एकैदिनका सहसचिव मदन, चन्द्रकला, शोभाकान्त र भूपाल सचिव भए


काठमाडौं। एकैदिनका सहसचिव मदन भुजेल, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल र भूपाल बराल सचिवमा बढुवा भएका छन्। २०७० चैतमा समावेशीबाट सहसचिव बनेका मदन र चन्द्रकला तथा खुलाबाट सहसचिव भएका शोभाकान्त र भूपाल सचिवमा बढुवा भएका हुन्। ‘ब्याची’ सचिव हरू प्रदेशमा छाएका छन्।

आदिवासी/जनजाति कोटाबाट सहसचिव भएका मदन भुजेल सचिव बढुवा भएर मधेश प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका छन्। भुजेल फागुन २१ मा सचिवमा बढुवा भएर मधेश प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका हुन्। उनले सचिवमा बढुवा हुनु अगाडि नै मधेश प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी पाएका थिए।

भुजेलसँगै महिला कोटाबाट सहसचिव भएकी चन्द्रकला पौडेल सचिवमा बढुवा भएर कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएकी छिन्। चन्द्रकला बैशाख ८ गते सचिवमा बढुवा भएर कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएकी हुन्।

मदन र चन्द्रकलासँगै खुला प्रतिस्पर्धाबाट सहसचिव भएका शोभाकान्त पौडेल सचिवमा बढुवा भएर गण्डकी प्रदेशमा पदस्थापन भएका छन्। बैशाख ३१ गते सचिवमा बढुवा भएका शोभाकान्तको झन्डै दुई हप्तापछि गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएको छ। शोभाकान्त प्रदेशमा नजान निकै जोडबल गरेपनि गण्डकीको प्रमुख सचिवमा पदस्थापन भएका हुन्।

शोभाकान्तसँगै खुला प्रतिस्पर्धाबाट सहसचिव भएका भूपाल बराललाई बैशाख १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको छ। बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएपछि उनको बागमती प्रदेशमा पदस्थापन भएको हो।

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #चन्द्रकला पौडेल (महिला), #भूपाल बराल, #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ