महन्थ ठाकुरले भारतीय दूतावासको पैसामा आफ्नो निर्वाचन क्षेत्रमा सीधै ग्याँस सिलिन्डर बाँडे


काठमाडौं  । शनिबार महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ८ स्थित श्री राम माध्यमिक विद्यालयमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसनको कार्यक्रम सम्पन्न भयो । महोत्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर र फाउण्डेसनकी निर्देशक डा. मिनाक्षी ठाकुरको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसनको उक्त कार्यक्रम स्वास्थ्य वा शिक्षासम्बन्धी कामका लागि आयोजना गरिएको थिएन । भारतीय दूतावासबाट आएको ५ करोड रुपैयाँको एलपीजी ग्याँस सिलिन्डर र चुल्हो किनेर महन्थ ठाकुरको निर्वाचन क्षेत्रमा बाँड्ने योजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । भारतीय दूतावासले नेपाल सरकारको संयन्त्रबाट नभई महन्थ ठाकुरकी श्रीमतीको स्मृतिमा खोलिएको संस्थामार्फत हजारौं एलपीजी ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको हो ।

महन्थकी श्रीमती स्व. सुशीलाको स्मृतिमा स्थापित उक्त स्वास्थ्य फाउण्डेसनले भारतीय दूतावासको पैसामा शनिबार २ हजार परिवारलाई ग्याँस सिलिन्डर र चुल्हो सेट वितरण गरेको हो । भारतीय दूतावासको पैसामा सांसद महन्थले आफ्नो निर्वाचन क्षेत्रमा हजारौं खाना पकाउने ग्याँस सिलिन्डर र चुल्हो बाँड्दा पनि नेपाल सरकार हेरेको हेरै भएको छ ।

भारतीय दूतावासले भारत सरकारको भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसनमार्फत महन्थको निर्वाचन क्षेत्रका दलित तथा अति विपन्नलाई खाना पकाउने ग्याँस सिलिन्डर र चुल्हो निःशुल्क वितरण गरिएको जानकारी गराएको छ । महोत्तरीका ५ स्थानीय तहमा ८ हजार ग्याँस सिलिन्डर र चुल्हो वितरण गर्ने कार्यक्रम रहेको भारतीय दूतावासको भनाइ छ ।

स्वास्थ्य फाउण्डेसनमार्फत भारतीय दूतावासले करोडौंको अन्य सामग्री वितरण गर्दा पनि नेपाल सरकार मौन बसेको छ । भारतीय दूतावास र महन्थकी श्रीमतीको स्मृतिमा स्थापना भएको स्वास्थ्य फाउण्डेसनले सम्झाैता नै गरेर महोत्तरीमा ८ हजार एलपीजी ग्ग्याँस सिलिन्डर र चुल्हो वितरणको कार्यक्रम राखेको देखिन्छ । गत बैशाख २१ गते भारतीय दूतावासका प्रथम सचिव करुण वंशल र फाउण्डेसनकी निर्देशक डा. मिनाक्षी ठाकुरबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको पाइन्छ ।  भारतीय दूतावासको आफूखुसी कार्यक्रमप्रति नेपाल सरकार अनदेखा गरिरहेको छ ।

भारत सरकारले उक्त फाउण्डेसनलाई उपलब्ध गराएको करिब  पाँच करोड अनुदानबाट महोत्तरी जिल्लाका पाँच नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवार लाभान्वित हुने कुरा सो सम्झौतामा उल्लेख छ।भारतीय दूतावासले यसरी कुनै सांसदमार्फत सीधै यसरी घर-घरमा ग्यास सिलिन्डर बाँड्दै हिँड्दा पनि नेपाल सरकार निरीह अवस्थामा देखिन्छ । भारतीय दूतावासको बेलगाम काममा नेपाल सरकारको कुनै नजर परेको देखिँदैन । यसले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रतामाथि नै चुनौती थपिन सक्छ । विदेशी दूतावासले मनपरी र आफूखुसी कार्यक्रम गर्दै हिँड्न पाउने हो भने शक्ति राष्ट्रहरुबीच नै अवस्थ प्रतिस्पर्धा हुने स्थिति आउँछ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #ग्याँस सिलिण्डर, #डा. मिनाक्षी ठाकुर, #भारतीय दूतावास, #महन्थ ठाकुर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com