तेस्रो प्रयासमा सचिव बनेका दिनानाथ मिश्र


काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दिनानाथ मिश्र तेस्रो प्रयासमा सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ तर्फका सहसचिव मिश्रलाई सचिवमा बढुवा गरेर जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गरेको छ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवाललाई ५८ वर्षे उमेर हदका कारण जेठ ५ गते अनिवार्य अवकाश पाएपछि मिश्र सचिवमा बढुवा भएका हुन्।

लोक सेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि पहिलो नम्बरमा मिश्र, दोस्रो नम्बरमा चिरञ्जीवी चटौत र तेस्रो नम्बरमा जल तथा ऊर्जा आयोगमै कार्यरत सहसचिव जगदिश्वर कर्माचार्यको नाम सिफारिस गरेको थियो। लगातार तीन पटक १ नम्बरमा सिफारिस भएका मिश्रलाई बल्ल-बल्ल न्याय मिलेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो नम्बरमा सिफारिस भएका मिश्रलाई सचिव बन्न नदिएर हेरेको हेरै बनाएको थियो। तेस्रो चोटी भने उनी सचिव भएरै छाडे।

सचिव दिनानाथ मिश्र

२०८१ मंसिर दोस्रो साता लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिवमा बढुवाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव दिनानाथ मिश्रलाई १ नम्बरमा सिफारिस गरेको थियो। दोस्रो नम्बरमा खानीतिरका सहसचिव रामप्रसाद घिमिरे र तेस्रो नम्बरमा ऊर्जातिरका सहसचिव मधुप्रसाद भेटवालको नाम सिफारिस भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली कै अध्यक्षतामा बसेको बैठकले दोस्रो नम्बरमा सिफारिस भएका रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गऱ्यो। एक नम्बरमा सिफारिस भएका सहसचिव मिश्र त्यसै हुस्सिए। घिमिरे १५ दिने सचिव बनेर ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गए।

२०८१ फागुन पहिलो साता लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले प्राविधि सचिव बढुवाका लागि पहिलो नम्बरमा दिनानाथ मिश्र, दोस्रोमा मधुप्रसाद भेटुवाल र तेस्रोमा चिरञ्जीवी चटौतको नाम सिफारिस गरेको थिए। तर, सरकारले पहिलो नम्बरमा सिफारिस भएका मिश्रलाई अन्याय गर्दै दोस्रो नम्बरमा सिफारिस भएका भेटुवाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। तेस्रो नम्बरबाट दोस्रोमा उक्लिएका भेटुवाल सचिवमा बढुवा हुँदा लगातार दुई नम्बरमा सिफारिस भएका मिश्र फेरि हेरेको हेरै भए। तेस्रोपटकमा भने ‘महाभारत’को युद्ध जितेजस्तै गरी मिश्र सचिव हुन सफल भएका छन्। विज्ञताको हिसाबले विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव बन्नु पर्ने मिश्र ऊर्जा आयोगतिर पुगेका हुन्। उनी पूरा कार्यकाल सचिव चलाउनेमा पर्दैनन्।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #चिरञ्जीवी चटौत, #जगदिश्वर कर्माचार्य, #दिनानाथ मिश्र, #मधुप्रसाद भेटुवाल, #रामप्रसाद घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ