेको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. मिनाक्षी ठाकुर, #भारतीय दूतावास, #महन्थ ठाकुर, #सुशील ठाकुर स्मृति स्वास्थ्य प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com