नारायणकाजीका पालामा भत्किएको अध्यागमनको सेटिङ रमेश लेखक आएपछि स्थापित!


समाचार टिप्पणी

काठमाडौं। तात्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गृहसचिव दिनेश भट्टराईले भत्काएको अध्यागमनको सेटिङ रमेश लेखक आउनेवित्तिकै स्थापित भएको पाइएको छ। गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले सहसचिव तीर्थराज भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय (टिआईए)को प्रमुख अध्यागमन अधिकृत बनाएर पठाएका थिए। नारायणकाजीले राष्ट्रिय परिचयपत्रमा मुछिएपछि भट्टराईलाई मोरङको प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट हटाएका थिए। नारायणकाजी हट्नेवित्तिकै भट्टराईको फेरि गृहमा ‘कमब्याक’ भयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भिजिट भिसाको सेटिङमा विवाद भएपछि प्रहरी र कर्मचारी आमनेसामने भएका थिए। त्यसपछि प्रमुख अध्यागमन अधिकृत गोगनकुमार हमाल राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा जगेडामा पुऱ्याइएका थिए। हमालले प्रहरीको कुटाइ खाएपछि प्रमुख अध्यागमन अधिकृतमा नरबहादुर थापालाई ल्याएर हमाललाई विपद्को जगेडामा हुत्याइयो। त्यसपछि सेटिङ भत्किएको थियो। थापालाई भोजपुरको सिडिओ बनाएर सुरेश पन्थीलाई अध्यागमनको जिम्मा लगाइयो। गृहमन्त्री रमेश लेखकको ‘इन्ट्री’पछि विवादित पृष्ठभूमिमा भट्टराई प्रमुख अध्यागमन अधिकृत बनेर ‘टिआईए’ गए।  मोरङको सिडिओ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भइसकेका भट्टराई अध्यागमन विभाग मातहतको कार्यालयमा ‘गति छाडेर’ गएका थिए। पटकपटक विवादमा तानिएका भट्टराई मातहतक कार्यालय प्रमुखको भएर गएपछि त्यहाँ केही न केही गडबडी छ भनेर चर्चा हुँदै आएको थियो। त्यसको नजिता अहिले अख्तियारसम्म पुगेको छ। भट्टराई केही समय रातो घरको ‘हावा खान’ गएर छुटेका छन्। अख्तियारले निगरानी बढाएपछि सरूवा मागेर गृह मन्त्रालय पुगेर भट्टराई अध्यागमनबाटै टंगाल पुगेका हुन्।

भट्टराईलाई बिहीबार आउने गरी हाजिर जमानीमा छाडिएको अख्तियार स्रोतले बतायो। दीपक पाण्डे, लक्ष्मी भुषाल, दुर्गा थापा, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, यज्ञराज अर्याल, भिष्मराज अर्याल, प्रभा अर्याललगायतका अध्यागमन अधिकृत अख्तियारको ‘राडार’भित्र रहेको स्रोतले बतायो। उनीहरू कर्मचारी प्रशासन शाखामा रहेका गृहमन्त्री लेखकका नातेदार अधिकृतको सेटिङमा अध्यागमन पुगेको स्रोतको दाबी छ।

नारायणकाजीका पालामा ‘टिआईए’ अध्यागमनमा बसेर किर्ते धन्दा चलाउने अधिकृतलाई प्रहरीले मुद्दा चलायो। तत्कालीन प्रमुख अध्यागमन अधिकृत हमाल समेत ‘टिआईए’बाट तानिए। गृहमन्त्री लेखक आउनेवित्तिकै अध्यागमन पुरानै सेटिङमा फर्किएको चर्चा गृहमा चल्ने गरेको छ। नारायणकाजीका बेलामा अध्यागमनमा बसेर ‘भिजिट भिसा’मा किर्ते गरेको अभियोगमा मुद्दा लागेकाहरू अहिले गृहमन्त्री लेखकको सचिवालयमा पुगेका छन्।

गृहमन्त्री लेखक र सचिव गोकर्णमणि दुवाडीका विश्वासपात्र ‘गणेश प्रवृत्तिका’ कर्मचारी प्रशासनमा बसेर सेटिङमा अध्यागमन अधिकृत खटाउन मस्त र व्यस्त रहेको आरोप लाग्दै आएको छ। आर्थिक रूपमा सबल अधिकृत मात्र पछिल्लो समय ‘टिआईए’ अध्यागमन जाने गरेको कुरा ‘ओपन सेक्रेट’ जस्तै छ। नत्र एउटै व्यक्ति मरिहत्ते गरेर ३/४ पटकसम्म ‘टिआईए’मा किन छाप हान्न गोइरहेको छ त्यो खोजीको विषय हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमनमा छापा मारेपछि मौलाएको ‘गणेश प्रवृत्ति’को सेटिङ भत्किन्छ कि भत्किदैन हेर्न बाँकी छ।  अख्तियारले तानेको लहरोले पहरो नखस्ला भन्न सकिन्न।

क्याटेगोरी : समाचार
ट्याग : #गोगनबहादुर हमाल, #तीर्थराज भट्टराई, #नरबहादुर थापा, #सुरेश पन्थी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ