राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर गभर्नर बन्ने पौडेल दोस्रो व्यक्ति 


काठमाडौं। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने विश्वनाथ पौडेल दोस्रो व्यक्ति भएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका पौडेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर बनाएको हो। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बनेपछि धरैले उनलाई ‘पदलिप्सा’ संज्ञा दिएका छन्।

गभर्नर सिफारिस समितिमा बसेर गभर्नर बन्न हिँडेपछि पौडेल ‘छोराका लागि केटी खोज्न जाँदा केटी मनपरेपछि आफै जग्गेमा बसेको’ समेत सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ। २०७९ सालको चुनावमा प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर पराजित बनेका पौडेल राष्ट्र बैंकको गभर्नर बनेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाका ‘व्यवसायिक साझेदार’ रहेका पौडेल देउवा दम्पती कै जोडबलमा गभर्नर बनेका हुन्।

राजनीति दलमा आबद्ध व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न ‘अयोग्य’ हुनेमा टिकट नै लिएर राजनीतिक मैदानमा भिडेका पौडेललाई राष्ट्र बैंकको गर्भनर बनाइदिएपछि यो विषय पेचिलो हुने देखिन्छ। उनलाई पराजित गरेर तेस्रो नम्बरमा पुऱ्याइदिएका हरि ढकाल अहिले प्रतिनिधिसभा सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालसहित विपक्षीहरूले यो विषयलाई सदनमा जोडतोडका साथ उठाउने तयारी गरिरहेका छन्। यहीँ विषयलाई लिएर सर्वोच्च अदालतमा रिट पर्ने निश्चित छ। गभर्नरको खेल यतिमै टुंगिएको छैन।

पौडेल मात्र होइन राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर नेपाल राष्ट्र बैंकको गभर्नर बन्न जाने व्यक्ति युवराज खतिवडा पनि हुन्। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका खतिवडा त्यसपछि राष्ट्र बैंकको गभर्नर बनेका थिए। युवराजको पदचाप पछ्याउँदै पौडेल पनि राष्ट्र बैंकको गभर्नर बनेका छन्। नेपाल राष्ट्र बैंकका १८ औं गभर्नर पौडेल सांसद बन्न असफल भएपछि गभर्नरतिर लागेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #गभर्नर, #नेपाल राष्ट्र बैंक, #युवराज खतिवडा, #युवराज-विश्वनाथ, #राष्ट्रिय योजना आयोग उपाध्यक्ष, #विश्वनाथ पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ