पर्यटक भिसामा नेपाल आएका लुकास नगरकोटको काव्या रिसोर्टका जिएम
काठमाडौं । कोरोनाकालमा थर्मल गन कालोबजारीको केसमा थुनिएका सुलभ अग्रवालको विशाल ग्रुप, गोल्छा र पृथ्वीबहादुर पाँडेको संयुक्त लगानीमा नगरकोटस्थित काव्या रिसोर्ट एण्ड स्पा सञ्चालित छ । बालमन्दिरको जग्गा कौडीको भाउमा लिएर बृहस्पति स्कुललगायतलाई भाडामा दिने विशाल ग्रुप र ठमेलस्थित कमल पोखरी हडपेर छायाँ सेन्टर बनाउने पाँडेको समूहले चलाएको काव्या रिसोर्ट एण्ड स्पामा एक नेपाल घुम्न आएका विदेशी पर्यटक महाप्रबन्धन (जिएम)को रुपमा कार्यरत रहेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको हो ।
अध्यगमन विभागबाट स्वास्थ्य लाइभलाई प्राप्त लुकासको पासपोर्टबाट समेत उनी पर्यटन भिसामा नेपाल आएको देखिन्छ । स्वास्थ्य लाइभको खोजीमा भने उनी काव्या रिसोर्टमा काम गरिरहेको फेला परेको हो । यो विषयमा अध्यागमन विभागले समेत चासो देखाएको छ ।

थर्मल गनमा थुनिएका शुलभको डिजाइनमा पर्यटक भिसामा नेपाल आएका पोल्याण्डका नागरिक लुकास प्रेन्डकेले काव्या रिसोर्टमा जिएमको रूपमा काम गरेको तथ्य खुलेको छ । काव्याबाट निकालिएका कर्मचारीले लुकास विगत ५ महिनादेखि काव्या रिसोर्टमा जिएमको रुपमा कार्यरत छन् । लुकास काव्यमा अवैध रूपमा बसेर काम गरिरहेको स्पाको म्यानेजमेन्ट हेरिरहेका भारतीय नागरिक डा. जीतेन्द्र पण्डाले आरोप लगाएका थिए । त्यसपछि उनलाई लेखेटिएको छ । ‘पर्यटक भिसामा आएर काम गरिरहेका लुकासको अन्य पोल खोलिने भनेर उनलाई हटाइएको छ । अन्यलाई पनि हटाउने क्रम जारी छ ।’, निकालिएका एक पीडित कर्मचारीले स्वास्थ्य लाइभसँग भने । काव्या ३ अर्ब लगानीमा खुलेको पाँचतारे रिसोर्ट हो ।

अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाका अनुसार पर्यटक भिसामा आएर नेपालमा काम गर्न पाइँदैन । त्यस्तो गरेको भेटिए तुरुन्तै ‘डिपोर्ट’ हुने महानिर्देशक निरौलाको भनाइ छ । तर, स्वास्थ्य लाइभको खोजीमा लुकास झन्डै ६ महिनादेखि काव्या रिसोर्टमा काम गरिरहेको पत्ता लागेको छ । यो विषयमा काव्य रिसोर्टका अधिकारीहरुलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । श्रीलंका पुगेर नेपाल फर्किएका लुकासले केही दिन अगाडि मात्र अध्यागमन पुगेर पर्यटक भिसाको अवधि बढाएको देखिन्छ । उनको परिवार श्रीलंकाको कोलम्बोमा रहेकाले लुकास नियमित रूपमा श्रीलंका, नेपाल आवतजावत गर्ने गरेको खुलेको छ ।
विदेशी नागरिकले नेपालमा काम गर्दा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएर मात्र काम गर्न वा गराउन पाइन्छ । स्वास्थ्य लाइभको खोजीमा लुकासको हकमा उक्त विभागमा समेत निवेदन दिएको र श्रम स्वीकृति लिएको पाइँदैन । यस्तो अवस्थामा विदेशी नागरिकलाई तुरुन्तै ‘डिपोर्ट’ गर्न अध्यागमन विभागलाई पत्रचार गर्न सकिने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपले बताए । आवश्यक छानबिनपछि रोजगारदाता कम्पनीमाथि गैरकानुनी रुपमा काम लगाएकोमा कारबाही तथा जरिवाना हुने उनले स्पष्ट पारे ।

काव्या रिसोर्टका एक पूर्वकर्मचारीका अनुसार लुकासले मासिक ८/१० लाख पारिश्रमिक बुझ्दै आएका छन् । उक्त रकममध्ये धेरैजसो गैरकानुनी बाटोबाट विदेश पठाउने गरेको ती पूर्वकर्मचारीको आरोप छ । श्रीलंकामा आर्थिक संकट र होटल डुबाएपछि लुकास नेपाल छिरेको पाइन्छ । अन्तर्राष्ट्रिय होटल तस्कर भियतनामी मुलुकको जर्मनी नागरिक टीजे ग्रुन्डी-हङले उनलाई नेपाल भित्र्याएको पाइन्छ । टीजे मानव तस्करीमा समेत संलग्न रहेको आशंका गरिँदै आएको छ । लुकासबाट समेत ४० प्रतिशत कमिसन बुझ्ने गरेको उनीमाथि आरोप लाग्ने गरेको छ । टीजे नेपालमा समेत निर्वाधरुपमा आवतजावत गरिरहेको पाइन्छ । विवादित पृष्ठभूमिका टीजेमाथि नेपालमा कुनै किसिमको अनुसन्धान भएको पाइँदैन ।
टीजेले सन् २०१९ तिर पण्डालाई समेत ३०/४० प्रतिशत कमिसन दिनुपर्छ राम्रो ठाउँमा काम लगाइदिन्छु भनेर ‘अफर’ गरेका थिए तर उनले टीजेको अफर ठाडै अस्वीकार गरिदिए । यो पण्डा मलेसियामा हुँदाको कुरा हो । लुकासलाई भित्र्याएपछि टीजेले उनीमार्फत पण्डालाई निस्कन बाध्य बनाएर बदला लिएको चर्चा छ । टीजेले गरेको यो कुरा पण्डाले पनि सुनाउँदै हिँडेका छन् ।
जानकारहरुका अनुसार होटलको म्यानेजमेन्ट गर्ने थाइल्याण्डमा लिफ हस्पिटालिजी कम्पनी चलाएका टीजेले नेपालमा होटल म्यानेजमेन्ट गर्ने नाममा करोडौं रुपैयाँ लाने गरेका छन् । भक्तपुरको नानी होटलमा समेत फ्रेड गरेको पत्ता लगाएपछि टीजेको कम्पनीलाई निकालिएको थियो । अन्तर्राष्ट्रिय होटल ठगका रुपमा परिचित टीजेले नै लुकासलाई नेपाल ल्याएको खुल्न आएको हो । टीजे इपिकुरियन होटल्स एण्ड लाइफस्टाइलका पनि सञ्चालक हुन् ।

थाइल्याण्ड, मलेसिया, श्रीलंका चीन जस्ता देशमा होटल व्यवस्थापनका नाममा ठगी धन्दा चलाएका टीजे नेपालमा सक्रिय भएका हुन् । उनले लुकासलाई चीन, माल्दिभ्स र श्रीलंका हुँदै नेपाल ल्याएको तथ्यहरु फेला परेको छ । गोल्छ र विशाल ग्रुपसँग सम्बन्ध विस्तार गरेर सन् २०१६ देखि नै नेपालमा सक्रिय रहेका टीजेले कोरानाकालमा गोल्छाबाट मात्रै करोडौं रुपैयाँ रहेको चर्चा छ । लुकास जस्तालाई नेपालमा ल्याएर कमिसन बुझ्ने र नेपालका होटल तथा रिसोर्ट व्यवस्थापन गर्ने नाममा टीजेले ठगी धन्दा चलाउने गरेको तथ्यहरू उजागर हुन थालेको हो । यो विषयमा स्वास्थ्य लाइभले थप खोजी गर्ने छ ।
लुकासले पोग्राम दिन्छु भनेर २/३ वर्ष होटलको व्यवस्थापन गर्ने त्यसपछि अर्को देशमा जाने गरेको पाइन्छ । उनले चीन, मालदिभ्स हुँदै श्रीलंकामा होटल धराशायी बनाउनेपछि नेपाल भित्रिएर काव्याका जीएम बनेको खुल्न आएको छ । टीजेलाई मासिक पाउने पारिश्रमिकको ४० प्रतिशत दिने भएपछि खोजीखोजी राम्रा- राम्रा होटल पुऱ्याउँछन् । नेपालमा पनि त्यहिँ गरेर अर्को देशतिर पलायन हुने उनको योजना रहेको बुझिन्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेटट्याग : #Epikurean Hotels & Lifestyle, #Kavya Resort And Spa, #Lukasz Prendke, #Poland, #Sixsens, #Teardrop Hotel's-Colambo, #Tj Grundi-Hong


तपाईको प्रतिक्रिया दिनुहोस