विकल पौडेलविरुद्ध भ्रष्टाचारको तेस्रो मुद्दा दायर, सप्लायर्स अकबर हुसेन पनि डामिए


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईटी माफिया पौडेलविरुद्ध भ्रष्टाचारको तेस्रो मुद्दा दायर गरेको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक (हाल बर्खास्त) विकलविरुद्ध उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै आईतबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।

अमेरिकी पीआरधारी विकलले सुरक्षण मुद्रण केन्द्रका लागि म्याक्स इन्टरनेसनलसँग झन्डै ४१ करोड उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले उपकरण आपूर्तिकर्ता म्याक्स इन्टरनेसनलका मालिक अकबर हुसेनलाई समेत भ्रष्टाचार मुद्दा लगाएको हो । विकल र सुनिल पौडलसँग मिलेर आईटीका ठेक्कामा सेटिङ गर्ने हुसेन पनि भ्रष्टाचारमा डामिएका हुन् ।

अख्तियारले यसअघि सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेकोदेखि अमेरिकी पीआर ढाँटेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेकोसम्ममा विकलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो छ । उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भ्रष्टाचार भएको भन्दै आईतबार तेस्रो मुद्दा दायर गरेको हो ।

अख्तियारले विकलसहित वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिवल्लभ घिमिरे र लेखा अधिकृत खड्क बहादुर थापाविरुद्ध समेत भ्रष्टाचारमा मुद्दा चलाएको हो । माघ १० गतेदेखि अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारको हिरासतमा रहेका विकल तेस्रो भ्रष्टाचारको मुद्दा लागेको हो । आईतबार नै विकललाई थप १० दिन अख्तियारको हिरासतमा राख्न विशेष अदालतले अनुमति दिइसकेको छ ।

हेर्नुहोस् अख्तियारको प्रेस विज्ञप्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८१।०१।३० गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

सुरक्षण मुद्रण केन्द्र, काठमाडौंले बोलपत्र नं. SPC/G/NCB-01/077-78 को सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ तथा वन तथा वातावरण मन्त्रालयका तत्कालीन सि.डि.ई. (मेकानिकल) नविन कुमार पोखरेलसमेतको आपसी मिलोमतो तथा योजनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ९(३) समेतको कानूनी व्यवस्था बमोजिम खरिद पूर्व अनिवार्य तवरमा गर्नुपर्ने खरिद इकाईको गठन, खरिद माग संकलन, सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन, नर्म्स, ड्रइङ्ग तथा डिजाइन, स्वीकृत खरिद गुरुयोजना तथा वार्षिक खरिद योजना तयार लगायतका कार्यहरू तथा सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ को दफा ५ को उपदफा (क) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी नीति, योजना, बजेट तथा कार्यक्रम सुरक्षण मुद्रण विकास समितिबाट स्वीकृत गराउनु पर्नेमा समितिमा पेससमेत नगरी/नगराई आफैंले दुई वटा छुट्टाछुट्टै कार्यक्रमहरुको लागि बजेट माग गरी सोही बमोजिम बजेट विनियोजन भई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा तयार गरिएको कार्यान्वयन कार्ययोजना तथा सचिवबाट स्वीकृत खरिद गुरुयोजनामा समेत छुट्टाछुट्टै दुई वटा कार्यक्रमहरु संचालन गरिने भनी उल्लेख भएकोमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३३ मा उल्लेख भएबमोजिमको प्रक्रिया बमोजिम तोकिएको कार्यक्रम संशोधन नगरी आफूखुशी दुई वटा कार्यक्रममा विनियोजित सम्पूर्ण बजेटलाई एउटै कार्यक्रम (Paper based Press Machinery) को लागि खर्च गरेको, खर्च गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ ले गरेको अनिवार्य व्यवस्था विपरीत हुने गरी खरिद इकाई समेत स्थापना नगरी बदनियत राखी प्रतिवादीहरु सफल श्रेष्ठ र नविन कुमार पोखरेलले आफ्नै संयोजकत्वमा समिति बनाई ठेक्का प्रदान गर्ने मनसायले पूर्व परिचित म्याक्स इन्टरनेशनल तथा सो कम्पनीका सि.इ.ओ. अकबर हुसेनसँगको मिलेमतो र संलग्नतामा निज अकबर हुसेनले आपूर्ति गर्ने कम्पनीबाट निर्माण हुने उपकरणका मोडेल तथा मुख्य विशेषताहरु राखी प्राविधिक स्पेशिफिकेशन तयार गरेको, कम्पनीकै सि.इ.ओ. अकबर हुसेन कै नाममा रहेको सूचना प्रविधि सम्बन्धी कार्य गर्ने आई.टी. ग्लोबल प्रा.लि. र अन्य दुई वटा कम्पनीहरुलाई दरभाउ माग गर्नु भन्दा केही दिनअघि मात्र सूची दर्ता गर्न लगाई निज विकल पौडेलको एकल निर्णयले उक्त कम्पनीहरुसँग एकै दिनमा दरभाउ लिई लागत अनुमान तयार गरेको, नेपालमा निर्माण नहुने र सो सम्बन्धी कार्यानुभव भएका कुनै पनि कम्पनी नेपालमा नभएको कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा १५ बमोजिम अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने अवस्थामा म्याक्स इन्टरनेशनलको मात्र कार्य अनुभव मिल्ने गरी खरिदको मुख्य कार्य करिब ८० प्रतिशत प्रिन्टिङ प्रेससँग सम्बन्धित हुँदाहुँदै प्रिन्ट प्रोडक्सन सिस्टम संचालनका लागि अपरिहार्य नभएको र यस ठेक्काबाट खरिद गर्नु नपर्ने सूचना प्रविधि सम्बन्धी कार्य; Server or Enterprise Storage or Hyper Converged Infrastructure (Critical IT System) अनुभवलाई समान हैसियतमा राखी कुनै एकमा अनुभव भए हुने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको Standard Bidding Document को Qualification Requirements मा भएको “The minimum supply value of goods under a single contract within the last three years should be NRs………………[Insert 50 to 80 percent of the cost estimate]” समेत मिल्ने गरी बोलपत्रसम्बन्धी कागजातहरु तयार गरी/गराई राष्ट्रियस्तरको बोलपत्रको माध्यमबाट खरिद कार्य गरेको एवं मूल्याङ्कन गर्ने अधिकारीले नै ठेक्का स्वीकृत गर्न नहुने भन्ने सार्वजनिक खरिदको सामान्य सिद्धान्त तथा सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायहरुमा खरिद इकाई प्रमुख र सदस्यको योग्यता सम्बन्धी जारी गरेको मापदण्ड, २०७८ को विपरीत निजहरु विकल पौडेल, सफल श्रेष्ठ र नविन कुमार पोखरेलले स्पेशिफिकेशन तयार गरी/गराई सोही स्पेशिफिकेशनबाट लागत अनुमान तयार गरेको, गुणस्तर घट्ने गरी स्पेशिफिकेशन संशोधन गर्दा समेत लागत अनुमान संशोधन गर्नुपर्ने, नपर्ने भन्ने सम्बन्धमा विषय विज्ञबाट कुनै किसिमको विश्लेषण समेत नगरी/नगराई सुरु कै लागत अनुमानका आधारमा खरिद कार्य गरेको, निजहरु नै प्राविधिक मुल्याङ्कन उपसमितिमा रही सिफारिस गरेको, सुरक्षण मुद्रण केन्द्रबाट ठेक्का भई म्याक्स इन्टरनेशनले प्राप्त गरेको ठेक्कामा उक्त सामान आपूर्ति गर्ने विदेशी कम्पनी Bancotec Pte Ltd. Singapore ले कमिसनबापतको रकम निज प्रतिवादी विकल पौडेलको United Overseas Bank (UOB), सिंगापुरमा रहेको एकल खातामा तथा निज विकल पौडेल र निजको श्रीमतीको Bank of America, New York, USA मा रहेको संयुक्त खातामा जम्मा गरेको देखिँदा निजहरु विकल पौडेल, सफल श्रेष्ठ, नविन कुमार पोखरेलले विनियोजित बजेटमा उल्लिखित कार्यक्रम बमोजिम Card Based Press machinery Software and hardware and related equipments खरिद गर्नुपर्नेमा सो नगरी Paper Based Press machinery Software and hardware and related equipments अन्तर्गत एउटा मात्र Printing Press खरिद गर्नुपर्नेमा आवश्यकता भन्दा बढी दुई वटा Printing Press खरिद गरेको, Printing Press मा Inline हुने कम क्षमताको Die cutting machine खरिद गर्दा पर्याप्त हुनेमा मनासिब कारण बिना २० गुणा बढी क्षमताको आवश्यक नै नदेखिएको Die cutting machine खरिद तथा Print Production System संचालनको लागि अमिल्दो र अनावश्यक Critical IT System समेत यसै ठेक्का मार्फत खरिद गरी/गराई हाल प्रयोगमा समेत आएको नदेखिएकोसमेतबाट प्रतिवादीहरुलाई गैरकानूनी लाभ पुर्‍याउने र सुरक्षण मुद्रण केन्द्र (नेपाल सरकार) लाई रु.४०,८५,७४,७४०/- हानी पुर्‍याउने बद्‌नियतले कार्य गरी/गराई रु.४०,७५,५७,७४०/- भुक्तानी समेत गरे/गराएको पुष्टि भएको हुँदा निजहरु विकल पौडेल, सफल श्रेष्ठ र नविन कुमार पोखरेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (क), (घ) र (च) बमोजिमको कसुर भएकोले निजहरुलाई बिगो रु.४०,८५,७४,७४०/- (चालीस करोड पचासी लाख चौहत्तर हजार सात सय चालीस रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी निजहरुबाट भुक्तानी भएको रु.४०,७५,५७,७४०/- असुल उपर हुन साथै, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले भ्रष्टाचार निवारण ऐन, 2059 को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेले प्रतिवादी विकल पौडेलसँग मिलोमतो तथा योजनामा दुई वटा कार्यक्रममा विनियोजित बजेटलाई एउटै मात्र कार्यक्रममा राखी खर्च गर्नुपूर्व आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३३ को कुनै प्रक्रिया पुरा नगरी एउटै कार्यक्रममा खर्च गरे/गराएको, खरिदका विभिन्न प्रक्रियामा संलग्न भई बोलपत्रसम्बन्धी कागजात स्वीकृत गर्न टिप्पणी पेस गरेको, प्रि-विड मिटिङमा उपस्थित भएको, बोलपत्र मूल्याङ्कन समितिको रुपमा प्रतिवेदन पेस गरेको र भुक्तानीका लागि टिप्पणी पेस गरेको लगायतका कार्यमा सुरुदेखि प्रत्यक्ष संलग्न भई आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने र सुरक्षण मुद्रण केन्द्र (नेपाल सरकार) लाई रु.४०,८५,७४,७४०/- हानी पुर्‍याउने खरिद गर्नै नै नपर्ने एउटा HP Indigo 6K Secure Press र Critical IT System खरिद गरी/गराई रु.४०,७५,५७,७४०/- भुक्तानी समेत गरे/गराएको पुष्टि भएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (क), (घ) र (च) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.४०,८५,७४,७४०/- (चालीस करोड पचासी लाख चौहत्तर हजार सात सय चालीस रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी निजहरुबाट भुक्तानी भएको रु.४०,७५,५७,७४०/- असुल उपर हुन मागदाबी लिइएको छ।
म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीको CEO अकबर हुसेनले ठेक्का नं. SPC/G/NCB-01/077-78 को Supply, Delivery, Installation and Commissioning of High Security Digital Print Production System खरिद कार्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेतसँग मिलेमतो गरी आफू अनुकूलको स्पेशिफिकेशन तयार गरेको, सम्झौताकर्ता कम्पनी Max International को सि.इ.ओ. अकबर हुसेनले आफ्नै नाममा दर्ता भएको आई.टी. ग्लोबल प्रा.लि. तथा अन्य सूचना प्रविधि सम्बन्धी कार्य गर्ने स्थानीय दुई वटा कम्पनी/फर्महरुको दरभाउ माग गर्नु भन्दा केही दिन अघि मात्र सूची दर्ता गरी/गराई सोही कम्पनी/फर्महरुबाट बढी मूल्यको दरभाउ लिई/दिई लागत अनुमान बृद्धि गरेको, नेपालमा निर्माण तथा सो सम्बन्धी कार्य अनुभव भएका कुनै कम्पनी/फर्म नभएको अवस्थामा समेत बोलपत्रसम्बन्धी कागजात तयार गर्दा मिलेमतोमा सूचना प्रविधि सम्बन्धी कार्यानुभवलाई खरिदको मुख्य कार्य प्रिन्टिङ प्रेसकै समान हैसियतमा राख्न लगाएको, बोलपत्रसम्बन्धी कागजातको Specific Experience मा आफ्नो कम्पनीलाई मात्र मिल्ने गरी अन्तिम तीन वर्षमा एउटै ठेक्काबाट रु. ३८ करोडको कार्य गरेको हुनुपर्ने प्रावधान राख्न लगाई अन्तरार्ष्ट्रिय बोलपत्रको माध्यमबाट खरिद गरिनुपर्ने सुरक्षण मुद्रण सम्बन्धी उपकरणलाई राष्ट्रियस्तरको बोलपत्रको माध्यमबाट खरिद गर्न लगाएको, Die Cutting Machine को स्पेशिफिकेशन तयार गर्दा नै उक्त मेसिन उत्पादक Prati Company तथा त्यसको आधिकारिक Partner को मात्र पहुँचमा रहने भित्रि तथा गोप्य विषेशताहरुलाई समावेश गरी स्पेशिफिकेशन तयार गरेको, Max International ले पेस गरेको बोलपत्र प्रस्तावमा संशोधन पूर्वकै कन्ट्रोलर WSZ8G4 Server राखी Bidder’s Response मा Fully Comply (Machine Compatible Server) उल्लेख भएको पाइएकोले उक्त WSZ8G4 Server, HP company को मोडेल बाहेक अन्य कम्पनीको Printing Press मा नहुने हुँदा मिलेमतोमा HP company बाहेक अन्य कम्पनीको आपूर्ति हुन नसक्ने गरी सोही बमोजिम अन्य प्राविधिक स्पेशिफिकेशनसमेत तयार गरी HP company को आधिकारिक Partner; Max International बाहेक अन्यले आपूर्ति गर्न सक्ने अवस्था नदेखिएको एवं सुरक्षण मुद्रण केन्द्रबाट ठेक्का भई म्याक्स इन्टरनेशनले प्राप्त गरेको ठेक्कामा उक्त सामान आपूर्ति गर्ने विदेशी कम्पनी Bancotec Pte. Ltd. ले कमिसन बापतको रकम निज विकल पौडेलको United Overseas Bank (UOB), सिंगापुरमा रहेको एकल खातामा तथा निज प्रतिवादी विकल पौडेल र श्रीमतीको Bank of America, New York, USA मा रहेको संयुक्त खातामा जम्मा गरेको देखिँदा म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीको CEO अकबर हुसेनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), र (च) को कसुरजन्य कार्यको दफा २२ बमोजिमको लाभ प्राप्त गर्ने प्रकृतिको मतियारको कसुर भएको हुँदा निज अकबर हुसेन तथा म्याक्स इन्टरनेशनल, काठमाडौंलाई मुख्य कसुरदारहरुलाई बिगो रु.४०,८५,७४,७४०/- कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिबन्धात्मक वाक्यांश बमोजिम निज अकबर हुसेन तथा म्याक्स इन्टरनेशनल, काठमाडौंलाई मुख्य प्रतिवादीहरुलाई हुने सजाय बराबर सजाय गरी भुक्तानी भएको रु.४०,७५,५७,७४०/- असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे

क्याटेगोरी : सुशासन
ट्याग : #अकबर हुसेन, #अमेरिकी पीआरधारी, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #म्याक्स इन्टरनेशनल, #विकल पौडेल, #सुरक्षण मुद्रण केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ