सिडिओ भएर घर जानेलाई फिर्ता बोलाउँदै गृह, जैसीपछि कवारीको पालो


काठमाडौं। गृह मन्त्रालयले कानुनविपरीत प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर घर पठाएको फिर्ता बोलाउन थालेको छ। गृहमन्त्री रमेश लेखक र गोकर्णमणि दुवाडीले कानुनविपरीत गरेको काम बदर गर्न थालेका छन्।

गृह मन्त्रालयले कानुनको धज्जी उडाउँदै गृह जिल्ला महोत्तरीको सिडिओ बनाएका लालबाबु कवारीलाई फिर्ता बोलाएको छ। महोत्तरीको सिडिओमा अर्थ मन्त्रालयबाट गृह मन्त्रालय छिरेका नारायणप्रसाद रिसाललाई पठाइएर कवारीलाई फिर्ता बोलाइएको हो। विवादित पृष्ठभूमिका कवारीलाई हटाएर महोत्तरीको सिडिओमा रिसाललाई पठाइएको छ। सहसचिव रिसाल कानुनविपरीत लामो समयदेखि गृहको जगेडामा रहेका थिए। उनले बल्ल जिम्मेवारी पाएका छन्।

केही समय अघि मात्र जन्म जिल्ला दैलेखकको सिडिओ रहेका नवराज जैसीलाई मन्त्रालय तानिएको थियो। सहसचिवको दरबन्दीमा गएका उपसचिव सिडिओ जैसीलाई मन्त्रालय तानेर सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको सिडिओ बनाएर पठाइएको छ।

गृह जिल्ला मकवानपुरको सिडिओ बनेर गएकी स्किम श्रेष्ठ भने गृह जिल्लामै कार्यरत छिन्। मकवानपुर हटियाकी स्किम श्रेष्ठ पनि आफू जन्मिएको जिल्लामै सिडिओ भएर गएकी थिइन्। नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारी रहेकी स्किमलाई गृह मन्त्रालयले गृहजिल्ला कै सिडिओ बनाएर पठाएको थियो। गृह मन्त्रालयले छिरेको छोटो समयमै नवलपरासी पश्चिमको सिडिओ भएर गएकी स्किम त्यसपछि गृहजिल्ला मकवानपुरको सिडिओ भएर घर गएकी हुन्। कानुनविपरीत सिडिओको जिम्मेवारीमा रहेकी स्किम भने गृह जिल्ला मकवानपुरमै कार्यरत छिन्।

गृहले बनाएको सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ नबनाउने भनेको छ। गृहले बनाएको उक्त कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने उल्लेख छ। तर, उक्त कार्यविधिलाई ‘घाममा सुकाउँदै’ गृह मन्त्रालयले लालबाबु कवारीलाई गृह जिल्ला महोत्तरी, स्किम श्रेष्ठलाई गृह जिल्ला मकवानपुर र नवराज जैसीलाई गृह जिल्ला दैलेखको सिडिओ बनाएर पठाएको थियो। अहिले भने गृह मन्त्रालयले त्यसलाई ‘करेक्सन’ गर्न थालेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #नवराज जैसी, #लालबाबु कवारी, #सहसचिव स्किम श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ